१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अर्बौं औद्योगिक लगानी जोखिममा

करिडोरमा कोरोनाको असर

वीरगन्ज पथलैया औद्योगिक करिडोर। तस्बिर: रितेश/नागरिक

उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी रहेको वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरु कोरोनाले उत्पन्न असहज परिस्थितिबाट प्रभावित भएका छन्। अर्बौं लगानी जोखिममा परेको भन्दै उद्योगीहरु चिन्तित छन्। केही उद्योगका कामदारमा कोरोना संक्रमण भेटिएपछि त्रास पनि फैलिएको छ।  

लकडाउन हटेसँगै करिडोरका उद्योग सामान्य लयमा फर्किने कोसिस गरिरहेका बेला पुनः वीरगन्ज क्षेत्र संक्रमणको उच्च जोखिममा पुग्यो । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लास्थित संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार वीरगन्ज महानगरपालिका क्षेत्रमा गत साउन १० गतेदेखि र समग्र जिल्लामा साउन १९ देखि कफ्र्यू लगाइएको छ। यसैबीच, बारामा पनि औद्योगिक करिडोरसमेत विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। तंग्रिने सुरसार गरेका उद्योग एकपटक पुनः समस्यामा फसेका छन्।  

उद्योगहरुमा कामदारको तलब भार, बैंकको ब्याज, उत्पादन नहुँदा पुँजी थन्किनु, बजारमा गइसकेको उत्पादनको रकम संकलन लगायत अनेक समस्या आइपरेको नेपाल उद्योग वाणिज्य संघका कार्यकारी सदस्य गणेशप्रसाद लाठले बताए।

‘स्टक’ अड्कियो
‘मेरो पनि लगानी रहेको एउटा टेक्सटाइल उद्योग छ, त्यसको कुरा गरौं लकडाउन सुरु हुँदा केही दिन रहने अनुमान थियो। आफूसँग काम गर्ने मानिस र कच्चा पदार्थ छँदै थियो। उत्पादन गर्नै पर्ने भयो, अहिले उत्पादित कपडा गोदाममा छ। बजार जान पाएको छैन,’ लाठले भने, ‘यता बैंकले ब्याज लिने नै भयो। उद्योगका हामी चारजना लगानीकर्ताले पैसाको जुटाएर बैंकको दुई करोड भर्खर मात्र तिरेका छौं। तर यसरी घरबाट पटकपटक तिर्न सम्भव हुँदैन।’  

कामदारलाई पनि बसीबसी तलब दिनुपरेको र उद्योग बन्द रहेको उनले बताए। सानो आकारको उद्योग भएको आफूहरुलाई परेको प्रभाव ठूला उद्योगको तुलनामा कमै भएको उनले बताए।  

औषधी उद्योगहरुमा पनि उत्पादन ‘स्टक’मै अड्किएको उद्योगी बताउँछन्। सबै अस्पताल र क्लिनिक प्रभावित भएपछि बजारबाट औषधीको माग घटेको उनीहरुको भनाइ छ। उत्पादन मिति हालेर निश्चित समयभित्र खपत गर्नुपर्ने उत्पादनमा औषधी पर्ने गरेकोले गोदाममा थन्किएका औषधी नोक्सान हुने सम्भावनाले उत्पादकहरुलाई सताएको छ। त्यस्तै, जुस, प्याकेजिङ भएका तयारी खानेकुरा र निश्चित समयभित्र खपत गरिहाल्नुपर्ने अन्य उपभोग्य सामग्री तयारी भएर ‘स्टक’ राखेको अवस्थामा धेरै उद्योग छन्। कपडा, खाद्यान्न, औषधी र प्याकेजिङ उद्योग अहिले यसप्रकारको समस्यामा छन्।

ठूला उद्योगमा बढी प्रभाव
उसो त कोरोनाकालमा यसबाट उत्पन्न परिस्थितिले कुनै पनि उद्योग, व्यवसाय अछुतो छैन। तर ठूला आकारका उद्योगमा बढी प्रभाव परेको उद्योगी बताउँछन्। ‘ठूला उद्योगको उत्पादनको आकार ठूलो हुन्छ र त्यसलाई जारी राख्न जरुरी हुन्छ, रोटेसन भंग हुनु हुँदैन,’ वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका लाठले भने, ‘त्यस्ता उद्योगको उत्पादन र बजारमा माल वस्तु जाने क्रम भंग भएपछि त्यसबाट हुने नोक्सानी प्रतिदिन बढ्दै जान्छ। बैंकको ब्याज पनि थपिँदै जान्छ।’ चाँडै अवस्था समान्य नभए बन्द हुन सक्ने जोखिममा यस्तै ठूला उद्योग रहेको उनले बताए।  

निर्माण सामग्री बनाउने सिमेन्ट र छड लगायत उद्योगले आफूलाई टिकाई राख्न मात्र उत्पादन जारी राख्ने प्रयास गरेको लाठले बताए। ठूला उद्योगमा कामदारको संख्या पनि अधिक हुने गरेकोले अहिले कोरोनाको संक्रमण कालमा उनीहरुलाई बाहिरबाट आउने–जाने गरी काममा लगाउँदा जोखिम छ। केही उद्योगले उद्योग परिसरमै कामदार कर्मचारीका लागि आवासीय प्रबन्ध र सतर्कताका उपाय अपनाएर उद्योग बचाउने उपाय निकालेका छन्। उद्योगसँगै जिविका जोडिएका कामदार पनि यो संकटको अवस्थामा रोजगारी जोगाउन चाहन्छन्। संक्रमणको जोखिम घटाउन कामदारलाई उद्योग हातामै खाने र बस्ने व्यवस्था मिलाएर काममा लगाइएको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले बताए।  

लकडाउनका बेला भारतबाट कामदार ल्याएर उद्योग चलाएकाले संक्रमण फैलिएको आशंकामा जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले केही उद्योगमा अनुगमन गरेको थियो। तर बाहिरबाट उद्योगमा कामदार नल्याएका उद्योगमा पनि संक्रमण भेटिएपछि सरोकारवाला चिन्तित देखिए। संक्रमित फेला परेकामध्येको जगदम्बा इन्टरप्राइजेज त्यस्तै एउटा उद्योग हो। यसका सञ्चालक अनिलकुमार रुंगटाले बन्दाबन्दी सुरु हुनुअघि आएका कामदार पनि संक्रमित भेटिएपछि आफूहरु निकै चिन्तित बनेको बताए। पर्सा जिल्लाका स्थानीय कामदार नै रहेको बाराको मारुती फर्मास्युटिकल्सका नौ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो। त्यो उद्योगमा एकजना पनि भारतीय कामदार नरहेको उद्योगी बताउँछन्। अहिले समुदाय स्तरमा फैलिएको भनिएको कोरोनाका संक्रमितबाट स्थानीय स्तरमा उद्योगका कामदार कर्मचारी सम्र्पकमा परेर संक्रमण भित्रिएको हुन सक्ने आकलन गरिएको छ।  

जगदम्बाले भने कोरोना संक्रमणबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) नै गुमाएको छ। भारतीय नागरिक मेवाराम शर्माको साउन १५ का नारायणी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको थियो। अहिले सबै किसिमका उद्योगमा प्रभाव परेको उद्योगी, व्यवसायी बताउँछन्। वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले यस करिडोरमा अर्बौै रुपैयाँ लगानी जोखिममा परेको बताए। ठूला र मझौला उद्योग मात्र होइन ती उद्योगसँग जोडिएका साना उद्योग र अन्य व्यवसाय पनि यसको चपेटामा परेको उनले बताए। यातायात र ढुवानीका साधनमा भएको लागनी बढी जोखिममा रहेको व्यवसायी बताउँछन्। अहिले ब्याज असुलीमा मात्र केन्द्रित भएका बैंकको लागानी पनि कतिपय अवस्थामा जोखिममा परेको केडियाले बताए। बैंक ब्याजमा छुटको स्पष्ट र अनिवार्य सरकारी नीति निर्देशन, करमा छुट र आगामी समयमा कच्चा पदार्थ आयात लगायतमा सहुलियतजस्ता प्याकेज उद्योग क्षेत्रको लागि घोषणा गर्न सरकारले विलम्ब गर्न नहुने उद्योगीहरुको धारणा छ।

प्रकाशित: २९ श्रावण २०७७ ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App