१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

बाघ र गैंडा गणना गर्न ३६ लाख विनियाेजन

रकम अभावका कारण रोकिएको गैँडा र बाघको गणना गर्ने तयारी गरिएको छ। यस वर्ष बाघ र गैँडा गणनाका लागि १८/१८ लाख रुपैयाँ विनियोजन गरिएकाले चितवन राष्ट्रिय निकुञ्जले आगामी पुस महिनामा गणना गर्ने गरी तयारी थालेको हो।

नेपालमा हरेक पाँच वर्षका अन्तरमा गैँडा र चार वर्षको अन्तरमा बाघ गणना गरिन्छ तर सन् २०२५ मा गैँडा गणना गनुपर्ने भए पनि सरकारले रकम अभावका कारण यसपटक गणना गर्न सकेको थिएन। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा. गणेश पन्तका अनुसार यसपटक एकै वर्षमा बाघ र गैँडाको गणना गर्ने गरी काम थालिएको हो।

नेपालमा पछिल्लो पटक सन् २०२० मा गैँडा र सन् २०२२ मा बाघको गणना गरिएको थियो। ‘यसअघि नै गैँडाको गणना गर्नुपर्ने थियो। हामीले सकेनौं’, उनले भने, ‘बाघको त नियमित रूपमा नै हुने भयो।’

निकुञ्ज विभागले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका संघसंस्थाको सहयोगमा गैंडा गणना गर्दै आएको छ। युएनडिपी अन्तरगत सञ्चालित यी संस्थाको रकम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकिदिएपछि कार्यक्रम सञ्चालन हुन सकेको थिएन।

निकुञ्जले बाघको तीन महिना र गैँडाको एक महिनाभित्र गणना गर्नेगरी तयारी थालेको पन्तले जानकारी दिए। ‘बाघभन्दा गैँडा गणना गर्न अलि समय लाग्छ। क्यामेरा फिट गर्नुपर्छ। बाघलाई क्यामेराको ट्र्यापमा पारेर नतिजा निकाल्दा करिब तीन महिना लाग्छ’, उनले भने, ‘गैँडा गणनाको विधि अलि फरक भएकाले एक महिनाभित्र सकिन्छ।’ क्याप्चर रिक्याप विधिबाट बाघ गणना गरिन्छ।’ दुईदुई ग्रिडअर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ। बाघ गणना गर्नका लागि एक ठाउँमा कम्तिमा तीन हप्ता क्यामेरा राख्नुपर्ने हुन्छ।

निकुञ्ज विभागका अनुसार यस वर्ष बाघ गणनाका बाघ र गैँडा गणनाका लागि समान १८/१८ लाख रुपैयाँ विनियोजन गरिएको छ। नेपालमा सबैभन्दा धेरै बाघ र गैँडा चितवन राष्ट्रिय निकुञ्जमा पाइन्छ। चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो।

सन् २०२२ को बाघ गणनामा नेपालमा ३३५ बाघ थिए। चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सबग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो तर नेपालले लक्ष्यभन्दा बढी बाघको संख्या पु¥याएको थियो।

यस्तै चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा पाइन्छन्। गणनाले सबैभन्दा बढी चितवनमा रहेका देखाएको थियो। पछिल्लो गणनाअनुसार त्यसबेला ७५२ गैँडा थिए। चितवन राष्ट्रिय निकुञ्जमा ६९४ एकसिंगे गैँडा थिए। बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीनवटा त्यस्ता गैँडा रहेका तथ्यांक छ।

नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा रहेको विभागले जनाएको छ।

यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ र सन् २०१५ मा ६४५ गैँडा थिए।

प्रकाशित: १२ कार्तिक २०८२ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App