१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

यस्तो छ सलह नियन्त्रण गर्ने सरकारी तयारी

भारतमा सलह किराको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर सरकारले नियन्त्रणको लागि तयारी सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह आउन सक्ने सम्भावना आकलन गर्दै प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको अध्यक्षतामा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको छ ।  

समितिका अध्यक्ष हुमागाईं सलह आउँछ नै भन्ने नभए पनि छिमेकी मुलुकका धेरै ठाउँमा आइसकेकोले तयारी अवस्थामा रहनुपरेको बताउँछन् । ‘सलह सन् १९६२ मा पहिलोपटक नेपालमा आएको र काठमाडौं उपत्यका लगायत क्षेत्रमा ठु्लो विनाश गरेको भनिन्छ, तर अहिलेको सन्दर्भमा हाम्रो लागि नयाँ कुरा हो,’ उनले भने, ‘भारत लगायत मुलुकमा यसको नियन्त्रणका लागि के अभ्यास भएका छन्, तिनको विश्लेषण गरिरहेका छौं ।’  

सरकार आफूसँग भएको स्रोत र साधन प्रयोग गरेर सम्भावित खतरा टार्न प्रयासरत रहेको उनले बताए । भारतको राजस्थान हुँदै मध्य प्रदेशसम्म आएको र आँधीको बहावसँगै हिँड्ने हुँदा आँधी पूर्व मोडिएकोले नेपाललाई जोखिम क्षेत्रको रुपमा हेरिएको उनको भनाइ छ ।

उनले तत्काललाई त्यसबाहेक सम्भावना आकलन गर्ने अन्य धेरै आधार नभेटिएको बताए । सलहको लागि नेपालको वातावरण सहज नभएको उनी दाबी गर्छन् । ‘यसलाई जीवनचक्र पूरा गर्न सुक्खा मरुभूमि आवश्यक पर्छ, जुन नेपालमा सम्भव छैन,’ उनले भने, ‘एक दिनमा पाँच सय किलोमिटर उड्ने यो किरा आएको अवस्थामा पनि यो देशभर नफैलिएर कुनै निश्चत भूभागमा सीमित हुन सक्छ ।’  

उनले भारतमा सहलको बथान फुटेको भन्ने जानकारी आएकोले सबै नआउने सम्भावना देखिएको बताए । उनले भने, ‘राजस्थानमा देखिएको बथान साढे दुई किलोमिटर चौडा र तीन सय किलोमिटर लामो भएको पाइएको छ, अन्यत्र जाँदा बथान फुटेको भनिएकोले कम हुन सक्छ ।’

उनले यही अवस्थामा सलह आए मकै, धान, तरकारी, फलफूल र घाँस सखाप पार्ने बताए । उनी भन्छन्, ‘हामीले नियन्त्रणका लागि आवश्यक विषादी सिफारिस पनि गरेका छौं, हामीसँग विषादी स्टक भएकोले अभाव नहोला ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी भारतमा यसअघि आउँदा जुलाई महिनातिर आउने गरे पनि अहिले अगाडि नै आएको र पूर्वी क्षेत्रमा हिँडिरहेकोले नेपाल तयारी अवस्थामा रहनुपर्ने बताउँछन् । ‘हामीले अहिले जोखिम विश्लेषण गरिरहेका छौं । धेरै देशमा विषादी छर्न ड्रोनदेखि हेलिकोप्टरसम्म प्रयोग गरेको भनिएको छ । त्यो अभ्यास ती मुलुकमा सफल पनि देखिन्न, जुन हाम्रोमा सम्भव पनि छैन,’ उनले भने, ‘अहिले विषादीभन्दा बढी अन्य सर्तकतामा उपाय अवलम्बन गर्न सकिने विकल्पमा छलफल हुँदैछ ।’

प्रवक्ता केसीले भण्डारण गर्न सकिने जति तत्काल भण्डारण गर्ने, ड्रम लगायत सामग्रीले बजाएर धपाउने र सानो क्षेत्रमा भएका बालीलाई ढाक छोप गर्न सक्ने विकल्पसम्म गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘विषादी नै प्रयोग गर्नुपर्ने अवस्थामा पनि हामीसँग विषादी छ । तत्काल आयात गर्न पनि सकिन्छ । तर हाम्रो पनि पहिलो अनुभव भएकोले कसरी सजग रहने भनेर सचेतना फैलाउने कार्यक्रम नै पहिलो प्राथमिकता हो ।’

प्रकाशित: १८ जेष्ठ २०७७ १६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App