coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बजेटमा मेलम्ची खानेपानी आयोजना

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी उपत्यकावासीलाई खुवाउने बाचा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा दुई दशकदेखिको सपना मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिइएको छ । चालु वर्षमा आयोजनाको बाँकी काम सम्पन्न गरी नयाँ आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी वितरण गरिने उनले बताए ।  

आयोजना अन्तिम चरणमा पुगे पनि अर्थमन्त्री डा. खतिवडाको बाचा झैँ साउन सुरुदेखि नै मेलम्ची पानी उपत्यकावासीको घर–घर पुग्न सम्भव देखिँदैन । तर बीचमा कुनै व्यवधान उत्पन्न नभए साउनभित्र मेलम्ची पानी सुन्दरीजल झर्नेमा भने अब धेरै शंका गरिरहनु पर्दैन । कोरोना भाइरसले निम्त्याएका केही प्राविधिक समस्या सल्टिए असारदेखि सुरुङमार्ग परीक्षण गर्ने आयोजनाको तयारी छ ।  

परीक्षण गर्न मेलम्ची खोलो सुरुङमा प्रवेश गराइने छ । ‘सुरुङ परीक्षण गर्न ४५ देखि ६० दिन लाग्ने अनुमान गरिएको छ,’ आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नागरिकसँग भने । उनका अनुसार मुहानस्थल अम्बाथानबाट पानी छिराएर सुन्दरीजल झारेपछि पुनः सुरुङ खाली गराएर प्राविधिक अनुगमन गर्नुपर्ने हुन्छ । अनुगमनका क्रममा त्रुटी फेला परे परीक्षण सयम अझै लम्बिन सक्ने छ ।  

असारदेखि परीक्षण थाल्न त्यसअघि आयोजनाले सुरुङमार्ग र मुहान क्षेत्रका (पक्की इन्टेक) बाहेक सबै काम सक्नु पर्ने हुन्छ । ठूला भौतिक काम बाँकी नभए पनि स–साना प्राविधिक काम अझै धेरै बाँकी छन् । सुरुङको फाइलन फिनिसिङ (ढलान) भने सकिएको छ । भेन्टिलेसन, हाइइ«ो मेकानिकल र सुरुङमा उपकरण जडानको काम बाँकी नै छन् । ती काम धमाधम भइरहेको प्रवक्ता पन्त बताउँछन् ।  

आयोजनाका अनुसार हाइड्रो मेकानिकल अन्तर्गत सुरुङका चार अडिटमार्ग गेट राखेर थुन्ने काम भइरहेको छ । अम्बाथान अडिटमा गेट राख्ने काम सकिएको छ भने ग्याल्थुममा अन्तिम चरणमा पुगेको छ । सुन्दरीजल र सिन्धु अडिट थुन्ने काम भइरहेको छ । त्यस्तै सुरुङभित्रबाट हावाको चाप बाहिर पठाउन भेन्टिलेसन (प्वाल) खोप्ने काम पनि भइरहेको छ । सुरुङका सबै प्राविधिक काम जेठभित्र सक्ने लक्ष्यसाथ काम भइरहेको प्रवक्ता पन्तले जानकारी दिए ।  

उनका अनुसार हाइड्रो मेकानिकल, भेन्टिलेसन र उपकरण जडान सकिएपछि सुरुमा तिन्को परीक्षण हुन्छ । यसका लागि भारत र स्पेनबाट बिज्ञ झिकाउनु पर्ने हुन्छ । ‘कोरोना महामारीबीच बिदेशबाट बिज्ञ झिकाउने काम चुनौतीपूर्ण छ,’ पन्तले भने । बिकल्पमा स्वदेशभित्रै विद्युत प्राधिकरण लगायत निकायबाट बिज्ञ खोजी गर्ने विषयमा आयोजनाले छलफल चलाइ रहेको उनले जानकारी दिए ।  

बजेटले निर्धारण गरेकै लक्ष्यमा उपत्यकावासीलाई मेलम्ची पानी वितरण गर्ने गरी काम गरिरहेको आयोजनाको दाबी छ । ‘तर परीक्षणले कति समय लिन्छ त्यसैमा भर पर्छ,’ प्रवक्ता पन्तले भने । उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखेर २०५५ बाट मेलम्ची आयोजना अघि बढाइएको थियो । २०६४ मै उपत्यकामा मेलम्ची झार्ने लक्ष्य सरकारले राखेको थियो । त्यसयता सरकारले दर्जन पटक भाका फेरिसकेको छ । ठेकेदार कम्पनी पनि तीनवटा फेरिइसकेका छन् ।  

इन्टेकसहित साढे २६ किम सुरुङको बाँकी काम चिनियाँ ठेकेदार कम्पनी कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । कोरोना महामारी र लकडाउनको बीच पनि आयोजनाको काम भने रोकिएको छैन । आयोजनास्थलमा दैनिक तीन सय कामदार परिचालित छन् । पवक्ता पन्त कोरोनाले असहजस्थिति पैदा गरे पनि राष्ट्रिय गौरवको आयोजना मेलम्चीलाई अहिलेसम्म असर नपुर्‍याएको बताउँछन् । गत चैतमा आयोजनाको स्थलगत अबलोकन गर्दै खानेपानीमन्त्री बिना मगरले आगामी दसैँसम्ममा मेलम्ची पानी खुवाउने बाचा गरेकी थिइन् ।

लार्के, याङ्ग्रीलाई साढे ५ अर्ब
सरकारले बजेटमार्फत मेलम्ची आयोजनाको दोस्रो चरणको काम गर्न ५ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन गरेको छ । मेलम्ची उपत्यकामा पुर्‍याएपछि दोस्रो चरणमा एउटै सुरुङमार्फत लार्के र याङ्ग्री खोलाको पानी लैजाने सरकारको दीर्घकालीन योजना रहेको छ । दोस्रो चरणको प्रारम्भिक काम सुरु भइसकेको आयोजनाले जनाएको छ ।  

पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्ने लार्के र याङ्ग्रीसम्म पुग्ने पहूँचमार्ग निर्माण, जग्गा अधिग्रहण र क्षतिपूर्ति वितरणको काम भइरहेको प्रवक्ता पन्तले बताए । बिनियोजित बजेटले बाँकी रहेका प्रारम्भिक काम अघि बढ्ने उनले जनाए । लार्के र याङ्गीबाट मेलम्ची सुरुङमा १७/१७ करोड लिटर पानी थपिएपछि उपत्यकामा दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुनेछ ।  

 

प्रकाशित: १७ जेष्ठ २०७७ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App