२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

अघिल्लो चुनावमा प्रचण्डका लागि छाडेका बाबुराम भट्टराईले यस पटक के गर्लान् ?

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उम्मेदवारी टुंगो लागेको छैन। उनी स्वयं पनि उम्मेदवार बन्ने कि नबन्ने भन्ने विषयमा अन्यौल रहेका देखिन्छन्।

यसै क्रममा बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेटेर आफूलाई आगामी चुनावमा उठ्न आग्रह गरेको भट्टराईको सचिवालयले जनाएको छ। 

अघिल्लो निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ पुष्पकमल दाहाल 'प्रचण्ड'का लागि छाडेका उनलाई यस पटक सोही क्षेत्रबाट उठ्न बालेनले आग्रह गरेका हुन्। यता भट्टराई सोही क्षेत्रबाट चुनाव लड्ने वा अन्य निर्वाचन क्षेत्र रोज्ने वा चुनाव नै नलडी नयाँ पुस्तालाई अघि सार्ने तीनै विकल्पबारे आन्तरिक छलफल भइरहेको सचिवालयले जनाएको छ।  

भट्टराई स्वयं भने लामो समयदेखि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा देखिँदै आएका छन्। उमेर, राजनीतिक अनुभव र विगतका उतार–चढावका कारण उनी प्रत्यक्ष प्रतिस्पर्धाभन्दा सहयोगी र मार्गदर्शक भूमिका मै सीमित हुन चाहेको सचिवालयले जनाएको छ। तर, नयाँ राजनीतिक शक्तिहरू र बढ्दो दबाबका कारण उनको निर्णय बदलिन सक्ने आँकलन गरिएको छ।      

यसैबीच वैकल्पिक राजनीतिका पक्षधरहरूबीच नयाँ पार्टी निर्माण गर्ने कि कुनै स्थापित पार्टीभित्र समाहित हुने भन्ने विषयमा बहस चलेको सचिवालयले जनाएको छ। 

प्रकाशित: ११ पुस २०८२ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App