१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

जुम्लामा स्याउ खेत बढ्दै

जुम्ला - जुम्लामा बर्सेनि स्याउको क्षेत्रफल बढ्दै गइरहेको छ। स्याउखेतीबाट किसानलाई फाइदा हुन थालेपछि किसान स्याउखेतीमा आकर्षित हुन थालेका हुन्। जुम्लामा अर्गानिक स्याउ उत्पादन हुने र यसको माग बढ्दै गएका कारण किसान स्याउखेतीप्रति आकर्षित भएका हुन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा स्याउखेतीमा किसान निकै लागि परेको बताउँछन्। यो वर्ष मात्रै स्याउको क्षेत्रफल दुई सय हेक्टर वृद्धि भएको छ। पुरानो बगैंचामा सुकेका बिरुवालाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्ने र नयाँ पकेट क्षेत्रलाई पनि प्राथमिकता दिँदै आएको प्रमुख देवकोटाले बताए।

‘स्याउ यहाँको प्रमुख आम्दानीको स्रोत बनेको छ,’ उनले भने, ‘प्रत्येक घरमा सानो–ठूलो एउटा बगैंचा छन्।’ बर्सेनि स्याउले घरयायसी र केटाकेटीको पढाइ खर्च जुटाउन सहज भइरहेकाले स्याउखेती सबैको प्राथमिकतामा परेको हो। कृषि कार्यालयले पनि स्याउमैत्री कार्यक्रम सञ्चालन गरेको छ। यहाँका कृषि प्राविधिक यो समयमा हरेक किसानको बगैंचामा पुगेर स्याउ बगैंचा व्यवस्थापनबारे डेमो देखाइरहेका छन्। स्थानीय तह केन्द्रित कृषि शाखाले कृषि औजार उपकरण प्रदान गरिरहेका छन्। स्याउ खेतीमा रोगको संक्रमण हटाउन कृषि प्राविधिक गाउँगाउँमा खटिएको स्थानीय बताउँछन्।

कृषि कार्यालयका अनुसार यो वर्ष नयाँ ६ हजार स्याउका बिरुवा बढ्दैछन्। किसानले लगाउने स्याउका बिरुवा स्थानीय स्याउ नर्सरीबाट किन्ने गरिएको छ। जसका कारण यहाँका किसानको स्याउका बिरुवा उमार्न उत्साह मिलेको छ। जुम्लामा कुल एक सय १० नर्सरी स्थापना गरिएका छन्। जसमध्ये ५० नर्सरी धनि करको दायरमा आइसकेका छन्। उनीहरुले व्यावसायिक नर्सरी खेती गरिरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। यी नर्सरीमा साढे पाँच लाख बिरुवा उत्पादन भएका छन्। केही आन्तरिक खपत र केही जिल्लाबाहिर निर्यात भइरहेको छ।

प्रमुख देवकोटा फलफूलमा किसान निकै उत्साहित छन्। स्थानीय किसानको आर्थिक मेरुदण्डका रुपमा स्याउ स्थानपित भइसकेको छ। एक स्याउ नर्सरीमा न्यूनतम दुई हजारदेखि १० हजार बिरुवासम्म छन्। यो पटक स्याउको क्षेत्रफल बढेसँगै जुम्लामा ३९ हेक्टरमा स्याउखेती विस्तार भएको छ।  युवा किसान हंशबहादुर बस्नेत स्याउले जुम्लाको मुहार बदलिएको बताउँछन्। त्यसैले पनि स्याउखेती विस्तारमा किसान लागेको उनको बुझाइ छ। अहिले अधिकांश स्याउ बगैंचामा गाडी नै पुग्छन्। स्याउ खरिद गर्न व्यापारी बगैंचामा नै पुग्छन्। किसानले गुणस्तरीय उत्पादन मात्र गर्नुपर्‍यो। बिक्री गर्ने चिन्ता हटिसकेको छ। यहाँका आठ स्थानीय तहका ६० वटा वडामै स्याउ फल्छ। यहाँ रेड, रोयल र गोल्डेन डेलिसियस जातको स्याउ लगाउने गरिएको छ।

जुम्लाको स्याउमा रासायन प्रयोग गरिँदैन। अर्गानिक भएकाले खानयोग्य भएको भन्दै जुम्ली स्याउ किन्न जो सुकैले रुचाउँछन्। स्याउ फल्ने सिजनमा जुम्ला स्याउ बगैंचासँगै सिंगो जुम्ला राताम्मे हुन्छ।

प्रकाशित: ४ फाल्गुन २०७६ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App