७ वैशाख २०८१ शुक्रबार
अर्थ

कोभिड–१९ विरुद्धको अभियानमा ताप्लेजुङका स्थानीय तहको २ करोड ६५ लाख बढी

ताप्लेजुङका स्थानीय तहले कोभिड–१९ का विरुद्धको अभियानमा क्वारेन्टिन निर्माण, व्यवस्थापन, राहत वितरण र स्वास्थ्य सामग्रीसहितको खरिदका लागि २ करोड ६५ लाख ५७ हजार ६६४ रुपैयाँ बराबर खर्च गरेका छन् ।  

खर्च भएको रकम मध्ये राहात वितरण तथा कोष व्यवस्थापनमा १ करोड ४२ लाख ५० हजार ७२५ र क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, खाना तथा स्वास्थ्य सामग्री, क्वारेन्टिनको शयनकक्ष व्यवस्थापनसहितमा १ करोड २३ लाख ६ हजार ९ सय ३९ रुपैंया खर्च भएको छ । अनावश्यक खर्च भएको भन्दै बिबाद बढेपछि यहाँको सिदिङ्वा गाउँपालिकाले भने कोभिड–१९ विरुद्धको अभियानमा अहिले सम्म भएको खर्चको सम्पूर्ण बिवरण कार्यालयको आधिकारिक फेसबुकपेजमार्फत सार्वजनिक गरेको छ ।  

सो अनुसार कोभिड–१९ विरुद्धको अभियानमा गाउँपालिकाले अहिले सम्म ६३ लाख ७९ हजार ९९७ रुपैयाँ खर्च भएको जनाएको छ । कुन सामग्री खरिद गर्दा कति खर्च भयो भनेर उसले सबै सामग्री र खरिद मूल्य समेत राखेर खर्च बिवरण सार्वजनिक गरेको छ । सिदिङ्वा गाउँपालिकाले राहतको सट्टा लकडाउनका कारण रोजगारी गुमेका परिवारलाई रोजगारी दिएको जनाएको छ ।  

७ वटा वडामा प्रतिवडा ३ लाख रुपैयाँका दरले २१ लाख रुपैयाँ उसले राहत बापत रोजगारी दिएर रकम वितरण गरेको थियो । गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङले यो रकम ६३ लाख भित्र नपरेको जानकारी दिए । दुबै जोड्ने हो भने सिदिङ्वाको खर्च ८४ लाख ७९ हजार ९९७ रुपैंया हुन आउने देखिन्छ । राहतको सट्टा रोजगारी दिएर खर्च गरेको बाहेक बाँकी ६३ लाख बराबरको खर्चलाई मात्र हेर्ने हो भने सिदिङ्वाले सबैभन्दा बढी रकम गाउँपालिका भित्रका प्रत्येक घरधुरीलाई डिटल साबुन, झिङ्गा मार्ने औषधि, सेनिटाईजर,हात धुने साबुन र स्वयंसेवकलाई प्रति दिन ५०० रुपैयाँका दरले भत्ता बितरणमा खर्चिएको देखिन्छ । यो शीर्षकमा ४८ लाख ७६९ रुपैयाँ खर्च भएको देखाइएको छ ।  

क्वारेन्टिन निर्माण तथा सञ्चालन कार्यमा फुङ्लिङ नगरपालिकाले १ लाख ८६ हजार ७००, पाथीभरा याङ्वरक गाउँपालिकाले १९ लाख ४९ हजार ३८९, सिरिजङ्घा गाउँपालिकाले २ लाख ८५ हजार ५० र आठराई त्रिबेणी गाउँपालिकाले ११ लाख ६८ हजार ८२८ रुपैयाँ खर्च गरेका छन् । मैवाखोला गाउँपालिकाले ६ लाख ५५ हजार, मेरिङ्देन गाउँपालिकाले ७ लाख ९९ हजार ६८८ रुपैयाँ, मिक्वाखोला गाउँपालिकाले ५ लाख १८ हजार २९५ र फक्ताङ्लुङ गाउँपालिकाले ३ लाख ६४ हजार रुपैयाँ खर्च भएको जनाएका छन् । ९ स्थानीय तह मध्ये फुङ्लिङ नगरपालिका तथा मैवाखोला र मिक्वाखोला गाउँपालिका क्वारेन्टिनमा मान्छे राख्न हिच्किचाउनेमा पर्छन् ।  

राहात वितरणमा फुङ्लिङ नगरपालिकाले ३० लाख ४२ हजार १३० रुपैयाँ, पाथीभरा याङ्वरक गाउँपालिकाले १९ लाख ६१ हजार १८४ रुपैयाँ, सिरिजङ्जा गाउँपालिकाले ३५ लाख ६२ हजार ५०० रुपैयाँ र मेरिङ्देन गाउँपालिकाले १९ लाख ६९ हजार ६४४ रुपैयाँ खर्च गरेका छन् । यस्तै मिक्वाखोला गाउँपालिकाले १५ लाख १५ हजार २६७ र फक्ताङ्लुङ गाउँपालिकाले २२ लाख रुपैयाँ खर्च गरेको बिवरण जिल्ला समन्वय समितिमा पठाएका छन् । सिदिङ्वा गाउँपालिका बाहेक यो खर्च बिवरण बैशाख २४ गते सम्मको मात्र हो ।  

राहतको सट्टा रोजगारी दिएको सिदिङ्वा गाउँपालिकाले दाताबाट आएको सहयोग खर्चिएर ८९ परिवारलाई सहयोग गरेको जनाएको छ भने मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाले अहिले सम्म राहतका लागि खर्चिएको खर्च बिवरण पठाएका छैनन् । फुङ्लिङ नगरपालिकाले २ हजार ६४ परिवारलाई,पाथीभरा याङ्वरकले ९ सय ६० लाई, सिरिजङ्घाले १ हजार परिवारलाई, मिक्वाखोलाले पहिलो चरणमा ९२ परिवारलाई र फक्ताङ्लुङले ७ सय ८८ परिवारलाई राहत वितरण गरेको बिवरण जिल्ला समन्वय समितिमा पठाएका छन् ।  

 

 

 

प्रकाशित: १९ जेष्ठ २०७७ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App