दोलखा– चरिकोट–खाडीचौर सडकमा ढिलाई गर्ने ठेकेदार कम्पनीले दुई तर्फी काम सुरु गरेर पुस महिना भित्र ग्राभेल बिच्छ्याई सक्ने सहमती भएपनि चरिकोटबाट एकतर्फी मात्र आशिंक काम सुरु गरेको छ।
५ बर्ष देखी अलपत्र परेको चरिकोट–खाडीचौर सडकमा ठेकेदारको ढिलासुस्ती र लापरवाहीविरुद्ध जिल्लामा नागरिक आन्दोलन चर्किएपछि दुई साता अघि ठेकेदार कम्पनी, सडक विस्तार आयोजना र नागरिक आन्दोलनका अभियान्ताबीच सिन्धुपाल्चोकको मुडेमा भएको वार्तामा दुवै तर्फबाट काम सुरु गरेर पुस महिना भित्र ग्राभेल बिच्छ्याई सक्ने र जाडोयाम सकिएलगतै फागुनबाट कालोपत्रे सुरु गर्ने सहमती भएको थियो।
सिन्धुपाल्चोकको खाडीचौर बजारदेखी मुडे तल्लो मोडसम्मको पहिलो र उक्त स्थानदेखी चरिकोटसम्म दोश्रो गरेर दुई ओटा प्याकेजमा छुट्टाछुट्टै ठेकेदार मार्फत भईरहेको विस्तारको काम मध्ये दोश्रो प्याकेजमा कामको जिम्मा पाएको शंकर माली निर्माण सेवाले चरिकोट र मुडे गरेर दुवै तर्फबाट काम सुरु गर्ने सहमती भएपनि उक्त कम्पनीले एकतर्फी मात्र काम सुरु गरेको हो।
‘मुडेदेखी चरिकोटसम्मको खण्डका ठेकेदार कम्पनीले पुष भरीमा ग्राभेल सक्ने र आउजाउ सहज तुल्याउने भनेर प्रतिवद्धता गरेपनि कामले रफ्तार लिन सकेको छैन’ सडक विस्तार आयोजनाका प्रमुख दिप बाराहीले भने,‘उक्त कम्पनीलाई चरिकोटसंगै मुडेबाट समेत काम सुरु गर्न ताकेता गरिरहेका छौं।’
दोश्रो खण्डका ठेकेदारले पुस भित्र ग्राभेल बिच्छ्याउने काम नसके पुनः आन्दोलनमा उत्रिने चरिकोटका नागरिक अभियन्ता चिरञ्जीवी मास्केले बताए। यता खाडीचौर बजार देखी मुडे सम्मको २५ किलोमिटर खण्डमा काम गरिरहेको गौरीपार्वती निर्माण सेवाले भने १६ किलोमिटर सम्म कालोपत्रे सकाएको छ। अहिले सो कम्पनीले ग्राभेल बिच्छयाउने काम गरिरहेको आयोजना प्रमुख बाराहीले बताए।
खाडीचौर चरिकोट सडकको टेण्डर ५ बर्ष अघि निकालेको थियो। पहिलो खण्डको जिम्मा भारतीय कम्पनी सिमाञ्चल र नेपाली कम्पनीहरु सुनौला खिम्ती र गौरी पार्वती निर्माण सेवाले संयुक्त उपक्रममा ठेक्का पाएका थिए। तर सुनौला खिम्तीका सञ्चालक कर छली सम्बन्धी मुध्दामा तानिएपछि अलपत्र परेको यो सडकमा अर्को साझेदार गौरीपार्वती निर्माण सेवाले काम गरिरहेको छ।
ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण सडक अलपत्र परेपछि दोलखावासीले दुई महिना देखी आन्दोलन चर्काउदै आएका छन्।
प्रकाशित: ६ पुस २०७६ ०८:३३ आइतबार





