२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

धान फल्ने फाँट मकैबारीमा परिणत

तत्कालीन डिल्लीचौर गाविस र हालको पातारासी गाउँपालिका–४ तिर्खु ज्युलोमा कालीमार्सी धान रोपिन्थ्यो। गुणस्तरीय धान उत्पादन हुन्थ्यो। किसान जोश, जाँगरका साथ खेती गर्थे। तर दशकयता त्यो ज्युलोमा न धान झुलेको छ, न धान लगाउने प्रयत्न नै गरिएको छ। बरु धान फल्ने फाँटभरी मकै खेती गरिएको छ।  

धान अहिले हराइसकेको छ। धान खेतीमा किसान जाँगर चलाउँदैनन्  । कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै छ। धानमा मेहनत बढी र सो अनुसार उब्जनी नहुने भएकाले किसान मकैमा आकर्षित भएका हुन्। विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लाको पातारासी गाउँपालिकामै पर्छ। त्यो छुमचौर ज्युलो हो। तिर्खु ज्युलोमा धान रोप्दा छुमचौर ज्युलो पनि शोभनीय देखिन्थ्यो। अहिले यहाँ मार्सी धान लोप भइसकेको छ।  

यहाँका बासिन्दा चामल बजारको उपयोेग गर्छन्, धान लगाउने खेतमा मकै रोप्छन्। धान रोप्दा लगानी अनुसार उत्पादन नभएपछि मकै बालीमा लागेको किसान बताउँछन्। पहिले तिर्खु ज्युलोमा स्थानीय कालीमार्सीका बाला लटरम्म झुलेको देख्दा मन लोभिन्थ्यो, अहिले जौ, गहुँ र मकै बाली लगाइन्छ ।  

कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै छ। धानमा मेहनत बढी र सो अनुसार उब्जनी नहुने भएकाले किसान मकैमा आकर्षित भएका हुन्।

यहाँका दुई सय घरधुरीले रोप्ने तिखु ज्युलो अहिले मकैबारीमा परिणत भएको छ । धानखेतलाई चाहिने सिचाइँ कुलो पुरिएका छन्। किसान सिचाइँ कुलो बनाउने पक्षमा छैनन्, स्थानीय दलबहादुर बोहोराले भने, ‘धान फल्ने ज्युलोमा मकै लगाउनु किसानको रहर होइन, बाध्यता हो।’ मार्सी धानमा विभिन्न रोगको संक्रमण देखिएपछि किसान धानखेतीमा दिक्क भएको उनले बताए।

पहिले तिर्खु ज्युलोमा धान फल्थो भन्दा अहिलेको पुस्ताले पत्याउने अवस्था छैन्। बरु अनौठो मानेर हाँस्छन्। दलबहादुर भन्छन्, ‘कुनै बेला धान रोपाइँको दिन बाजागाजासहित सहभागी महिलाले चुट्किला र मागल गाउँदै एकआपसमा हिलो छ्यापाछ्याप गरेर धान रोप्थे। पुरुषले हलो जोत्ने बीउ फाल्ने काम र महिलाले रोप्ने चलन थियो। कालीमार्सी प्रजातिको धान रोपिथ्यो। अहिले मार्सीधानको एक बोट पनि देख्न कठिन भइसक्यो।’

‘नयाँ दुलही भि¥याउनेका घरमा चोपाइ गर्ने र सगुन बाँडीचुँडी खाने चलन थियो। अहिले त्यो दिन सम्झनामा मात्र रह्यो,’ अर्का स्थानीय ६५ वर्षका धनविर बोहोरा भन्छन्। तत्कालीन समयमा राजपरिवारदेखि ठूलाबडाले जुम्लाको कालीमार्सी धानको चामल खाने गरेको बताइन्छ।  

तिर्खु ज्युलोमा धान खेती जारी राख्न यहाँका बुद्धिजीवी र युवाले चासो देखाएका छन्। पुर्खाको अभ्यास जोगाउन पनि पुरानै धानखेती गर्नु आवश्यक रहेको युवा गणेश वोहोरा बताउँछन्। तर उनले अघि सारेको योजना गाउँलेले स्वीकार्दैनन्।  यहाँका धेरै जज्युला बाँझा थिए। केही ज्युलामा धानखेती भइरहेको छ। तर तिर्खु ज्युलोमा भने हुँदैन।  

सबैले यो ज्युलोबाट ५० देखि ६० बोरासम्म धान पाउने गरेको उनले स्मरण गरे। पातारासी गाउँपालिकाको छुमचौरलाई कालीमार्सी फल्ने ज्युलाको रुपमा चिनिन्छ।  

अग्लो स्थानमा धेरै परिश्रम गर्नुपर्ने घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएकोले धान रोप्न छाडेको स्थानीय महिलाको भनाइ छ। यो ज्युलोको ऐतिहासिक महŒवका आधारमा फेरि पनि मार्सीधान खेती गर्नुपर्ने कृषि क्षेत्रका सरोकारवाला बताउँछन्।

अहिले मार्सीधान खेती योजना पातारासी गाउँपालिकाले पनि प्राथमिकताका साथ अघि सारेको छ। धान लगाउने सिजनामा यहाँका सबैजसो परिवारका सदस्य पाटनमा जाने भएकोले धान खेती हुन नसकेको हो। त्यो भन्दा ठूलो समस्या बजारमा आयातित चामलका कारण ज्युलोमा धान उत्पादन गर्न छाडेको कृषिविज्ञ बताउँछन्। 

प्रकाशित: ७ असार २०७७ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App