४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

देशमै पहिलो चिया परीक्षण केन्द्र बन्दै

इलामको सूर्याेदय नगरपालिका–७ मा निर्माण हुन लागेको नेपालकै पहिलो चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र भवनको डिजाइन।

इलाम - ‘चियाको राजधानी’ सूर्याेदय नगरपालिकामा देशमै पहिलो चिया परीक्षण तथा प्रबर्द्धन केन्द्र निर्माण गरिँदैछ। २३ करोड रुपैयाँ लगानीमा बन्ने केन्द्र निर्माणका लागि सूर्याेदय नगरपालिका र प्रदेश १ सरकारबीच सम्झौतासमेत भएको छ।

सूर्याेदय वडा नं ७, कन्याममा निर्माण हुने केन्द्रको भवन निर्माणतर्फ १८ करोड र उपकरण तथा फर्निसिङ खरिदमा पाँच करोड हाराहारी रकम खर्च हुनेछ। आयोजनाका लागि प्रदेश सरकारले ७५ प्रतिशत (१७ करोडभन्दा बढी) र नगरपालिकाले बाँकी २५ प्रतिशत रकम खर्चिने भएका छन्। चालू आर्थिक वर्ष ०७६/७७ भित्रै काम सुरु गर्न प्रदेश सरकारले नगरलाई पाँच करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको नगरले जनाएको छ। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विमलकुमार निर्मल र सूर्याेदयका मेयर रणबहादुर राईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

बाँकी रकम आउँदो वर्ष प्रदेश सरकारले प्रदान गर्दैजाने सम्झौता भएको मेयर राईले बताए। ‘भवन निर्माण सम्पन्न भएपछि नगरले कार्यविधि बनाएर केन्द्र सञ्चालनको संयन्त्र बनाउनेछ,’ उनले भने, ‘नगर र प्रदेश सरकारको संयुक्त लगानी भएपनि केन्द्र सञ्चालनको जिम्मा नगरकै हुनेछ।’ उनले चालू वर्षभित्रै निर्माणको प्रक्रिया अघि बढाउने बताए। पाँच दर्जन हाराहारी चिया प्रशोधन उद्योग रहेको सूर्याेदय नगरपालिका जिल्लामै बढी चिया उत्पादन गर्ने स्थानीय तह हो। आठ हजार किसान चिया खेतीमै संलग्न रहेको सूर्याेदयमात्र होइन, नेपालमा कहीं पनि सरकारी तहको चिया परीक्षण केन्द्र छैन। निजी क्षेत्रका उद्योगले व्यापारी आएका बेला उद्योगमा चिया चखाउने गरे पनि चिया परीक्षणकै लागि भनेर केन्द्र स्थापना हुन सकेको छैन।

२३ करोड रुपैयाँ लगानीमा बन्ने केन्द्र निर्माणका लागि सूर्याेदय नगरपालिका र प्रदेश १ सरकारबीच सम्झौतासमेत भएको छ।

केन्द्र स्थापना भएपछि देशका सबै ठाउँमा उत्पादन हुने चिया यहाँ आएका पर्यटक र चियाविज्ञले चाख्न पाउनेछन्। ‘केन्द्रलाई टी टेस्टिङमात्र होइन, चिया अध्ययन केन्द्रका रूपमा समेत विकास गर्ने सोच छ,’ मेयर राईले भने, ‘चियामा धेरै किसान निर्भर छन्, आर्थिक उन्नतिमा चियाको महत्वपूर्ण स्थान भए पनि यसको उत्पादन र प्रवद्र्धनमा धेरै काम गर्न बाँकी छ।’ नगरका बगानमा नौ र उद्योगमा विशेषगरी ६ खालको तयारी चिया उत्पादन भइरहेको छ। ‘यहाँको चियालाई विश्वकै उच्च गुणस्तरको अर्गानिक बनाउने नगरपालिकाको नीति–कार्यक्रम नै छ,’ मेयर राई भन्छन्, ‘जनप्रतिनिधि, उद्योगी र किसानको समन्वयमा चियाको गुणस्तर उच्च बनाउने सम्झौता नै भएको छ।’

सूर्याेदय नगरले डेढ वर्षअघि देशमै पहिलोपटक हरियो चियाको न्यूनतम् समर्थन मूल्यसमेत निर्धारण गरी कार्यान्वयन गरेको छ। चियालगायत सबै कृषिजन्य वस्तु अर्गानिक बनाउन ‘अर्गानिक नगर’ घोषणा गर्नेगरी योजना अघि बढाएको छ। नगरमा ठूलामात्र होइन, सहकारी र निजीस्तरबाट खुलेका साना चिया प्रशोधन उद्योगको संख्या पनि धेरै छ। ‘चिया परीक्षण केन्द्रमा देशमा कहाँ कस्तो गुणस्तरको चिया उत्पादन हुन्छ भन्ने थाहा पाइन्छ,’ उनले भने, ‘केन्द्र बनेपछि चियाको गुणस्तर जाँच्न चियाविज्ञ र व्यापारी उद्योग–उद्योग पुगिरहनु पर्दैन। बर्सेनि हजारौंको संख्यामा इलाम आउने पर्यटकले पनि इलामको चिया यहीं चाख्न पाउनेछन्।’

नेपालमा अर्थाेडक्स, अर्गानिक अर्थाेडक्स र क्रस टियर कर्ल (सिटिसी) चिया उत्पादन हुन्छ। इलाममा ह्वाइट, ग्रिन, इमरल, स्पेसियालिटी, ब्ल्याक र ओलङ गरी ६ प्रकारका अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुन्छन्। चिया प्राविधिकका अनुसार अर्थोडक्स चियामा पनि २८ प्रकारका उत्पादन प्रयोगमा छन्। नेपालमा उत्पादित तयारी चिया भारत, जर्मनी, अमेरिका, चीन, अस्ट्रेलिया, बेलायत, जापान, चेक गणतन्त्र, स्लोभाकिया, फ्रान्सलगायत देशमा समेत निर्यात  भइरहेको छ। चिया तथा कफी विकास बोर्डका अनुसार आव ०७४/७५ मा २८ हजार पाँच सय ९५ हेक्टरमा गरिएको खेतीबाट नेपालमा दुई करोड ४८ लाख तीन हजार ६ सय १२ किलो चिया उत्पादन भएको छ।

चियाको गुणस्तरका लागि उद्योगी र किसान प्रयासरत छन्। अस्ट्रेलियास्थित नेसनल एसोसिएसन फर सस्टेनेबल एग्रिकल्चर (नासा), स्विट्जरल्यान्डस्थित इन्टरनेसनल मार्केटोलोजी अर्गनाइजेसन (आइएमओ) र जर्मनीको सेरेसजस्ता विश्वप्रसिद्ध आधिकारिक निकायले नेपाली चियालाई अर्गानिक प्रमाणित गरेका छन्। ‘गुणस्तर पुगेको चिया बेच्न कठिन पनि छैन,’ उद्योगी सरद सुब्बा भन्छन्, ‘तर, तेस्रो मुलुकका व्यापारी चिया अर्गानिक नै हुनुपर्ने मापदण्ड चाहिँ राख्छन्।’

प्रकाशित: २६ फाल्गुन २०७६ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App