coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साढे ४६ करोड बिगो दाबी गर्दै मुद्दा दायर

राजस्व छली, सुन तस्करी, विदेशी विनिमय अपचलन गरेको आरोपमा राजस्व अनुसन्धान विभागले साढे ४६ करोड रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ। राजस्व छलीमा संलग्न तीन नेपाली र चार भारतीयसहित सातजनाविरुद्ध मुलुकका विभिन्न अदालतमा मुद्दा दायर गरेको हो।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजस्व छली गर्नेविरुद्ध ४० करोड ६१ लाख रुपैयाँ, सुन चोरी पैठारी गरेर राजस्व चुहावट गर्नेविरुद्ध चार करोड २२ लाख २० हजार र विदेशी विनिमय अपचलन गर्नेविरुद्ध एक करोड ७५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको विभागले जनाएको छ।

विभागका अनुसार सातजनाविरुद्ध ४६ करोड ५८ लाख रुपैयाँ बिगोसहित मुद्दाको प्रकृति अनुसार जरिवाना र कैद सजाय पनि माग दाबी गरिएको छ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा  ३२ करोड ६० लाख बिगो दाबी गर्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। राजस्व छली गर्ने काठमाडौं महानगरपालिका वडा नं २५ बस्ने न्यू सागर प्लास्टिक कन्सर्नका सञ्चालकद्वय सन्जु किजु र सागर किजुलाई संयुक्त रुपमा २६ करोड ८२ लाख रुपैयाँको बिगो दाबी गरिएको छ। त्यसैगरी, सागरको एकल स्वामित्व रहेको सुप्रिम प्लासिटक कन्सर्नलाई पाँच करोड ७७ लाख मुद्दा दायर गरिएको हो।  विभागले बिगोको दोब्बर जरिवाना र कैद सजाय पनि माग गरेको छ।

न्यू सागर प्लास्टिक कन्सर्न र सुप्रिम प्लास्टिक कन्सर्नले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा नक्कली कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धिकर र आयकर छली गरेको विभागको दाबी छ।

न्यू सागर प्लास्टिक कन्सर्नले मूल्य अभिवृद्धि करतर्फ आठ करोड १८ लाख ४५ हजार रुपैयाँ, आयकरतर्फ १८ करोड ६३ लाख ६६ हजार रुपैयाँ, सुप्रिम प्लास्टिकले मूल्य अभिवृद्धि करतर्फ एक करोड ७७ लाख रुपैयाँ र आय करतर्फ चार करोड ५५ हजार रुपैयाँ राजस्व चुहावट गरेको विभागको अनुसन्धानमा फेला परेको थियो।

त्यसैगरी, झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजस्व छली गर्ने निर्माण व्यवसायीविरुद्ध पनि मुद्दा दायर गरेको छ। विभागले बंगलामुखी जेभीका सञ्चालक साझेदार रोशकुमार श्रेष्ठविरुद्ध राजस्व चुहावट गरेको आरोपमा आठ करोड एक लाख रुपैयाँ बिगो असुल एवं कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको हो।  

श्रेष्ठले मूल्य अभिवृद्धि करतर्फ दुई करोड ८३ लाख ६४ हजार रुपैयाँ र आयकरतर्फ चार करोड ५२ लाख सात हजार रुपैयाँ र लाभांश कर ६५ लाख ३३ हजार रुपैयाँ चुहावट गरेको विभागको निष्कर्ष छ। राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन,२०५२ को दफा २ (छ १) बमोजिम मुद्दा दायर गरिएको विभागले जनाएको छ।

त्यसैगरी, सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको कर्नाटक राज्य बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकल र रोशन भनिने लुक्मान्युल हकिमविरुद्ध मुद्दा दायर गरिएको छ। यी दुईजनाले ६ किलो दुई सय ८९ ग्राम सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा चार करोड २२ लाख २० हजार बिगो दाबी गर्दै उच्च अदालत हेटौंडामा मुद्दा दायर गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका स्थित रातोमाटे चेकपोस्टमा बिना बिलविजक लुकाई छिपाई बसमा लैजान लागेको सुन बरामद गरेको थियो। सुनको मूल्य बराबरको बिगो र दोब्बर जरिवानासहित कैद सजाय माग दाबी गरी हेटौंडामा मुद्दा दायर गरिएको हो। आरोपीविरुद्ध विदेशी विनिमय कसुरमा पनि थप अनुसन्धान भईरहेको विभागले जनाएको छ।

त्यसैगरी, विदेशी विनिमय अपचलन गरेको आरोपमा भारतको दार्जिलिङ सिलुगुडी घर भएका ट्रकचालक रविकुमार शर्मा र भारतकै बिहारका पप्पुकुमारविरुद्ध पनि मुद्दा दायर गरेको छ। शर्मा र कुमारविरुद्ध एक करोड ७५ लाख रुपैयाँ बिगो दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको विभागले जनाएको छ। सशस्त्र प्रहरी गुल्म नम्बर ९ मोरङबाट खटिएको टोलीले एकीकृत भन्सार जाँचको क्रममा भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको डब्लुबी ७३ ई ७६३५ नम्बरको ट्रकबाट नगद बरामद गरिएको हो।  

विभागले राजस्व चुहावट, चोरी पैठारी, विदेशी मुद्रा तथा हुन्डी कसुरमा संलग्नलाई अनुसन्धान गरी मुद्दा दायर गर्दै आएको छ। अधिकांश मुद्दा राजस्व छली र भन्सार चुहावटका छन्। करोडौं रुपैयाँ कारोबार गर्नेले पनि आम्दानी लुकाएर आयकर नतिरेको सूचनाका आधारमा समेत विभागले अनुसन्धान गरेर मुद्दा चलाउँदै आएको छ। शंका लागेका फर्ममाथि विभागले सूक्ष्म ढंगले निगरानी गरी छानबिन गर्दै आएको छ। नक्कली राजस्व स्टिकर प्रयोग गर्ने गरेको पनि भेटिएको छ। कतिपय मुद्दामा व्यापारिक फर्ममात्र नभएर सरकारी कर्मचारी पनि मुछिने गरेका छन्।

प्रकाशित: १८ असार २०७७ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App