१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गन्तव्य मानहुँ: दिनमा दुई हजार पाहुना भित्रिन्छन्

तनहुँको व्यास नगरपालिका–५ मानहुँको मैदान घुम्न पुगेका आन्तरिक पाहुना । तस्बिर: नागरिक

तनहुँको ब्यास नगरपालिका–५ मा पर्छ मानहुँ । सदरमुकाम दमौलीलाई काखमा बोकेको छ मानहुँले । केही वर्ष अघिसम्म मानहुँमा बाक्लो बस्ती थियो । जुन बस्ती मानहुँकोटको सिरानमा पुगेपछि मात्र देखिन्थ्यो । तलबाट हेर्दा त्यहाँ बस्ती भएको अनुमान समेत गर्न सकिँदैन । सदरमुकाम र पृथ्वी राजमार्गबाट हेर्दा त कहालीलाग्दो भीरपखेरो मात्र देखिन्छ । सिरानमा बस्ती होला भन्ने अनुमानै गर्न सकिन्न ।  

खानेपानीको चरम समस्याले रित्तिदै गएको त्यो समथर मैदानमा कुनै बेला ७० घर रहेकोमा अहिले घटेर ६–७ घरमा सीमित छ । बस्ती रित्तिएको त्यही मैदानले यो दसैंको बिदामा ठूलो संख्यामा आन्तरिक पाहुना पाएको छ, जुन मानहुँको लागि ऐतिहासिक बनिदिएको छ । कोरोना भाइरस संक्रमणले गति लिइरहँदा अन्यत्रका चर्चित पर्यटकीय गन्तव्य सुस्ताएको बेला तनहुँको मानहुँडाँडाले भने पहिलो पटक ठूलो आकारमा पाहुना पाएर फड्को मारेको स्थानीयको भनाइ छ । दिनमा झन्डै दुई हजार आन्तरिक पाहुना मानहुँ उक्लिएको उनीहरूको भनाइ छ ।  

ब्यास नगरपालिका–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ भन्छन्, ‘कोरोना संक्रमणले यो बेला अन्यत्रका धेरै पर्यटन क्षेत्र सुस्ताए । तर, मानहुँले भने अहिलेसम्मकै ठूलो आकारमा पाहुना पाएर फड्को मारेको छ । मानहुँले यत्तिको धेरै संख्यामा मान्छे यसअघि कहिल्यै पाएको थिएन ।’ उनका अनुसार दसैंभन्दा केही दिन अघिबाट आन्तरिक पाहुना मानहुँ उक्लिन थालेका थिए । लम्जुङ, गोरखा, कास्की, चितवन, काठमाडौं, धरानका आन्तरिक पाहुना मानहुँ उक्लिरहेको उनले बताए । ‘पोखरा पुगेपनि घुम्ने ठाउँ यो पटक बन्द छन् । त्यसैले राजमार्ग छेउँको यो गन्तव्य तनहुँ हुँदै आउजाउ गर्नेले छुटाउन चाहेनन्,’ उनले भने, ‘यति धेरै पाहुना उक्लिए कि व्यवस्थापनमा समेत हम्मेहम्मे भयो । ठूलो संख्यामा पाहुना आएपछि सवारी व्यवस्थापनमा समेत जटिलता आयो ।’

मानहुँको डाँडाबाट माथि हेर्दा हिमाल र तल कुहिरो देखिने हुँदा त्यहाँ पुगेका पाहुना रमाउने गरेको उनले बताए । ‘पूर्वाधार बनिरहेकाले आउजाउ सहज भएको छ । होमस्टे पनि विकास हुने क्रममा छ । अहिले नै पुगेर बस्न र खान समस्या छ । खाने र बस्ने व्यवस्थापन आफैंले गर्नुपर्छ,’

अध्यक्ष श्रेष्ठका अनुसार राती बास बस्नेगरी टेन्ट लिएर पनि ठूलो संख्यामा आन्तरिक पाहुना मानहुँ उक्लिरहेका छन् । त्यहाँ होटल र बसोबासको उत्तिसारो व्यवस्थापन नहुँदा बाहिरबाट जानेलाई केही समस्या छ । ठूला आकारका होटल नभएको र सीमित घरमा धेरैजना पाहुना अट्न सक्ने अवस्था नहुँदा बास बस्न चाहलेले यो पटक टेन्टसहित खानेबस्नेको जोहो गरेर उक्लिएको श्रेष्ठले बताए । ‘सामाजिक सञ्जालले पनि योपटक मानहुँलाई धेरैतिर चिनाएको छ । कुनै न कुनै माध्यमबाट मानहुँको चर्चा भइरहेको छ,’ उनले भने । अहिले ब्यास नगरपालिकाले मानहुँ पुगेका पाहुनाको सुरक्षाका लागि रेलिङ बनाइरहेको छ । त्यस्तै ४० लाख रूपैयाँ खर्चेर भ्यू प्वाइन्ट बनाउने काम थालिएको छ । डाँडामा रहेका पुराना घरलाई होमस्टे बनाउने तयारी छ ।  

‘कोरोनाका कारण जहाँ पायो त्यहाँ जान पाउने अवस्था छैन । धेरैतिर त आउजाउ नै कडाइ छ । तर, यो मौका मानहुँले लियो,’ उनले भने, ‘पाहुनाबाट संक्रमण नफैलियोस् भनेर सचेत छौ ।’ सुर्याेदय हेर्ने र हिमाली शृंखलाको अवलोकन गर्न चाहने आन्तरिक पाहुना त अहिले मानहुँकै डाँडामा टेन्ट टाँगेर बस्ने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।  

तनहुँको पर्यटनमा सक्रिय सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले पनि यो पटक कोरोनाले गर्दा अन्यत्रका गतिविधि ठप्प हुँदा मानहुँले पहिचान बनाउन सकेको बताए । ‘पहिलो पटक मानहुँले यो आकारमा पाहुना पाएको छ । मानहुँका लागि कोरोना गतिलो अवसर बनिदिएको छ,’ उनले भने, ‘सोच्दै नसोचेको संख्यामा आन्तरिक पाहुना अहिले मानहुँ उक्लिएका छ्न ।'

मानहुँको डाँडाबाट माथि हेर्दा हिमाल र तल कुहिरो देखिने हुँदा त्यहाँ पुगेका पाहुना रमाउने गरेको उनले बताए । ‘पूर्वाधार बनिरहेकाले आउजाउ सहज भएको छ । होमस्टे पनि विकास हुने क्रममा छ । अहिले नै पुगेर बस्न र खान समस्या छ । खाने र बस्ने व्यवस्थापन आफैंले गर्नुपर्छ,’ उनले भने, ‘तर डाँडामा उक्लेपछिको रोमाञ्चकता बताइसक्नु हुँदैन ।’

कोरोनाले घरभित्र थुनिएर उकुसमुकुस भएका मान्छे यो पटक खुला ठाउँमा जान चाहँदा मानहुँले अवसर पाएको उनले बताए । गुरुङका अनुसार मानहुँको डाडाँबाट खुलेको हिमालदेखि तल बगिरहेको मादी नदीको किनारसम्म देख्न सकिन्छ । ‘मादीको पुछार दमौली हो, जुन सेतीमा मिसिन्छ । मादीको शीर अन्नपूर्ण हिमाल हो,’ उनले भने, ‘मानहुँको डाँडामा पुगेर हेर्दा अन्नपूर्णको शीरबाट उत्पत्ति भएर बगेको मादीको पुछारसम्म देख्न सकिन्छ । त्यही भएर हामीले बालुवादेखि हिमाल देख्ने ठाउँ भनेर मानहुँको प्रचार गरेका छौं ।’ एउटा नदीको शीर र तीर देख्ने अवसर मानहुँले जुटाएको उनले बताए । माथि हेर्दा हिमाली शृंखला र तल हेर्दा मादीको नागबेली आकारसहित फराकिलो किनारा देख्न पाइने भएकाले पाहुनाका लागि रोमाञ्चक रहेको उनले बताए ।

सदरमुकाम दमौलीदेखि सात किलोमिटर माथिको त्यो डाँडासम्म पुग्ने मोटरबाटो कालोपत्रे हुँदैछ । सातमध्ये अहिलेसम्म झन्डै आधा सडक कालोपत्रे भइसकेको छ । पछिल्लो समय पर्याप्त आन्तरिक र फाट्टफुट्ट विदेशी पनि गाउँ उक्लिन थालेका थिए । तर, त्यो क्रम कोरोनाका कारण रोकिएकामा दसैंमा पुनः बढेको स्थानीयको भनाइ छ । समुद्री सतहदेखि ११ सय मिटर उचाइँमा रहेकाले भ्यू टावरको साटो भ्यू प्वाइन्ट बनाउने निर्णय नगरपालिकाले गरिसकेको छ । 

प्रकाशित: २४ कार्तिक २०७७ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App