१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

किसानलाई जहिल्यै मलकै पिरलो

मल माग गर्दै हलो, जुवासहित आन्दोलनमा निस्किएका घोराही–२ रामपुरका किसान। तस्बिर: नागरिक

घोराही उपमहानगरपालिका वडा नं २ रामपुरका टेकबहादुर चौधरी गत वर्ष रासायनिक मलको जोहो गर्न बर्दियासम्म पुगे। दाङमा मल अभाव भएपछि आफन्तसँगको सम्पर्कका आधारमा बर्दिया पुगेका उनले गत वर्षको धान खेती सपार्न जेनतेन मलको जोहो गर्न भ्याए। यो वर्ष पनि मलको अभाव उस्तै छ।  

कोरोना संक्रमणका कारण यातायात सेवा ठप्प हुँदा बाँके, बर्दियासम्म पुगेर मल आयात गर्न सकिने अवस्था छैन। महिना दिनसम्म मलको जोहो गर्न बजार दौडधुप गरिरहेका छन् उनी। तर जहाँ पुगे पनि एउटै जवाफ पाइन्छ, ‘मल छँदै छैन, कसरी दिनु ?’ अहिले धानले मल खोजिरहेको छ। उनी भन्छन्, ‘अहिले खेतमा मल छर्ने बेला भएको छ, तर मल कहिँकतै पाइँदैन, यसपटक धान खेती मलकै कारण बिग्रिने हो कि भन्ने चिन्ताले सताएको छ।’  

धानको ब्याड राख्दा थोरै मल भए पनि पाएका थिए उनले। तर धान रोपिसकेपछि भने उनले कहिँकतै मल पाउनै सकेका छैनन्। अनि हलो, जुवा बोकेर मलको माग गर्दै सैयौंको मासमा मिसिए उनी। मल चाहियो भन्दै नाराबाजी गरेर सरकारको ध्यानाकर्षण गराइरहेका उनले भने, ‘हामी गरिबको नारा सरकारले के सुन्थ्यो र ? कोरोनाभन्दा बढी चिन्ता हामीलाई खेतीपाती बिग्रने हो कि भन्ने छ।’ टेकबहादुरले झन्डै डेढ बिघा खेतमा धान रोपाइँ गरेका छन्। ‘कृषि क्षेत्रको विकास गर्ने भनेर घोषणा गर्ने सरकार हामी किसानलाई किन मल दिन सक्दैन?’ उनले प्रश्न गरे, ‘किसानले मलको सहज रुपमा पाउन सकेनन् भने कृषि क्षेत्रको विकास त के कतिपय किसान भोकै मर्नुपर्ने अवस्था आउन सक्छ।’

सोही गाउँका शेरबहादुर चौधरीले पनि बर्सेनि रासायनिक मलको अभाव झेल्दै आइरहेका छन्। तर विगतका वर्षमा व्यापारीसँग मल खरिद गरेर जेनतेन जोहो हुँदै आएको थियो। तर यस वर्ष भने मलको पिरलो विगतका वर्षभन्दा निकै बढेको उनी सुनाउँछन्। ‘हामी किसानलाई राज्यबाट उपलब्ध हुनुपर्ने अनुदानको मल कहिल्यै पर्याप्त भएन,’ उनले भने ‘व्यापारीसँग खरिद गरेर जेनतेन जोहो गर्नुपर्छ, तर यो वर्ष त व्यापारीसँग पनि मल छैन, कसरी खेती सपार्ने ?’ एक महिनादेखि शेरबहादुर मलका लागि बजार धाइरहेका छन्। अनुदानको मल उपलब्ध गराउने निकाय सहकारीमा त झन कति हो कति ? ‘म जहाँजहाँ मल खोज्दै पुगेँ, सबैले मल फिटिक्कै छैन भनेर जवाफ दिन्छन्,’ उनले भने, ‘यो बेला मल नपाए त धान खेती चौपटै हुन्छ।’

किसानले अहिले धान गोडी भ्याएका छन्। अब धान सपार्नका लागि मल आवश्यक छ।  यो बेला धान टिप गर्नका लागि युरिया मल आवश्यक पर्छ। तर किसान मलका लागि छट्पटाइरहेका छन्। यति मात्रै हैन, राज्यप्रति किसानको आक्रोश पनि बढ्दै जान थालेको छ।  

हलो, जुवासहित किसान सडकमा  
मल अभावमा आजित बनिसकेका रामपुर क्षेत्रका किसान सडकमै उत्रिएका छन्। हलो जुवा, फरुवासहित सडकमा उत्रिएका उनीहरुले स्थानीय सरकारसँग सहज रुपमा मल उपलब्ध गाउनुपर्ने माग राखे। वडा कार्यालय घेराउ गरेका उनीहरुले मल अभाव पूर्ति नभए किसानको गास खोसिने भन्दै तत्काल मल उपलब्ध गराइदिन माग गरेका छन्। ‘भन्ने बेला कृषि क्रान्तिको कुरा गर्ने ? तर कृषि क्षेत्रको विकासका लागि मलको सहज आपूर्तिसम्म गर्न नसक्ने ?’ शेरबहादुरले भने, ‘कृषि क्रान्तिको कुरा मात्रै गरेर कृषि क्षेत्रले छलाङ मार्दैन, कृषि क्षेत्रको विकासका लागि ठोस योजना पनि आउनु प-यो।’

एक महिनादेखि मल नपाउँदा पनि वडा कार्यालयले कुनै पहल नगरेपछि किसान बाध्य भएर वडा कार्यालयमा धर्ना दिन जानु परेको अर्का किसान दिलबहादुर नेपालीले बताए। मल नपाउँदा खेतमा धान पहेलो हुन थालेको उनले बताए। ‘सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्दा खेतमा रोपेको धन पहेलो हुन थालिसक्यो,’ नेपालीले भने।

यता लकडाउनका कारण रासायनिक मल आयातमा समस्या भएको कृषि सामग्री कम्पनीले जनाएको छ। कम्पनीको घोराही शाखाका अनुसार कोरोना संक्रमणको त्रासका कारण मल कारखाना नै बन्द छ। ‘कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण भारतबाटै मल आयात हुन नसकेको हो,’ कम्पनीका सूचना अधिकारी सुष्मा बस्यालले भनिन्, ‘अहिले खेतबारीमा युरिया मल चाहिएको छ, तर हामीसँग युरिया छैन।’  

उनका अनुसार गत वैशाखदेखि नै जिल्लामा युरिया मल भित्रिन सकेको छैन। धान रोपाइँका बेलामा मल अभाव नभएको भन्दै कृषि सामग्री कम्पनीले धानमा टिप गर्ने बेलामा भने रासायनिक मल अभाव भएको जनाएको छ। ‘मल कहिलेसम्म आउँछ भन्नेमा हामी ठ्याक्कै भन्न सक्दैनौं,’ सूचना अधिकारी बस्यालले भनिन्, ‘तर भदौ पहिलो सातासम्म मल आउने सूचना पाएका छौं।’

प्रकाशित: २० श्रावण २०७७ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App