४ वैशाख २०८१ मंगलबार
अर्थ

सुर्खेतमा निर्वाध गैरखाद्य सामग्री आयात

वैशाख २९ गते प्रदेश विपद् व्यवस्थापन केन्द्रले ‘स्वास्थ्य उपकरण, औषधि तथा औषधिजन्य, कृषि तथा पशुपालनका लागि अत्यावश्यक सामग्री, निर्माण तथा खाद्य सामग्री र पेट्रोलियम पदार्थसँगै पाठ्यपुस्तक, पाठ्यसामग्री र स्टेशनरी प्रदेश सीमाबाट सुरक्षितरूपमा प्रवेश हुन दिने तथा आन्तरिक ढुवानीको व्यवस्था मिलाउने’ निर्णय गर्‍यो । 

यसभन्दा अघि सरकार र स्वयम् उक्त केन्द्रले अत्यावश्यक सामग्रीबाहेक अन्य सामग्री बोकेका गाडी भित्रिन नदिने निर्णय गर्‍यो । तर उक्त निर्णयलाई लत्याउँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गैरखाद्य वस्तु (मदिरा तथा सुर्तीजन्य पदार्थ) भित्रिने गरेका छन् ।

खाद्यान्न तथा खुर्सानीको बीचमा राखेर निर्वाधरूपमा गैरखाद्य वस्तु मादक तथा सुर्तीजन्य पदार्थ भित्रिने गरेका छन् । प्रहरीको चेकजाँच प्रभावकारी नहुँदा त्यस्ता सामान ढुवानी गरेका गाडी सहजै भित्रिने गरेका छन् । कतिपयले भने प्रहरीकै मिलोमतोमा गैरखाद्य वस्तु बोकेका सवारी साधन सुर्खेतमा प्रवेश गर्ने गरेको आरोप लगाएका छन् । यो विषयमा कर्णाली प्रदेशसभामा समेत प्रवेश गरेको छ । कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको पहिलो र दोस्रो बैठकमा बोल्ने सांसदहरूले मादक तथा सुर्तीजन्य पदार्थ सुर्खेतमा निर्वाध भित्रिरहेको र सरकार बेखबर भएको बताएका छन् ।

यसरी सेटिङमा अत्यावश्यकबाहेकका सामग्री प्रवेश गर्नु दिनु सरकारको निर्णय उल्लंघन भएको भन्दै सांसदहरूले विरोध जनाएका छन् । संसद् बोल्दै नेपाकका सांसद यमलाल कँडेलले सेटिङ मिलाएका त्यस्ता गाडी निर्वाध आउने गरेको र सेटिङ नमिलेका गाडी सीमा क्षेत्रमै रोकिने गरेको बताए । ‘सडकमा मान्छे निर्वाध हिँड्न पाउँदैनन्,’ उनले भने, ‘तर गाडी गुड्छन् ।’ ‘यस्तो विषयमा के सरकार सूचनाबाट अभाव होला,’ सरकारलाई प्रश्न गर्दै उनी भन्छन्, ‘विल्कुलै छैन ।’ यस्तै सांसद दिनबन्धु श्रेष्ठ पनि गैरखाद्य वस्तु भित्रिँदा पनि सरकार, प्रहरी बेखबर हुनु दुःखद् भएको बताए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिकजसो गैरखाद्य (मदिरा र सुर्तीजन्य पदार्थ) भित्रिरहेका छन् । सीमा प्रहरी भए पनि त्यस्ता गाडी भित्रिनु प्रहरीको संलग्नता हुन सक्ने स्थानीयको आशंका छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले गर्ने बजेट भाषणपछि बजारको मूल्य बढ्न सक्ने भन्दै व्यापारीले बुटवल, नेपालगन्जलगायतका जिल्लाबाट सामान भित्र्याउने गरेका छन् ।  

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सबैभन्दा बढी मदिरा र सुर्तीजन्य पदार्थको व्यापार धेरै हुने गरेको छ । बन्दाबन्दी (लकडाउन) को समयमा मान्छे फुर्सदमा हुने हुँदा पनि मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको हो । ‘लकडाउनभन्दा अघिको भन्दा बढी व्यापार हुन्छ,’ एक मदिरा व्यवसायीले भने, ‘मूल्य पनि त्यसरी नै बढ्दै गएको छ ।’ मदिराको २५ देखि ५० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ भने सुर्तीजन्य पदार्थमा तेब्बरले मूल्य आकासिएको उनको भनाइ छ ।

‘यतिबेला मदिरा र सुर्तीजन्य पदार्थ मागअनुसार पुर्‍याउन सकिएको छैन,’ उनी भन्छन्, ‘ठूला व्यापारी सामान लुकाएकाले समस्या भएको छ ।’ ‘सबैलाई इजाजत छ ? छ त कसरलाई ? छनोट हुन्छ कसरी,’ सरकारलाई प्रश्न गर्दै उनले भने, ‘सरकारसँग सडकमा हुनेहरूले व्यापार गरिरहेका छन् ।’ ‘आक्कल झुक्कल भए प्रहरीले देखन भन्नु,’ उनी भन्छन्, ‘सडकमा यत्रतत्र गाडी गुड्छन् ।’ सामाजिक र आर्थिक विसंगती फैलिएकाले त्यसलाई नियन्त्रण गर्नपर्ने उनको भनाइ छ ।

वीरेन्द्रनगरका पसल बन्द भनिए पनि लुकीछिपी व्यापारीले मदिरा बिक्री गर्ने गरेका छन् । यसमा प्रहरी मौन बसेको छ । खाद्यान्न पसल पनि तोकिएको समयभन्दा अन्य समयमा लुकीछिपी खुल्ने गरेका छन् । संसद्मा अन्य सांसदहरूले पनि गैरखाद्य वस्तु ओसारपसार र बिक्री वितरण भइरहेको भन्दै विरोध जनाएका थिए । जसले कोरोना भाइरसको जोखिम बढ्ने नागरिक समाजका सुरेश केसीले जनाए । ‘लकडाउनका पूर्ण पालना गराउनु पर्छ,’ उनले भने, ‘लुकीछिपी व्यापार गर्ने र गैरखाद्य वस्तु भित्रिन नदिन कडाइ गर्न जरुरी छ ।’

केही दिनअघि ना३ख ६९२१ नम्बरको ट्रकमा ल्याएको गुट्खा प्रहरीले नियन्त्रणमा लिएको थियो । बुटवलबाट सुर्खेतको कोशेली जनरल स्टोर्सले लुकाइ छिपाइ उक्त गुट्खा ल्याएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित: १४ जेष्ठ २०७७ ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App