६ वैशाख २०८१ बिहीबार
अर्थ

सुनकोसी मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब

छिट्टै टेण्डर गर्ने तयारी

सुनकोसी, मरिन। तस्विर: अनिल भण्डारी/सिन्धुली

राष्ट्रिय गौरबको आयोजना सुनकोसी मरिन डाइभर्सनको टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार लक डाउनको समयमा समेत आन्तरिक काम नरोकिएकाले अब छिट्टै टेण्डर खोल्ने तयारी भएको छ।  

सरकारले आयोजना निर्माणका लागि साढे दुई अर्ब बजेट बिनियोजन गरेको छ। आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि अर्थमन्त्री युवराज खतिवडाले सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेपछि स्थानिय समेत उत्साहित भएका छन्। आयोजना प्रमुख सुशिलचन्द्र आचार्यका अनुसार डाइभर्सनका लागि सुनकोसीको बाध स्थलमा पर्ने सिन्धुली अन्र्तगतको जग्गाको मुल्याङकन भइसकेको छ भने रामेछापको समेत अन्तिम तयारी भइसकेको छ।  

लकडाउनले हामी सिन्धुली आएर छलफल गर्न सकेका छैनौ, उनले भने, आन्तरिक तयारी भइरहेको छ, अब छिट्टै टेण्डर आह्वान गर्छौ। आयोजनाको भौतिक संरचना निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्ने प्रक्रिया अनुसार सिन्धुलीको कुसुमटार क्षेत्रका ५० जना स्थानियलाई मुआब्जा दिई जग्गा अधिग्रहण गर्ने कार्य समेत भइसकेको छ भने ड्याम क्षेत्रमा पर्ने डुबान हुने जग्गाको मुआब्जा दिने तयारी भएको हो।

सुनकोसी गाँउपालिकाको वडा नं. ७ को सुनकोसी नदीमा १२ मिटर उचाईको बाध बाधि ६७ क्युविक प्रति सेकेन्ड पानी १३ दशमलव १ किलोमिटर सुरुङगको माध्यमबाट कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने यो आयोजनाले प्रमुख लक्ष्य रहेको छ। आयोजनाबाट सुनकोशीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने र त्यसबाट साढे २८ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख आचार्यले जनाए। विद्युत आयोजनाको पावर हाउस भने कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटार फाँटमै रहनेछ।

तराईका विभिन्न जिल्लालाई सिचाईको सुविधा पु¥याउन सरकारले यो आयोजनालाई बहुउदेश्य आयोजनाका रुपमा अगाडी बढाएको हो। तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पु¥याउने यो आयोजनाको प्रमुख उद्देश्य हो, आयोजना प्रमुख आचार्यले भने, सुनकोशीको पानी डाइभर्सन पछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिका–२ कुुसुमटार फाँटमै खसालिने छ। उक्त फाटबाट मरिण नदी हुदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पानी पु¥याई सिचाईको सुविधा बढाउने लक्ष्य सरकारको छ। हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ भने सुनकोशी–मरिन–डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने देखिएको छ।  करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको  आयोजनाले जनाएको छ भने हाल बाँधस्थलको डिजाइन तथा जग्गा अधिग्रहणको काम भइरहेको छ।  

आयोजना निर्माणको क्रममा बीपी राजमार्गको ९ सय ५० मिटर सडक डुबानमा पर्ने आयोजनाले जनाएको छ।  आयोजनाको ड्याम क्षेत्रमा विपी राजमार्ग डुबाउन हुने देखिएको छ।  यस्तै खुर्कोट मन्थली सडक ३० मिटर डुबानमा पर्ने देखिएको छ भने एक हजार पाँच सय ८८ मिटर ग्रामिण सडक समेत प्रभावित हुने छ।  आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत नै खनिने सरकारले जनाएको छ। 

प्रकाशित: १७ जेष्ठ २०७७ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App