१६ चैत्र २०८० शुक्रबार
अर्थ

नक्सामा सडक र फिल्डमा घर हुँदा आरुघाटका बिस्थापितले मुआब्जा पाएनन्

आरुघाट बजार ।

आरुघाट गाउँपालिका साविक आरुचनौटे १ का राजकुमार गुरुङको कित्ता नम्बर ६४४ भएको जग्गा बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्छ । घर बनाएर बसेको उक्त कित्ताको जग्गाको मुआब्जा लिन आयोजना कार्यालयमा पुग्दा कार्यालयले उक्त जग्गा सडकमा पर्ने बताएपछि उनी चिन्तित छन् । मुआब्जा रकम पनि पाएका छैनन् । 

अर्का स्थानीय कमला दराईको कित्ता नम्बर ११२२ को जग्गामा घर छ तर नक्सामा सडक छ । अहिले भएको संरचना अनुसार सडक र घरको नक्सामा कित्ताकाट नहुँदा आरुघाट बजार क्षेत्रका करिब ४० जना बिस्थापितले मुआब्जा पाएका छैनन् । ‘मुल बाटो छेउको जग्गाको पनि समस्या छ’ आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले भने ‘हामीले स्थानीयलाई मागे अनुसारको सिफारिस दिईरहेका छौँ, आयोजना कार्यालयले मुआब्जा फिल्ड अनुसार दिनुपर्छ ।’ मुआब्जा निर्धारण समितिले पुनः सर्वेक्षण गर्ने भन्दै प्रशासकिय अधिकृत हर्क रोकाको संयोजकत्वमा समिति निर्माण गरेपनि त्यसयता कुनै निर्णय भएको छैन । 

आयोजना कार्यालयले नक्सा अनुसार मुआब्जा दिने भएकाले फिल्ड र नक्साको अवस्था फरक रहेको जनाएको छ । ‘अहिले फिल्डको अवस्था अनुसार नापी कार्यालयले नक्सा अद्यावधी गरिदिनुपर्छ, नगर्दासम्म हामीले मुआब्जा दिन सक्ने अवस्था छैन’ आयोजना कार्यालयका प्रमुख कृष्णबहादुर कार्कीले भने । अधिकांशको दुई/तीन आना जग्गामा घर रहेको र नक्सामा हेर्दा उक्त घर रहेको कित्तामा सडक भएको उनले बताए । 

नापी कार्यालयका निमित्त प्रमुख अमृत पाण्डेले पहिले जग्गा खरिद गर्दा बाटो नकाटेकाले समस्या देखिएको बताए । ‘बूढीगण्डकी आयोजनामा स्थलगत अवस्थासहितको प्रतिवेदन पुगिसकेको छ’ उनले भने ।  राष्ट्रिय गौरवको रुपमा लिइएको बुढीगण्डकी आयोजनाले चालु वर्ष पाँच अर्व ४३ करोड मुआब्जा वितरण गरिसकेको छ । आरुघाट, आर्खेत, धादिङको खहरे लगायत बजार क्षेत्रको मुआब्जा ढिला गरि तोकिएको हो । अहिले ति ठाउँको जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा रहेको मुआब्जा वितरण पुर्नवास तथा पुर्नस्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले बताए । जग्गाको मुआब्जा वितरण भएसँगै गोरखा तर्फ आरुघाटमा घरगोठ र बोटबिरुवाको लगत संकलन पनि चलिरहेको छ ।

प्रकाशित: २६ असार २०७७ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App