४ वैशाख २०८१ मंगलबार
अर्थ

तीन महिनाको घरभाडा र बहालकर छुट दिने घोषणा

देशकै ठूलो पोखरा महानगरपालिकाको बजेट ६ अर्ब १९ करोड

पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ छैटौं नगरसभामा बुधबार महानगरको बजेट प्रस्तुत गर्दै । तस्बिर : उमेश पुन/नागरिक

देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट अघिल्लो वर्षको भन्दा ८५ करोड ६८ लाखले कम हो ।

महानगरले कुल बजेटको चालु खर्चतर्फ ५२ प्रतिशत अर्थात तीन अर्व २० करोड ८४ लाख र पुँजीगततर्फ ४८ प्रतिशत अर्थात २ अर्व ९८ करोड ८८ लाख रुपैयाँको विनियोजन गरेको छ । त्यस्तै महानगरको कार्यक्रम खर्चतर्फ चार अर्व ६१ करोड ६८ लाख र प्रशासनिक खर्चमा एक अर्व ५८ करोड चार लाख विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटको खर्च बेहोर्ने श्रोतमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख, गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार, अन्तर सरकारी अख्तियारीबाट ८५ करोड प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ । महानगरले आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने बजेटमा उल्लेख छ ।

महानपालिकाले सडक कनेक्टीभिटीदेखि आकाशेपुल निर्माणसम्मलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी बनाउनका लागि ६५ करोड ४४ लाख ९२ हजार बजेट विनियोजन गरेको छ । पोखराको सिर्जनाचोकमा निर्माणाधीन आकाशेपुल निर्माणका लागि १३ करोड ५० लाख ४२ हजार विनियोजन गरिएको छ भने पोखराको महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल निर्माण गर्न १ करोड ४० लाख विनियोजन गरेको छ ।

त्यस्तै, महानगरका ब्यस्त चोकहरुमा ट्राफिक लाइट जडान गर्ने भन्दै सोका लागि बजेट विनियोजन गरेको छ । महानगरले पोखरा सभागृह मर्मतसम्भारका लागि ३ करोड बजेट विनियोजन गरेको छ भने अन्र्तराष्ट्रिय सभाहल निर्माणका लागिपनि बजेट विनियोजन गरेको जनाइएको छ ।

महागनरले लेक टु लेक, केभ टु केभ जोड्ने सडकको प्राविधिक सर्वेक्षण अनुसार कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएको छ । प्रदेश सरकारले बजेट छुट्याएको लेखनाथको लामेआहालमा निर्माण गर्ने भनिएको प्रादेशिक बसपार्क र सिटी बसपार्कका रुपमा विकास गर्ने भनिएको पोखरा बसपार्क निर्माणका लागिपनि महानगरपालिकाले बजेट विनियोजन गरेको छ । महानगरले ‘हाम्रो रहर, सुन्दर सहर’ भन्ने उद्घोषका साथ टोल विकास संस्थाको सहकार्यमा आफ्नो आँगन आफै बनाऔ अभियान सञ्चालन गर्नका लागि बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले ‘हामी बनाउँछौं हाम्रो महानगर’ अभियान सञ्चालन गर्ने भएको छ । जन सहभागिता जुटाएर गर्ने सो कार्यक्रमका लागि महानगरपालिकाले २० करोड विनियोजन गरेको छ । महानगरले भूमि बैंक स्थापना गर्ने नीति लिदै बजेट विनियोजन गरेको छ भने ‘मेयर प्रविधि मैत्री कृषि कार्यक्रम’लाई निरन्तरता दिएको छ ।

महानगरपालिकाले पर्यटन क्षेत्रका लागि २ करोड ४६ लाख बजेट विनियोजन गर्दै पर्यटकीय राजधानी पोखरालाई विश्वभर चिनाउनका लागि विभिन्न भाषामा प्रचार सामग्री तयार गरेर प्रचारप्रसार गर्ने, महानगरलाई एग्रो टुरिजमको रुपमा विकास गर्ने, पर्यटकीय पूर्वाधार निर्माणलगायतका कार्य गर्ने जनाएको छ ।

महानगरपालिकाले भाडामा दिइएका घर तथा सटरहरुको लकडाउन शुरु भएको चैतदेखि जेठसम्मको तीन महिनाको घरभाडा र बहालकर छुट दिने घोषणा गरेको छ । साथै उसले घरभाडा मिनाहा गरेमा घरधनीहरुलाई बहालकर छुट दिने बताएको छ । महानगरले कोरोनाका कारण व्यवसायमा असर परेकाहलाई विशेष कर छुट दिने उल्लेख गरेको छ ।

प्रकाशित: १० असार २०७७ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App