काठमाडौं महानगरपालिकाले भृकृटीमण्डपमा दुई सय रोपनी क्षेत्रफलमा अत्याधुनिक मेगा हल निर्माण गर्ने भएको छ। महानगरले उपत्यकाको वास्तुकलालाई समेटेर हलको प्रस्तावित डिजाइन समेत तयार गरिसकेको जनाएको छ।
महानगरपालिकाको सहरी योजना आयोगले मेगा हलको डिजाइन तयार गरेको हो। ‘पाँचतले हल निर्माणका लागि प्रस्तावित डिजाइन तयार भइसकेको छ,’ काठमाडौं महानगरपालिका, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने, ‘दुई सय १२ रोपनी क्षेत्रफलमध्ये करिब ६० प्रतिशतमा हरियाली बगैंचा रहनेछ भने ४० प्रतिशत (करिब ८५ रोपनी) मा मेगा हल निर्माण हुनेछ।’ उनले मेगा हलको डिजाइन खुला क्षेत्र र हरियालीलाई प्राथमिकता दिएर तयार पारेको जानकारी दिए।
‘हामीले प्रस्तावित डिजाइनमा अहिले भइरहेको भौतिक संरचनाभन्दा निकै कम निर्माण गर्ने गरी योजना अघि सारेका छौं,’ उनले भने, ‘यहाँ मात्रै होइन महानगरपालिकाभित्रका पार्कलगायत अन्य डिजाइनमा पनि खुला क्षेत्र र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएका छौं।’
काठमाडौं महानगरपालिकामा निर्वाचित भएर आएदेखि नै प्रमुख विद्यासुन्दर शाक्यले यो आयोजनालाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अघि बढाउन चाहेकाले त्यसै अनुरुप आफूहरुले काम अघि बढाएको बस्नेतले जानकारी दिए।
उक्त भवनका दुई तलामा हजार कार अटाउने पार्किङ हुनेछ भने दुई सयजना अटाउने ६ वटा मिटिङ हल, चार सय ५० जना अटाउने तीनवटा कन्फरेन्स हल र तीन हजारजना अटाउने अडिटोरियम हल एउटा रहनेछ।
‘मेगा हलमा एकपटकमा दुई हजारसम्म अट्ने दुईवटा प्रदर्शनी हलसहितको डिजाइन तयार पारेका छौं,’ बस्नेतले भने, ‘नवप्रर्वद्धन केन्द्र ६ वटा रहने छन् भने पाँचवटा स्वागत कक्षको डिजाइन तयार पारेका छौं।’ मेगा हलमा २२ वटा लिफ्ट र १२ वटा एस्केलेटर रहनेछन्। ‘बाहिरबाट हेर्दा यो हल एक तलाको जस्तो देखिने छ,’ उनले भने, ‘तर अत्याधुनिक र प्रविधिमैत्री हुनेछ।’
८५ रोपनी क्षेत्रफलमा बन्ने हलमा धरहराबाट सिधै जान टुँडिखेल हुँदै अन्डरपास बनाउने गरी प्रस्तावित डिजाइन तयार भएको छ।
बस्नेतका अनुसार ट्राफिक व्यवस्थापनलाई समेत ध्यानमा राखेर दीर्घकालीन र अल्पकालीन सोचसहित मेगा हलको डिजाइन तयार पारिएको छ। ‘हामीले डिजाइनमा चार ठाउँबाट प्रवेश गर्ने र दुई ठाउँबाट निस्कने व्यवस्था गरेका छौं,’ उनले भने, ‘पहिलो चरणमा साल्ट टे«डिङ, भद्रकाली र भृकुटीमण्डपबाट प्रवेशको व्यवस्था हुनेछ। धरहराबाट हलमा पुग्न टुँडिखेल हुँदै अन्डरपास बनाउने गरी डिजाइन तयार भएको छ।’
मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउने र प्रर्यटन प्रवद्र्धनलाई समेत ध्यानमा राखेर मेगा हलको योजना अघि बढाएको उनले जानकारी दिए। ‘नेपालमा अहिले हजारौं मानिस एकै ठाउँमा बसेर विचार–विमर्श गर्ने, सभा–सम्मेलन गर्ने र नवप्रर्वतनका लागि छलफल गर्ने स्थानको अभाव छ,’ उनले भने, ‘काठमाडौं संघीय राजधानी पनि हो, यहाँ ४० लाखभन्दा बढीको बसोबास छ। यस्तो ठाउँमा विदेशीलाई समेत सभा–सम्मेलनका लागि आकर्षित गर्ने योजनाले तयारी थालेका हौं।’
ठूला–ठूला सभा–सम्मेलन गर्न विश्वका धेरै मुलुकबाट थाइल्यान्ड, मलेसिया, अस्ट्रिया, स्विजरल्यान्डसम्म पुग्ने गरेको उदाहरण दिँदै बस्नेतले नेपालमा पनि यो हलको निर्माण सम्पन्न भएपछि विश्वका धेरै मुलुकलाई सभा–सम्मेलनका लागि आकर्षित गर्न सकिने बताए।
उक्त मेगा हल १२ अर्बको लगानीमा निर्माण गर्न लागिएको हो। हलमा ग्रिन रुम, फुडकोर्ट, सार्वजनिक शौचालय, रेस्टुरेन्ट, सभाहल, प्रदर्शनी हललगायत रहनेछन्।
प्रकाशित: ८ असार २०७७ ०२:२९ सोमबार





