coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लकडाउन प्रभाव : पोल्ट्रीमा बीस अर्बको नोक्सान

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न सरकारले देशभरि बन्दाबन्दी लागू गरेको आइतबार ९० दिन अर्थात् तीन महिना पुग्दैछ । बन्दाबन्दीको यो तीन महिनामा पोल्ट्री क्षेत्रमा करिब बीस अर्बको नोक्सान भएको दाबी गरिएको छ ।

पोल्ट्री व्यवसायीहरुको छाता संगठन नेपाल पोल्ट्री महासंघले बन्दाबन्दी सुरु भएको दुई सातापछि कृषि तथा पशुपन्छी मन्त्रालयमा राहतको माग गर्दै पेश गरेको ज्ञापनपत्रमा दैनिक २२ करोड रुपैयाँ नोक्सान हुने गरेको उल्लेख छ । यस हिसाबले बन्दाबन्दीका नब्बे दिनमा भएको नोक्सान रकम १९ अर्ब ८० करोड रुपैयाँ हुन आउँछ ।

पोल्ट्री महासंघले बन्दाबन्दी लागु हुँदाको बखत नेपालमा तीन करोड ५० लाख ब्रोइलर, एक करोड ४५ लाख लेयर्स र ६२ लाख ५० हजार माउ (प्यारेन्ट) कुखुरा रहेको जनाएको छ । महासंघका अनुसार तीन महिनाअघि दैनिक उत्पादन मासु नौ लाख ५० हजार किलो, अण्डा ५० लाख गोटा र चल्ला सात लाख १४ हजार वटा र दाना तीन हजार पाँच सय मेट्रिक टन थियो । बन्दाबन्दीको कारण सबैखाले पोल्ट्री उत्पादनमा ठूलो गिरावट आउँदा दैनिक २२ करोड रुपैयाँ नोक्सान भइरहेको महासंघको दाबी छ ।

चिन्तामा चितवन

बन्दाबन्दीको तीन महिनामा पोल्ट्री क्षेत्रले देशभर करिब २० अर्बको नोक्सान सहनु परेको भनिएको बेला चितवनमा सोही अवधिमा चार अर्ब २० करोड रुपैयाँ नोक्सान भएको दाबी यहाँका पोल्ट्री व्यवसायीले गरेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल चितवनमा तीन महिनाअघि दैनिक उत्पादन मासु एक लाख किलो, अण्डा १५ लाख गोटा रहेको बताउँछन् । उनका अनुसार चितवनमा विगतमा हप्तामा दुई लाख लेयर्स र १५ लाख ब्रोइलर एवं कलर ब्रोइलर चल्ला उत्पादन हुने गरेको थियो ।

‘बन्दाबन्दीले बर्बादै बनायो’ अध्यक्ष पौडेल भन्छन्, ‘उत्पादन मूल्य नै मासु दुई सय रुपैयाँ किलो, अण्डा ११ रुपैयाँ ५३ पैसा, लेयर्स चल्ला ९५ रुपैयाँ र ब्रोइलर चल्ला ५५ रुपैयाँ प्रतिगोटा पर्न आउँछ । यो सबै नोक्सान हिसाब गर्दा दैनिक सवा पाँच करोड हुन आउँछ ।’ बन्दाबन्दीले चितवनमा पारेको असरबारे गत वैशाखमा पशु सेवा विज्ञ केन्द्र भरतपुरमा जानकारी पत्र दिइएको उनले जानकारी दिए । पछिल्लो समयमा उत्पादन र खपतमा अलि सुधार आएको पौडेलको भनाइ छ ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट बन्दाबन्दीले ढाड सेकिएको पोल्ट्री क्षेत्रलाई राहत दिन सरकारले बन्दाबन्दी समाप्त भएको एक वर्षपछिसम्मको बैंक ब्याज मिनाहा गराउनु पर्ने बताउँछन् । पोल्ट्री क्षेत्रलाई उकास्न बैंकबाट स्वीकृत चालु पुँजी बराबर पुनर्कर्जाको व्यवस्था गरी बढीमा पाँच प्रतिशत ब्याजदर कायम गर्नुपर्ने आफूहरुको माग रहेको अध्यक्ष बिष्टले बताए । कुखुरापालक साना किसानलाई राहत दिन सरकारले एकपटकका लागि ब्रोइलर वा लेयर्स चल्ला अनुदानमा दिनुपर्ने उनको सुझाव छ ।

पोल्ट्रीमा लगानी डेढ अर्ब

कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा कुनै बेला चार प्रतिशतसम्म योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर मानिन्छ । देशभरमा पोल्ट्रीको ठूलो हिस्सा ओगटेको चितवन पोल्ट्रीको राजधानीका रुपमा परिचित छ । देशभर पोल्ट्री क्षेत्रमा भएको लगानी एक खर्ब ५० अर्ब रुपैयाँमध्ये ६० प्रतिशत चितवनमा छ । एक लाख ८० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

अण्डा, चल्ला, कुखुरा र दाना खरिद बिक्री गर्ने देशभरका एक हजार पोल्ट्री सप्लायर्समध्ये दुई सय चितवनमा छन् । कुखुरापालन क्षेत्रबाट देशभर करिब दुई लाख व्यक्तिले रोजगारी पाएका छन् । पोल्ट्री व्यवसायलाई व्यवस्थित गर्न र यो व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाबीच समन्वय गर्न चितवनमा नेपाल कुखुरा व्यवसायी मञ्च र नेपाल पोल्ट्री महासंघको केन्द्रीय कार्यालय स्थापना गरिएको छ ।  

मञ्च र महासंघमा नेपाल अण्डा उत्पादक संघ, नेपाल कुखुरा बजार व्यवस्थापन संघ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल दाना उद्योग संघ, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, कुखुरा मासु व्यवसायी संघ र चितवन नवलपुर दाना वितरक संघ आवद्ध छन् ।

प्रकाशित: ६ असार २०७७ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App