सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप माघ २५ गतेदेखि देशभर सञ्चालन गर्ने भएको छ। परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका अनुसार यो अभियान फागुन १५ गतेसम्म चल्नेछ। अत्यधिक चिसो र हिमपातका कारण भने पाँच हिमाली जिल्लामा खोप कार्यक्रम पछि सारिएको छ।
खोप शाखाका अनुसार मुस्ताङ, मनाङ, डोल्पा, मुगु र हुम्लामा फागुनपछि मात्र एचपीभी खोप अभियान सञ्चालन हुनेछ। ती जिल्लामा चैत र वैशाखमा खोप दिइने खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए। फागुनमा हुने निर्वाचनलाई ध्यानमा राख्दै माघदेखि नै अभियान सुरु गरी छिटो सम्पन्न गर्ने गरी मिति तय गरिएको उनले बताए।
एचपीभी खोप पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन पेपिलोमा भाइरस विरुद्धको खोप हो। नेपालमा यस क्यान्सरका कारण वर्षेनी धेरै महिलाको मृत्यु हुने भएकाले सरकारले गत वर्षदेखि अभियानका रूपमा खोप सुरु गरी यस वर्षदेखि नियमित खोप कार्यक्रम अन्तर्गत समावेश गरेको हो।
यस वर्ष कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका सबै छात्रालाई खोप दिइनेछ। साथै, विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई पनि खोप दिइने व्यवस्था गरिएको छ। गत वर्ष खोप लिन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने खोप शाखाले जनाएको छ।
खोप नजिकको विद्यालयमा सञ्चालन हुने खोप केन्द्रमार्फत दिइनेछ। खोप दिने मिति र स्थान फरक–फरक हुने भएकाले खोप लिन विद्यालय वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न खोप शाखाले आग्रह गरेको छ।
डा. गौतमका अनुसार खोप सबै जिल्लामा पठाइसकिएको छ र आवश्यक जनशक्ति पनि तयारी अवस्थामा रहेको छ। यस वर्ष करिब ३ लाख ४५ हजार किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ भने उमेर समूह र छुटेका किशोरीसमेत गरी करिब ४ लाख किशोरीलाई खोप दिने सम्भावना रहेको शाखाले जनाएको छ। त्यसका लागि ४ लाख डोज खोप व्यवस्था गरिएको छ।
यस वर्ष पनि कक्षा ६ मा अध्ययनरत छात्रालाई विद्यालयमै खोप दिइनेछ। विद्यालय बाहिर रहेका किशोरीका लागि खोप क्लिनिक सञ्चालन गरिनेछ। क्लिनिकपछि पनि कुनै किशोरी खोप लिन छुटेमा पुनः खोजी गरी नजिकको स्वास्थ्य संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको डा. गौतमले बताए।
एचपीभी खोप अभियानका लागि करिब १० हजार स्वास्थ्यकर्मी र १५ हजार जनशक्ति परिचालन गरिनेछ। नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये दोस्रो स्थानमा रहेको उल्लेख गर्दै डा. गौतमले सबै किशोरीलाई ढुक्क भएर खोप लिन आग्रह गरे।
उनले भने, ‘पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन पेपिलोमा भाइरस विरुद्धको खोप एचपीभी हो। यो खोप लगाएमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिन्छ।’
प्रकाशित: २२ माघ २०८२ १८:३१ बिहीबार





