१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

मितेरी पुल तयार, रसुवा नाका खुल्दै

फाइल तस्बिर

नेपाल–चीन सीमामा अवस्थित ल्हेन्देखोलामा आएको बाढीले  रसुवागढी–केरुङ जोड्ने प्रमुख व्यापारिक नाकाको पुल तयार भएको छ। चिनियाँ पक्षले पुल तयार भएको जानकारी नेपाल सरकारलाई दिएको छ।

बिहीबार नेपाल सरकारलाई जानकारी दिएको त्यसको उद्घाटनको समय मिलाउन आग्रह गरेको छ। स्याफ्रुबेँसी–रसुवागढी खण्डका विभिन्न ठाउँका सडक मात्र होइन मितेरी क्षेत्रको पुल बगाएपछि त्यहाँबाट आयत निर्यात नै ठप्प भएको छ। नेपाल–चीनबिचका ७० प्रतिशत व्यापारिक गतिविधि रसुवागढी नाकाबाट हुने गरेकोमा पुल बगाएपछि ठप्प भएको थियो।

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मी निरौलाले पनि पुल तयार भएर नेपाललाई पत्राचार गरेको जानकारी आएको बताए। ‘पुल तयार भैसकेको जानकारी छ’, महावाणिज्यदूत निरौलाले भने। गत असारमा आएको आकस्मिक बाढीले रसुवामा ठुलो क्षति गरेको थियो।

रसुवाको बाढी प्रभावित क्षेत्रको निरीक्षण भ्रमणमा काठमाडौंस्थित चिनियाँ राजदूतसँगै रसुवागढी क्षेत्र पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मितेरी पुल पुनर्निर्माणमा सघाउन चिनियाँ पक्षलाई अनुरोध गरेका थिए। सरकारको सो आग्रहलाई चिनियाँ पक्षले स्वीकार गरी पुल तयार पारेको हो।

गत असार २३ गतेबाट आएको बाढी बढ्दै जाँदा २४ गते पुल बगाउनुका साथै भन्सार यार्डमा राखेको सबै सामान बगाएको थियो। चिनियाँ पक्षले कात्तिकको अन्तिम सातामा पुल निर्माण गरिसक्ने अनुमान गरेको भए पनि एक महिना ढिला भएको हो।

त्यतिबेला तिब्बतस्थित ल्हेन्देखोलाबाट आएको बाढी भोटेकोशीमा मिसिँदा बाढीले वितण्डा मच्चाएको थियो। नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको थियो। बाढीमा परी ३० जनाभन्दा बढीले ज्यान गुमाएका थिए।

नेपालतर्फ भन्सार यार्डमा सामान भरिएका (कन्टेनर डिब्बा लोड गाडी) २५ भन्दा बढी बगाएको थियो। करिब ३५ वटा विद्युतीय गाडी (ईभी) र ६ वटा सिनो ट्रक पनि बाढीले बगाएको थियो।

प्रकाशित: ११ पुस २०८२ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App