अर्थमन्त्री डा. युवराज खतिवडाले निजी विद्युतीय सवारीसाधनमा लगाइएको कर फेरबदल नहुने बताएका छन् । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले आज राष्ट्रिय सभामा उठाएको प्रश्नको जवाफमा खतिवडाले सार्वजनिक यातायातको हकमा यो महसुल नबढाइएको र निजी सवारी साधनको हकमा कर फेरबदल नहुने बताएका हुन् ।
उनले पट्रोलियम गाडीको राम्रो विकल्पका रूपमा विद्युतीय गाडीलाई विकास गर्नुपर्ने सरकारको मान्यता रहेको बताए । उनले भने, ‘आयतित पट्रोलियम पदार्थ र प्रदूषणका कारण विद्युतीय सवारी उपयुक्त हुन्छ, यसमा कुनै दुई मत छैन ।’
सरकारको प्राथमिकतामा विद्युतीय र सार्वजनिक साधन रहेका छन् । सहरमा केन्द्रित सवारी विद्युतीय भएर मात्र समस्या समाधान नहुने उनको भनाइ थियो । उनले भने, ‘प्रदूषण त कम होला तर त्यसले ट्राफिक कन्जेक्सन ल्याउने र ठुलै मात्रामा विदेशी मुद्रा खर्च गराउँछ । पेट्रोल खपतसँग यसलाई जोडेर हेर्ने हो भने विद्युतीय सवारीमा लगाइएकाे कर फेरबलद गर्न त्यति बुद्धिमत्ता निर्णय हुन सक्दैन ।’
सार्वजनिक विद्युतीय गाडीमा १ प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक मर्मत दस्तुर लाग्दै आएको छ । तर, निजी सवारीमा कर छुट दिन नसकिने खतिवडाले बताए ।
प्रकाशित: ८ असार २०७७ १०:२३ सोमबार





