७ वैशाख २०८१ शुक्रबार
अर्थ

विस्तारको टुंगो छैन, रुख काट्न हतार

सूर्यविनायक–धुलिखेल सडक

कोटेश्वर–सूर्यविनायक ६ लेनको सडक तयार भएको एक दशक बित्यो। तर त्यसैसँग जोडिएको सूर्यविनायक–धुलिखेल (१४.९१ किलोमिटर) खण्ड दुई लेनमा सीमित छ। साँघुरो सडकका कारण उक्त खण्डमा पिक आवरमा एक घन्टादेखि डेढ घन्टासम्म सवारी जाम हुन्छ।  

सरकारले उक्त आयोजना अघि बढाउने ठोस निर्णय गर्न अहिलेसम्म गर्न सकेको छैन। जापान सरकारको सहयोगमा निर्मित कोटेश्वर–सूर्यविनायक खण्ड एक समय नेपालकै नमुना सडकको रुपमा चिनिन्थ्यो। तर राजमार्ग वरपर घना बस्ती बढेसँगै अहिले उक्त सडक साँघुरो भएर सवारी जाम हुन थालेको हो। सूर्यविनायक–धुलिखेल सडक विस्तार हुने टुंगो नलागे पनि सडक डिभिजन कार्यालय, भक्तपुरले उक्त खण्डको रुख कटान कार्यलाई तीव्र पारेको छ।  

डिभिजन कार्यालयका प्रमुख विष्णु काफ्लेले असार दोस्रो सातादेखि ६ लेन सडकमा पर्ने रुख कटान सुरु गरेको बताए। ‘सूर्यविनायकदेखि साँगासम्म रुख कटान सकिएको छ,’ उनले भने, ‘अहिले काटेका रुख व्यवस्थापन गर्नतर्फ लागेका छौं।’  

कार्यालयले सूर्यविनायक–धुलिखेल खण्डका तीन सय ९१ रुख कटान गर्नुपर्ने जनायो। प्रमुख काफ्लेले सडक वरपरका रुखले समस्या निम्त्याएकाले काट्नुपरेको बताए। उनका अनुसार रुख कटान गर्न करिब १६ लाख रुपैयाँ खर्च लाग्छ।  

उक्त सडकमा चार लेन हाई–स्पिड लेन, दुई लेन सर्भिस लेन र तीन मिटरको बगैंचा सहितको ‘मेडियन’ बनाउने योजना छ।

सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले सूर्यविनायक–धुलिखेल खण्ड विस्तार कार्यले अहिलेसम्म गति लिन नसकेको बताए। ‘सरकारले उक्त सडक ६ लेनमा विस्तार गर्ने भने पनि अहिलेसम्म आर्थिक सहायता जुटेको छैन,’ उनले भने, ‘जापान सहयोग नियोग (जाइका)ले रुची देखाए पनि सम्झौता भएको छैन।’  

महाशाखा प्रमुख थापाले कोभिड १९ को महामारी फैलिएसँगै जाइकासँग थप छलफल हुन नसकेको बताए। ‘कोभिड १९ महामारीका कारण दुवै पक्षबीच आपसी कुराकानी हुन सकेको छैन,’ उनले भने, ‘आगामी वार्ता पनि कहिले हुने निश्चित छैन।’

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक योजनाका प्रमुख सूर्यबहादुर रानाभाटले सूर्यविनायक–धुलिखेल खण्ड विस्तारको हालसम्म टुंगो नलागेको बताए। ‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक सहयोग र अन्य स्रोतबाट एक अर्ब रुपैयाँ विनियोजन गरेको छ,’ उनले भने, ‘अन्य स्रोत कसरी जुटाउने भनेर टुंगो लागेको छैन।’  

योजना प्रमुख रानाभाटका अनुसार उक्त सडकमा चार लेन हाई–स्पिड लेन र दुई लेन सर्भिस लेन तथा तीन मिटरको बगैंचा सहितको ‘मेडियन’ बनाउने योजना छ। रानाभाटले ६ लेनको १४.९१ किलोमिटर सडक सम्पन्न गर्न करिब २३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। जाइकाले सन् २०१८ मा सूर्यविनायक–धुलिखेल खण्डको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाएको थियो। ‘जाइकाले सम्भाव्यता अध्ययन गरेकाले अनुदान वा ऋण लगानी गर्छ कि भन्ने आस गरेका छौं,’ उनले भने, ‘दुवै पक्षबीच केही चरणमा वार्ता भए पनि अहिलेसम्म सम्झौता हुन सकेको छैन।’

लकडाउनले ‘ओभर ले’ प्रभावित  

योजना प्रमुख रानाभाटले गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनले सूर्यविनायक–धुलिखेल खण्ड मर्मतसम्भार प्रभावित भएको बताए। ‘लकडाउनले सडकको नियमित मर्मतसम्भार प्रभावित भएको छ,’ उनले भने, ‘पात्लेखेतदेखि भकुण्डेसम्म सडक कालोपत्रे गर्न बेसकोर्स तयार पारेका थियौं, अहिलेसम्म कालोपत्रे गर्न सकिएको छैन।’ योजनाले चालु आवमा पाँच किलोमिटरभन्दा धेरै सडक ‘ओभर ले’ गर्ने तयारी रहेको जनायो।

प्रकाशित: २८ असार २०७७ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App