२५ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

मापदण्डविपरीत सञ्चालित क्रसर बन्द गर्न आदेश

जिल्ला प्रशणसन कार्यालय सुर्खेतले मापदण्डविपरीत सञ्चालित आठवटा क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमार्फत त्यस्ता क्रसर उद्योग बन्द गराउन सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाभर गरिएको अनुगमनका क्रममा अवैद्य रुपमा सञ्चालनमा रहेको पाइएका आठवटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको बताए । ‘गृह मन्त्रालयबाट विभिन्न मितिमा भएका परिपत्रहरू र अनुगमन टोलीबाट गरिएको अनुगमनका क्रममा उद्देश्यविपरीत सञ्चालित तथा तोकिए बमोजिमको न्यूनगत मापदण्ड पूरा नगरेका क्रसर उद्योग बन्द गराउन प्रहरीलाई पत्राचार गरेका छौं,’ प्रजिअ रेग्मीले भने, ‘अटेरी गरे कारबाही प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएका छौं ।’ उनले अवैद्य क्रसर उद्योगले विभिन्न खोलानदीमा जथाभावी उत्खनन, संकलन र विक्रीवितरण गरिरहेको पाइएको बताए ।

प्रशासन कार्यालयका अनुसार भेरीगंगा नगरपालिका–८ स्थित गोचेखोलामा हाम्रो निर्माण सेवा, लेकबेंसी नगरपालिका–१ मा भेरी एग्रिटेक एन्ड सेन्ड रिफाइनरी, लेकबेंसी नगरपालिका–८ स्थित लामा–राजेन्द्र–श्याम एन्ड शंकर जेभी, लेकबेंसी बालुवा प्रशोधन उद्योग, बराहताल गाउँपालिकामा सञ्चालित देउतीमाता वालुवा प्रशोधन उद्योग, महालक्ष्मी किरातेश्वर–केएसके जेभी, केसी बालुवा प्रशोधन उद्योग र सपना–आशिष–श्याम एन्ड शंकर जेभीले सञ्चालन गरिरहेका क्रसर उद्योग बन्द गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा हाम्रो निर्माण सेवाले मापदण्ड पूरा नगरी क्रसर उद्योग सञ्चालन गरेको, भेरी एग्रिटेकले बालुवा प्रशोधन उद्योगको अनुमति लिएर क्रसर उद्योग सञ्चालन गरिरहेको, लामा–राजेन्द्र जेभीले मापदण्ड पूरा नगरी क्रसर उद्योग सञ्चालन गरेको र लेकबेंसी बालुवा प्रशोधन उद्योगले मापदण्ड पूरा नगरेको पाइएको थियो ।

भेरी नदीकिनारमा सञ्चालित देउतीमाता बालुवा प्रशोधन उद्योगले मापदण्ड पूरा नगरेको, सेटिङ पोन्ड नभएको, बस्तीनजिक बाटोसँग जोडिएको, महालक्ष्मी किरातेश्वरले लीलामी नदीजन्य पदार्थ उठाएर निजी योजनामा प्रयोग गरेको, नदीकिनारमा होमपाइप उद्योगसँगै क्रसर सञ्चालन गरेको, सपना–आशिषले सञ्चालन गरेको अस्थायी क्रसर उद्योगको म्याद समाप्त भए पनि सञ्चालनमा रहेको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले प्रशासन कार्यालयको निर्देशनअनुसार मातहतका युनिटहरूलाई पत्राचार गरिएको बताए । उनले केही अवैद्य क्रसर उद्योग बन्द गरिएको र केही बन्द गर्ने तयारीमा आफूहरू रहेको बताए । एक–दुई दिनभित्रै आठवटै क्रसर बन्द हुन्छन्,’ उनले भने, ‘अवैद्य क्रसर रहेका क्षेत्रका युनिटहरूसँग नियमित सम्पर्कमा छु ।’

प्रकाशित: १६ पुस २०७७ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App