१५ चैत्र २०८० बिहीबार
अर्थ

राहदानीबाट पौने तीन करोड राजस्व

गतवर्ष कार्यालयमा आएका राहदानीमा हस्ताक्षर गर्दै इलामस्थित जिल्ला प्रशासन कार्यालयका अधिकृत देवीचरण फुएल। तस्बिरः भीम/नागरिक

इलाम–  गत आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला प्रशासन कार्यालयले पौने ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। राहदानी, संघ–संस्था दर्ता–नवीकरण तथा विभिन्न जरिमाना र दस्तुरबाट २ करोड ८१ लाख १ हजार ९८ रुपैयाँ संकलन भएको प्रशासन कार्यालयले जानकारी दिएको छ।

राहदानीबाट सबैभन्दा बढी २ करोड ६६ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ। ५ हजार ६१ मध्ये त्यो वर्ष पुरुषले ३ हजार २ सय ७ र महिलाले १ हजार ८ सय ५४ राहदानी बनाएको कार्यालयले जनाएको छ। कार्यालयले अघिल्लो आव २०७४/०७५ मा ४ हजार ९ सय ९५ राहदानीबाट २ करोड ५८ लाख ८७ हजार ५ सय रुपैयाँ संकलन गरेको थियो। आव २०७५/०७६ मा कार्यालयले द्रुत सेवाका लागि १ हजार १ सय २३ राहदानी बनाउन सिफारिस गरेको छ।

प्रशासनिक दण्ड जरिमाना तथा जफतबाट ९ लाख ६५ हजार, संस्था दर्ता–नवीकरणबाट ४ लाख ६५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट २१ हजार र हातहतियार इजाजतपत्र नवीकरण दस्तुरबाट साढे ३ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए। प्रजिअ तिम्सिनाका अनुसार १ सय २९ जनाबाट मादक पदार्थ सेवनमा जरिमानावापत् ८९ हजार ८ सय संकलन भएको छ। कार्यालयमा दर्ता भएका १ सय ३४ मुद्दामध्ये १ सय ६ वटाको फैसलाबाट ९ लाख ८५ हजार ७ सय रुपैयाँ जरिवाना तोकिदिएको पनि उनले बताए।

गतवर्ष कार्यालयबाट ११ हजार २५ र तथा कार्यालयले सञ्चालन गरेको घुम्ती शिविरबाट १ हजार ६ सय ८० नागरिकता वितरण गरिएको थियो। त्यस आवमा जिल्लामा नयाँ ५१ संस्था दर्ता भए भने १ सय ६७ संस्थाले नवीकरण गराए। कार्यालयले ३२ बालक र २४ बालिकालाई नाबालक परिचयपत्रसमेत वितरण गरेको थियो। कार्यालयको मुद्दा शाखामा त्यस आवमा १ सय ३४ मुद्दा दर्ता भएकामा १ सय ६ वटा फस्र्याेट भएको र ठाडो उजुरीका ६७ गुनासोमा छलफल भइ समस्या समाधान गरिएको प्रजिअ तिम्सिनाले बताए।

जिल्ला दैवी प्रकोप उद्धार समिति अध्यक्षसमेत रहेका प्रजिअ तिम्सिनाले त्यो वर्ष ८ लाख १५ हजार रुपैयाँको राहत वितरण गरेको पनि बताए। वर्षभर आगलागीका ३५, बाढी–पहिरोका ६, चट्याङका ४ र हावाहुरीबाट भएका २  घटनाका पीडितले राहत पाएका थिए। गएको वर्ष जिल्लामा बाढीले बगाएर र चट्याङबाट १–१ जनाको मृत्यु भएको थियो। गत असार २२ देखिको वर्षाका कारण जिल्लामा १ जनाको मृत्यु भएको छ भने ३ बालिका बेपत्ता छन्। असार २२ पछिको वर्षाका कारण जिल्लाका ३३ स्थानमा व्यक्ति तथा परिवारको भौतिक क्षति भएको छ।

प्रजिअ तिम्सिनाका अनुसार सडक समस्याका कारण जिल्लाको सबै स्थानमा सवारीका साधन पुग्न नसक्नु, प्रहरी चौकी र जनशक्ति अभाव हुनु जिल्लाको प्रमुख चुनौती हो। ‘सुरक्षाकर्मीको कुल दरबन्दीमध्ये २० प्रतिशत सधैं रिक्त हुन्छ,’ उनले भने, ‘सुरक्षा इकाईहरू पनि भौगोलिक रूपले कतै एउटै स्थानमा धेरैवटा र कतै ठूलो भौगोलिक क्षेत्र हेर्न थोरै मात्र छन्।’ उनले सुरक्षा इकाईको संख्या सबैतिर पु-याउन माथिल्लो निकायमा पहल गरिरहेको पनि बताए। जिल्लामा अहिले प्रहरीका ४२ इकाई छन्। ८ स्थानमा रहेका अस्थायी प्रहरी इकाईमा दरबन्दी नभएपनि प्रहरी तैनाथ गर्नुपरेको उनले जनाए। ‘केही प्रहरी चौकी स्तरोन्नति गर्नुपर्ने भएको छ, कतै संख्या नै थप्नुपर्ने भएको छ,’ उनले भने, ‘केही समयभित्र त्यो पनि पूरा होला।’

पूर्वी नेपालको इलाममा पर्ने साढे ५२ किलोमिटर भारतीय सीमा क्षेत्रका लागि पशुपतिनगरमा मात्रै सशस्त्र प्रहरीको बेसक्याम्प छ। ‘सीमाक्षेत्रकै सन्दकपुर, मानेभञ्ज्याङ र छब्बिसेमा पनि सशस्त्र प्रहरी इकाई थप्न सिफारिस गरेका छौं,’ प्रजिअ तिम्सिनाले भने, ‘यो वर्ष इलाम क्षेत्रमा रहेको भारतीय सीमाको अवस्था के छ भनेर नापजाँच गर्ने टोली पनि नापी विभागबाट आउने कुरा छ।’

प्रकाशित: २ श्रावण २०७६ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App