१५ चैत्र २०८० बिहीबार
अर्थ

खाद्य वस्तुमाथि सबैको पहुँच कायम गराउन प्रयासरत छौंः प्रधानमन्त्री ओली

आज राष्ट्रिय धान दिवस

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनतालाई खाद्य संप्रभूताको प्रत्याभूति दिलाउन प्रयासरत रहेको बताएका छन्। १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै कोही भोकै पर्दैन र कोही भोकले मर्दैन भन्ने वर्तमान सरकारको नारा अनुरुप आधारभूत खाद्य वस्तुमाथि सबै नागरिकको पहुँच कायम गराउन विशेष प्रयास गरिरहेको बताए। 

‘यसै हेतुले नेपाल सरकारले प्रमुख खाद्यान्न बालीहरुको उत्पादन तथा उपलब्धतामा बृद्धि, वितरण प्रणालीमा सुधार र खाद्यान्नको उचित उपयोग मार्फत् खाद्यान्नमा आत्मनिर्भरता र दीगो खाद्य तथा पोषण सुरक्षा कायम गर्ने नीति लिएको तथ्य पनि सर्वविदितै छ।’ सन्देशमा भनिएको छ, ‘कोरोना भाइरसको महामारीका कारण अहिले पूरै विश्व आक्रान्त छ। यस समस्याले विश्वका अधिकांश देशहरुको अर्थतन्त्र र जनताको जिविकामा ठूलो असर पुर्याएको छ। हाम्रोजस्ता सानो अर्थतन्त्र भएको मुलुकमा यसको प्रभाव झनै ठूलो पर्ने देखिएको छ।’

कृषिमा आधारित यस प्रतिकात्मक दिवसको आयोजनाले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने विश्वास सन्देशमा उल्लेख छ।

‘नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो।’ सन्देशमा अगाडि भनिएको छ, ‘ सोही अनुरुप हाम्रो संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ। यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ जारी भइसकेको छ। उक्त ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानूनी अधिकारका रुपमा स्थापित गरेको छ। त्यसैगरी भोकमरीको अन्त्य गर्ने लगायत दिगो विकासका लक्ष्यहरु हासिल गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयन मार्फत खाद्य र पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता पनि सुस्पष्ट रहेको छ।’

परापूर्वकालदेखि नै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र साँस्कृतिक महत्व रहेको उल्लेख गर्दै अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतका रुपमा रहेको धानको खाद्य सुरक्षाको दृष्टिले रणनीतिक महत्व रहेको उनले जारी गरेको सन्देशम उल्लेख छ। ‘राष्ट्रिय अर्थतन्त्रमा समेत धानको महत्वपूर्ण योगदान रहिआएको छ। त्यसैगरी हाम्रो जीवन चक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारहरुको प्रयोग र प्रचलनको निकै लामो र समृद्ध परम्परा रहिआएको छ। यसरी हाम्रो जीवन पद्धतिसँग धानको घनिष्ठ सम्बन्ध कायम रहेको स्पष्ट छ। ‘धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने उद्घोषका साथ धान दिवस आज १७औं राष्ट्रिय धान दिवस मनाइँदै छ। 

प्रकाशित: १५ असार २०७७ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App