१६ चैत्र २०८० शुक्रबार
अर्थ

लकडाउनमा बन्यो वर्षौंदेखि नबनेको सडक

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले केहिलाई अवसर पनि भएको छ। महामारीको रूपमा फैलिएको कोरोनाका कारण पोखरा उपमहानगरपालिका–२३ मार्गिस्थित मौरेबगर र धर्मडाँडावासीलाई  अवसर बनेको छ। पोखराको नजिक भएरपनि वर्षौंदेखि बन्न नसकेको बाटो लकडाउनमा बनेपछि कोरोनालाई अवसरका रूपमा लिएका छन्।  

उपमहानगर भएरपनि १ मिटरपनि कालोपत्रे गरिएको बाटो भएको महानगरपालिका–२३ मार्गिस्थित धर्मडाँडा र मौरेबगरवासीले संयुक्त रूपमा मौरेबगरदेखि हर्पनखोलासम्मको कृषि सडक निर्माण गरिएको हो। मौरेबगरदेखि हर्पनखोलासम्म करिब१ किलोमिटर सडक ६ लाख रुपैयाँमा निर्माण गरिएको समितिका अध्यक्ष नन्दलाल लामिछानेले जानकारी दिए।

स्थानीयले श्रमदान गरेर बाटो निर्माण गरिएको अध्यक्ष लामिछानेले बताए। ‘कोरोनाको त्रासले घरमै बस्नुभन्दा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सामग्री प्रयोग गरेर सडक निर्माणमा जुटेका हौं,’ उनले भने, ‘त्यसैले वर्षौंदेखि बन्न नसकेको सडक लकडाउनमै बनाउन सफल भयौं।’ उनले कोरोना भाइरस र लकडाउनलाई आफूहरूले अवसरको रूपमा परिणत गर्न सफल भएको बताए। ‘लकडाउनअघि नै काम सुरु गरेका थियौं,’  समितिका अध्यक्ष लामिछानेले भने, ‘तर लकडाउन भएको केहि दिन बाटो निर्माण अलपत्र प¥यो, त्यसपछि प्रशासनबाट अनुमति लिएर निर्माण सामग्री मगायौं र बाटो निर्माणलाई निरन्तरता दियौं।’  

जन श्रमदानबाट निर्माण भएको कृषि सडकको शनिबार गण्डकी प्रदेशसभा सांसद राजिव पहारीले उद्घाटन गरे। उद्घानका अवसरमा स्थानीयले पोखराको बजारसँग जोडिएको र फेवातालको सबैभन्दा नजिकको क्षेत्र भएरपनि मौरेबगर, धर्मडाँडालगायतका क्षेत्रले विकासको मुख देख्न नपाएको गुनासो गरे। उनीहरूले जन श्रमदानबाट निर्माण भएको सडकलाई मजबुत बनाउन तटबन्धन गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक बजेटको सहयोग गर्न जनप्रतिनिधिलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै प्रदेश सांसद पहारीले लकडाउनलाई अवसरको रूपमा मौरेबगर र धर्मडाँडावासीले उदाहरण प्रस्तुत गरेको बताए। उनले यहाँबाट अन्य ठाउँका स्थानीयवासीले पनि सिक्नुपर्ने बताए। सडक मर्मतका लागि आवश्यक बजेटको व्यवस्था गर्ने उनले प्रतिवद्धता व्यक्त गरे। बाटोका साथै खानेपानी समस्या समाधान र कृषि खेतीका लागि बजेटको व्यवस्थापनमा लाग्ने बताए।

प्रकाशित: २८ असार २०७७ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App