८ वैशाख २०८१ शनिबार
अर्थ

तातोपानी नाकाबाट एक अर्ब ६२ करोड मुल्यका स्वास्थ्य सामग्री भित्रिए

चीनबाट उत्तरको मुख्य तातोपानी नाका भएर पछिल्लो दुई महिनामा  एक अर्ब ६२ करोड रूपैयाँभन्दा बढी मुल्यका स्वास्थ्य सामग्री नेपाल आयात भएको छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक हेर्दा नाका भएर कोरोना नियन्त्रणका लागि अत्यावश्यक मानिने १४ किसिमका स्वास्थ्य सामग्री आयात भएको देखिएको छ । गत चैत अन्तिम साताबाट नाका सञ्चालनमा आएयता तातोपानी भएर हुँदै चीनबाट एक अर्ब ६२ करोड १२ लाख ९६ हजार रुपैयाँ मुल्यका स्वास्थ्य सामग्री आयात भएको भन्सारको तथ्यांक छ ।  

चीनमा कोरोना महामारी फैलिन थालेसंगै नाका सिल गर्दा तातोपानी माघदेखि बन्द हुन पुगेको थियो । नेपालमा कोरोना संक्रमण देखिन थालेपछि अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन सरकारले उत्तरका रसुवागढी र तातोपानी नाका खोल्ने निर्णय गरेको थियो । यो निर्णयसंगै चैत २६ गतेबाट नाका हुँदै स्वास्थ्य सामग्री आउन थालेका थिए । रसुवागढी नाका भने अझै सञ्चालनमा आउन सकेको छैन ।  

तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्री नाका चैत अन्तिम साता खुले पनि स्वास्थ्य सामग्री भने बैशाख दोस्रो सातादेखि निरन्तर आयात भइरहेको बताउँछन् । ‘कोरोना बिपद्मा तातोपानी नाकाले ठूलो योगदान दिइरहेको छ,’ उनले नागरिकसँग भने, ‘अभावमा पाँच सय परेको एन ९५ मास्क नाका खुलेपछि सय रुपैयाँमै पाउँदा खुशी लागेको छ ।’

निजी क्षेत्रले नाका भएर चीनबाट स्वास्थ्य सामग्री आयात गरिरहेको हो । नाकाबाट हालसम्म पिसिआर मेसिन, भिटिएम टेस्टिङ किट्स, भेन्टिलेटर, सेनिटाइजर, साधरण र एन ९५ मास्क तथा थर्मोमिटर, पिपिइ र पिपिइसँग सम्वन्धित अरु ६ प्रकारका सामग्री आयात भएको देखिन्छ ।  

नाकाबाट सबैभन्दा बढी ९४ करोड ८३ लाख रुपैयाँ मुल्यका पिपिइ सेट आयात भएका छन् । सेटमा १२ लाख ४८ हजार सात सय ७० थान पिपिइ, झण्डै दुई लाख २५ हजार थान गाउन, ३२ हजारवटा जुत्ता कभर, ५० हजारवटा हेड कभर, साढे ७१ हजार थान फेस सिल्ड, एक लाख ६ हजार पञ्जा र एक लाख ९८ हजारवटा चस्मा छन् ।  

४९ करोड ७१ रुपैयाँको मास्क मात्रै आयात भएको देखिन्छ । सामान्य माक्स ३३ लाख ६० हजार ६ सय र एन९५ मास्क १२ लाख ७१ वटा भित्रिएका छन् । भन्सारले सामान्य माक्सको २५ करोड ५९ लाख र एन९५ मास्को २४ करोड ११ लाख रूपैयाँ मुल्यांकन गरेको छ ।  

भन्सार तथ्यांक अनुसार १७ करोड ५९ लाख रुपैयाँ मुल्य बराबरका ४४ हजार थान थर्मोमिटर आयात भएको छ । त्यस्तै ६ करोड ५६ लाख मुल्यको दुईवटा पिसिआर मेसिनसहित ३३ हजार सात सयवटा भिटिएम किट्स, एक करोड सात लाखको तीन थान भेन्टिलेटर, सात करोड ४६ लाख ५० हजार मुल्य बराबरको ९१ हजार दुई सय लिटर सेनिटाइजर आयात भयो । दुई महिना बीचमा स्वास्थ्य सामग्री आयातबाट मात्रै भन्सारले झण्डै ११ करोड रुपैयाँ राजस्व प्राप्त गरेको प्रमुख खत्रीले जानकारी दिए ।  

प्रकाशित: ३० जेष्ठ २०७७ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App