जन्मदेखि नै गम्भीर स्वास्थ्य चुनौती झेल्दै आएकी भक्तपुरकी प्रिता बल्ल नेपाली साहित्य र जीवनसंघर्षको प्रेरणादायी प्रतीक बनेकी छिन्। अनुशीलन नेपालको आयोजनामा सम्पन्न ‘व्यक्तित्व र कृतित्व परिचर्चा कार्यक्रम’मा उनका दुई कृति अविचलित पाइला र एकालाप ऋतुहरूमाथि विद्वानहरूले गहन विमर्श गर्दै प्रिताको संघर्ष र सिर्जनालाई मुक्तकण्ठले प्रशंसा गरे।
मस्तिष्कपक्षघातका कारण शारीरिक रूपमा पूर्ण अपाङ्ग भए पनि प्रिताले ह्विलचियरमै बसेर दुई महत्वपूर्ण कृति सिर्जना गरेकी छन्। कविता सङ्ग्रह एकालाप ऋतुहरू र आत्मसंघर्ष झल्काउने अविचलित पाइला मात्र होइन, उनले मानविकी संकायबाट स्नातक तहसमेत उत्तीर्ण गरी उदाहरणीय उपलब्धि हासिल गरेकी छन्। भक्तपुर नगरपालिका वडा नं. ३, तेखापुखू निवासी प्रिता दैनिक जीवनमा घरभित्रै सीमित रहनुपर्ने अवस्थामा छन्। ह्विलचियरको सहायताबिना उनी हिँडडुल गर्न सक्दिनन् भने हातखुट्टा चलाउन नसक्ने भएकाले लेखनमा समेत ठूलो चुनौती छ।
तर, यी सबै सीमाहरू उनका संकल्पका अगाडि कमजोर सावित भए। उनले खुट्टाको सहायताले मोबाइलमा टाइप गर्दै आफ्ना कृतिहरू तयार पारिन् भने दोभाषेको प्रयोगमार्फत स्नातक तह पूरा गरिन्।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. हिरण्यलाल ज्ञवाली, भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख डा. कविता लुइटेल, विराट नेपाल भाषा गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यसहित वरिष्ठ साहित्यकार र पत्रकारहरूले प्रिताको साहस, लगनशीलता र साहित्यिक योगदानको उच्च मूल्याङ्कन गरे।
नवोदित लेखक प्रिता बल्लको ‘व्यक्तित्व र कृतित्व परिचर्चा कार्यक्रम’मा ध्रुवप्रसाद बल्ल, अनुशीलन नेपालका अध्यक्ष जीवननाथ अधिकारीलगायतले पनि उनको व्यक्तित्व र संघर्षको प्रशंसा गरे। कार्यक्रममा प्रिताका दुवै कृतिमाथि चार जना विद्वानहरूले समालोचनात्मक चर्चा प्रस्तुत गरेका थिए। निष्ठा बल्ल र नारायण झाले प्रिताको अन्तरङ्ग परिचय गराए भने वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी र भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरेले एकालाप ऋतुहरूमाथि चर्चा गरे।
त्यसैगरी चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल र लेखक दीपक नेपालले अविचलित पाइलामाथि विस्तृत विमर्श गरे।
प्रिताले २०५२ सालदेखि विभिन्न पुनःस्थापना केन्द्र र विशेष विद्यालयमा अध्ययन गर्दै २०७६ सालमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्। त्यसपछि ख्वप कलेज, देकोचा भक्तपुरबाट स्नातक तह सफलतापूर्वक पास गरेकी उनी हाल भक्तपुर बहुमुखी क्याम्पस, दुधपाटीमा स्नातकोत्तर तहमा अध्ययनरत छिन्। उनका दुवै कृति हालै मात्र प्रकाशित भएका हुन्।
कार्यक्रममा प्रिताका पिता पवनकुमार बल्लले छोरीको संघर्षपूर्ण जीवनकथा सुनाउँदै भने, ‘उनी जन्मदेखि नै अनेक स्वास्थ्य चुनौतीसँग जुध्दै आइरहेकी छिन्। तर उनले कहिल्यै अध्ययन छोडिनन्, हरेक कठिनाइमा अडिग रहिन्।’
त्यसैगरी, प्रिताकी बहिनी निष्ठा बल्लले खुट्टाको सहायताले मोबाइलमा टाइप गरी प्रिताले २४२ पृष्ठको पुस्तक र करिब सय कविता समेटिएको एक सय पृष्ठ लामो कविता सङ्ग्रह तयार पारेको जानकारी गराइन्।
प्रकाशित: १७ माघ २०८२ १८:०८ शनिबार





