२४ पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

धरानमा दिउँसो २ बजेसम्म बजार खुला

आवश्यक सुरक्षाको मापदण्ड अपनाउँदै धरानमा दिउँसो २ बजेसम्म बजार खुला गर्ने निर्णय भएको छ ।  

धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघबीच सहमति भएपछि आइतबारदेखि दिउँसो २ः०० बजेसम्म धरान बजार खुला भएको छ । उपमहानगरपालिकाले लकडाउनको मोडालिटी प्रस्तुत गर्न पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सोही समितिले दिएको प्रतिवेदनलाई केही संशोधन गर्दै बजार खुला गर्ने निर्णय गरेको हो । उपमहानगरपालिका र संघका पदाधिकारीबीच शनिबार भएको बैठकले प्रतिवेदनमाथि छलफल गर्दै दुई सिफ्ट गरेर बजार खुला गर्ने निर्णय गरिएको संघका अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए ।  

सापकोटाका अनुसार कुहिने खालका तरकारी, खाद्यान्न, माछा, मासुजन्य  पसलहरु बिहान ६ः०० बजेदेखि १०ः०० बजेसम्म खोल्न दिने सहमति बैठकमा भएको थियो । यस्तै, बिहान ९ बजेदेखि दिउँसो २ः०० बजेसम्म अन्य प्रकारका पसल खोल्न दिने सहमति भएको छ । पसल खोल्दा अनिवार्य सामाजिक दुरी कम्तीमा एक मिटर कायम गर्नुपर्ने, मास्क, सेनिटाइजर लगायतका सुरक्षाको मापदण्ड अपनाउनुपर्ने पनि निर्णय भएको छ । ‘तर सामाजिक दुरी कायम नहुने ब्युटीपार्लर, सैलुन, होटलहरु भने खोल्न नपाइने निर्णय भएको छ,’ अध्यक्ष सापकोटाले भने, ‘त्यो सहमति वमोजिम नै धरान बजार खुलेको हो ।’

सहमति वमोजिम ९ः०० बजेदेखि २ः०० बजेसम्म कपडा, हार्डवेयर, जुत्ताचप्पल, पुस्तक लगायत अन्य पसल खुलेको छ । बजार खुला भएपछि लकडाउनले सुनसान भएको बजारमा चहलपहल पनि बढेको छ । बैठकले बैंक तथा बित्तीय संस्थाहरु पनि हरेक दिन खोल्ने निर्णय गरिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन् ।  

यसअघि केही बैंकहरु दिन बिराएर मात्र खुल्ने गरेका थिए । वडा कार्यालय र नगरपालिका पनि सीमित कर्मचारी राखेर खुला हुनेछ । बैठकले सामाजिक दुरी कायम नहुने टेम्पो, अटोरिक्साहरु पनि सञ्चालन नगर्ने निर्णय गरिएको उनले बताइन् । ‘व्यवसायीबाट लकडाउनले मारमा प¥यौं भनेर धेरै कुरा आयो,’ उनले भनिन्, ‘जनजीवन विस्तारै सहज बनाउदै लैजानुपर्ने आवश्यकता भएकोले यो निर्णयमा पुगेका हौ ।’  

टेम्पो, सफारीलगायत सवारी साधन चल्न नदिने निर्णय भए पनि आइतबार भने निर्वाध रुपमा धरानभित्र चलेको थियो । पूर्वमेयर मेन्याङ्बो संयोजक रहेको समितिले भने बेलुकी ६ः०० बजेसम्म पसल खोल्न दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई बैठकले संशोधन गरेर दिउँसो २ः०० बजेसम्म मात्र कायम गरेको हो ।  

प्रतिवेदन अनुसार ब्युटी पार्लर, सैलुन, जिम हल, सिनेमा हल, होटल तथा लज, रेस्टुरेन्ट एन्ड बार, दोहोरी डान्स बार तथा ठेलामा राखेर बिक्री गरिने चटपटे, पानीपुरी तथा फास्टफुडका सामग्री अर्काे निर्णय नहुन्जेलसम्मका लागि खोल्न नदिने निर्णय गरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले जानकारी दिए ।

प्रकाशित: २५ जेष्ठ २०७७ १७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App