७ वैशाख २०८१ शुक्रबार
अर्थ

उत्साह जगाउदै ६३५ मेगावाटको दुधकोशी जलविद्युत आयोजना

बहुचर्चित दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणस्थल । तस्बिरः दमन/नागरिक

नेपाल सरकारले नयाँ बजेट भाषणमार्फत ६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीयमा उत्साह जगाएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको कामलाई चार अन्र्तराष्ट्रिय वित्तीय संस्थाको सम्मिश्रित वित्त लगानी विधिमा निर्माण सुरु गर्ने बताएपछि स्थानीयमा उत्साह जनाएको आयोजना सहयोग तथा सरोकार समितिका अध्यक्ष रमेश पौडेलले बताए । ‘खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जनताको भाग्य र भविष्यको कायलपट गर्ने राष्ट्रिय गौरवको आयोजना यस आर्थिक वर्षबाट सुरु हुने घोषणाले खुसी ल्याएको छ,’ सहयोग तथा सरोकार समितिका अध्यक्ष पौडेलले भने, ‘यस आयोजनाका लागि पहल गर्ने तीन वटै जिल्लाका सांसद, जनप्रतिनिधि, नेता, कर्मचारी सबैप्रति हार्दिक नमन छ । आयोजना सम्पन्न गर्न हाम्रो निरन्तर साथ, सहयोग र दवाव रहने छ ।’  

नेपाल विद्युत प्राधिकरणले पहिलो पटक संस्थागत जमानीमा दुधकोसीमा लागतको निश्चित अंश बाह्य लगानी परिचालन गर्ने बजेट वक्तव्यमा उल्लेख छ । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को निती तथा कार्यक्रमले दुधकोसीको थप कामका लागि सुनिश्चितता गरेको बताएका छन् । भट्टराईले माथिल्लो सगरमाथाका तीन जिल्लाका जनता र सिंगो मुलुकका लागि लाभ दिने आयोजनाको निर्माणमा एकजुट भएर सहयोग गर्न सामाजिक सञ्जालबाटै आग्रह गरेका छन् ।  

लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढिरहेको छ । मुख्या विद्युतगृहबाट ६०० र ड्याममै बनाइने विद्युतगृहबाट ३५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ काम भइरहेको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । भ्याटसहित करिब २.२ विलियन यूएसडलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ ।

बहुचर्चित दुधकोसी आयोजनाका लागि लगानी जुटाउन अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणले लगानी गर्न इच्छुक एसियाली विकास बैंक (एडिबि), युरोपेली लगानी बैंक (इआइबी), एसियाली पुर्वाधार लगानी बैंक (एआइआइबी) र कोरियाली एक्जिम बैंकका प्रतिनिधिसँग जेठ २ गते प्रारम्भिक भर्जुअल बैठक गरेका थिए । १९८५ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाकारुपमा पहिचान गरेको तथा २०१३ सालमा जाईकाले नै दोश्रो पटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट बार्षिक तीन अर्व ४४ करोड ३० युनिट उर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ । गत पुस २२ गते उर्जामन्त्री वर्षमान पुनसँगै आयोजना निर्माणस्थल निरिक्षणमा खोटाङ पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लागत र उर्जा उत्पादनका आधारमा दुधकोशी तुलनात्मकरुपमा अन्य आयोजनाभन्दा सस्तो र आकर्षक आयोजना हुने बताएका थिए ।  

जलबिद्युत आयोजनाका लागि बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ बर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ बर्ग मिटर र सोलुखुम्बुको १ लाख ७१ हजार ४ बर्ग मिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बुका १४ धुरी गरी कुल १ हजार १५० घर धुरी डुवानबाट प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिबेदनमा देखिएको छ । पूर्णप्रभावित १६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बुका २ घर पूर्णरुपमा डुवानमा पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आयोजनाका लागि ड्याम बनाउदा दुधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने प्रतिबेदनमा भनिएको छ ।  

 

 

प्रकाशित: १७ जेष्ठ २०७७ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App