८ वैशाख २०८१ शनिबार
अर्थ

‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ प्रवद्र्धन गरिने

लकडाउनको सदुपयोग

रसुवाको गोसाइँकुण्डमा ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ अध्ययन टोली ।

रसुवा–नुवाकोट पर्यटन समाजले ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’को प्रचारमा जोड दिने भएको छ। उसले लकडाउनकै बेला पदमार्ग अध्ययन गरेर मार्केटिङमा जोड दिने योजना बनाएको हो।    

बुढानिलकण्ठ, काठमाडौंबाट सुरु हुने पदमार्ग नुवाकोटका गाउँबेसी हुँदै रसुवाको गोसाइँकुण्ड भएर धुन्चेसम्म जोडिन्छ। काठमाडौंबाट निस्केका पदयात्री घुमेर आठौं दिन काठमाडौं फर्कन सक्छन्।  

समाजका उपाध्यक्ष शिव लामिछानेका अनुसार यो पदमार्गमा प्रचुर पर्यटकीय सम्भावना छ। ‘प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली र जातजातिको संस्कृति अध्ययन गर्दै यात्रा गर्न पाइन्छ’, उनले भने, ‘अब हामी मार्केटिङमा जोड दिन्छौं।’  

पदमार्गको नक्सा, युट्युव भिडियो र ब्रोसर बनाइने समाजले जनाएको छ। त्यस्तै मुलुक कोरोनामुक्त भएपछि पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई परिचयात्मक भ्रमण गराइनेछ।  

पदमार्ग आकर्षक छ। त्यहाँका राउचुली (३,७८५ मिटर), छ्यार्कुङचुली (४,५८७ मिटर) लगायतबाट हिमाल, सूर्योदय र सूर्यास्तको दृश्य देखिन्छ। 

‘पदमार्गमा धेरै तालतलैया पनि छन्’, पदमार्ग अध्ययन टोलीका संयोजक समेत रहेका लामिछाने भन्छन्, ‘गोसाइँकुण्ड, एक्लेकुण्ड, राजारानीकुण्ड, नौकुण्ड, लामोकुण्ड, सरस्वतिकुण्ड र भैरवकुण्ड आदि तालको सोन्दर्यले मोहित बनाउँछ।’  

तामाङ, शेर्पा, क्षेत्री, बाहुनलगायत जातजातिको जीवनशैलीको सुवास पाइने पदमार्गका सबैतिर होटल तथा लज सुविधा नभएकाले ‘टि हाउस टे«किङ’ सम्भव छैन। क्याम्पिङ टे«क गर्नु पर्ने बाध्यता छ। पदमार्गका शिवपुरी अल्छे, मानेभञ्ज्याङ, बागमारा, सागरकुण्ड, छिर्केकुण्ड, गोसाइँकुण्ड र धुन्चेमा बास बस्नुपर्छ।

समाजले नेपाल पर्यटन बोर्डको सहयोगमा असार १२ देखि १९ गतेसम्म पदमार्गको अध्ययन गरेको हो। अध्ययन टोलीमा पर्यटनकर्मीहरू ऊर्जा तामाङ, दिनेश तामाङ, गगनराज न्यौपाने, सुरेन्द्र राना र अशोक सिलवाल थिए।  

‘आन्तरिक र बाह्य दुवैखाले पदयात्रीका लागि यो पदमार्ग उपयुक्त छ’, अध्ययन टोलीका सदस्य एवं ट्राभल राइटर राना भन्छन्, ‘ठाउँठाउँमा पदमार्ग सुधार गर्नुपर्छ। त्यस्तै स्याउलेबाट छ्यार्कुङचुलीसम्म पुरै पदमार्ग बनाइहाल्नुपर्ने छ।’ छ्यार्कुङचुली नुवाकोटको सबैभन्दा अग्लो डाँडा हो।  

टानसँग मिलेर एडभेन्चर थर्ड पोल कम्पनीले १८ वर्ष अघि पहिलोपटक यो  पदमार्गको संभाव्यता अध्ययन गरेको थियो। पूर्वाधार विकासमा सरकारले ठूलो लगानी गरिसकेको भए पनि पदमार्ग व्यवस्थित भैसकेको छैन। ठाउँठाउँमा पदमार्ग सुधार, सांकेतिक चिन्ह, पोर्टर सेल्टर निर्माण लगायतका काम गर्न बाँकी नै छ।  

प्रकाशित: २४ असार २०७७ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App