६ वैशाख २०८१ बिहीबार
अर्थ

रासायनिक मल नपाएको किसानको गुनासो

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका किसानले मल नपाएको गुनासो गरेका छन् । साविकको चिसापानी–४ का किसानले अन्नबाली लगाए पनि हालसम्म किन्नका लागि समेत रासायनिक मल नपाइएको गुनासो गरेका हुन् । बिहिबार भएको किसानको भेलाले तत्काल बजारमा मल उपलव्ध गराउने वाताबरणका लागि गाउँपालिका समक्ष माग गर्ने निर्णय गरेका छन् ।  

जारी लकडाउनका कारण स्थानीय व्यवसायीले मल ढुवानी गर्न नसक्दा बजारमा मलको अभाव भएको जन्तेढुंगा गाउँपालिकास्थित कांग्रेसका छायाँ सरकार प्रमुख खेमबहादुर खड्काले बताए । ‘गाउँपालिकाले गत वर्षदेखि नै अनुदानको मल दिएको छैन । किसानले बजारमा पुगेर आफै मल किनेर प्रयोग गर्दैआएका थिए,’ खड्काले भने, ‘यसपल्ट लकडाउनले गर्दा व्यवसायीले बजारमा मल ल्याउन सकेको छैन । बजारमा मल छैन । कम्तीमा बजारमा जाँदा मल किन्न पाइयोस् भन्ने किसानको माग छ ।’  

चिसापानीका किसानले जताततै फैलिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि गाउँपालिका समक्ष गुहार माग्ने निर्णय गरेको छ । अनियान्त्रितरुपमा फैलिएको फौजी किराले मकै, धान लगायतका बालीनाली सखाप पारेको भन्दै नियन्त्रणका लागि गाउँपालिका समक्ष सहयोगको याचना गरेको हो । फौजी किरा जन्तेढुंगा गाउँपालिकाका अधिकांश स्थानमा फैलिएको किसानको भनाई छ । फौजी किराले प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गर्ने गरेको छ । अन्नबाली नष्ट हुँदा उत्पादन घट्ने र भोकमरी लाग्नेमा किसान चिन्तित छन् ।  

जन्तेढुंगा गाउँपालिकाकी उपाध्यक्ष बिमला राईले भने रासायनिक मललाई कम गर्दै अर्गानिक खेतीमा जोड दिने योजना बनाइएको बताईन् । ‘बजारमा मल छन् की छैनन् भन्ने बारेमा अनुगमन नगरी भन्न सकिन्न,’ उपाध्यक्ष राईले भनिन्, ‘तर केही समयअघिको कृषि शाखाको बैठकमा अर्गानिक खेतीलाई प्राथमिकता दिने योजना बनाइएको छ ।’  

प्रकाशित: १६ जेष्ठ २०७७ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App