२० जेष्ठ २०७७ मंगलबार
अर्थ

सरकार, पुलाउ पकाउने धान खै?

पनौती–५ मा मनाइएको धान दिवस। तस्बिर/नागरिक

बनेपा – २०४० को दशकसम्म पनौतीलाई ‘पोखरेली मसिनो’ चामल र रोशी खोलाको ‘असला’ माछा पाइने ठाउँ भनेर उपत्यकाले चिन्थ्यो। २०४४ सालतिर भित्रिएको खुमल–४ जातको धानले पोखरेली मसिनोलाई भुलाइदियो। यस्तै, रोशी खोला सुक्दै गएपछि असला माछा पनि हराए।

‘पनौतीका फाँटभरि धेरै थरिका धान फल्थे। ती सबै लोप भइसकेका छन्। उन्नत जातको नेपालकै धानको बीउ पनि पाउन मुस्किल छ। अब त चीन र भारतबाट हाइब्रिड धान नआएसम्म खेत बाँझै हुने भयो,’ सोह्रौं राष्ट्रिय धान दिवस मनाउने क्रममा पनौती–५ का वडाध्यक्ष श्रीधर पाध्या कुँइकेलले भने।

त्यतिखेर पोखरेली मसिनो, थापाचिनिया, मार्सी, छोटे मार्सी, ताइचिन, खट्टे खाने धानलगायत पचासौं थरिका धानको खेती हुने उनको भनाइ छ। ‘बनेपादेखि पनौती हुँदै बल्थली फाँट, सुन्थान हुँदै नौविसे फाँट र कुशादेवी क्षेत्रमा खेती हुने धानलाई विदेशी हाइब्रिडले गाँजेको छ। उन्नत धानको स्वदेशी बीउ भनेजत्ति पाउनै मुस्किल छ,’ कुँइकेलले थपे ।

यसैले पनि किसान भारतीय र चिनियाँ कम्पनीको हाइब्रिड धानको बीउ किन्न बाध्य छन्। यस्ता बीउमा पटक–पटक बाला नलागेर धान नै नफलेको विगतको अवस्था छ। केही वर्ष अघि चिनियाँ हाइब्रिड धानमा बाला नलागेपछि काभ्रे र भक्तपुरका किसानले आन्दोलन नै गरेका थिए।

‘धानको उन्नत बीउ उत्पादन गर्न चाहने किसानलाई धानको मूल बीउ उपलब्ध गराउने र उत्पादनपछि प्रोत्साहन रकम (इन्सेन्टिभ)को व्यवस्था नहुँदासम्म धान बीउ उत्पादनमा आकर्षित हुँँदैनन्। अब सबै स्थानीय तहले अन्नबालीलगायत अरु बीउको उत्पादनमा समेत किसानलाई आकर्षित गर्न लगानी पनि त्यतै गर्नुपर्ने हुन्छ,’ कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत थर्कबहादुर जिसीले सुझाए।

काभ्रेपलाञ्चोक जिल्लामा करिब १५ हजार हेक्टरमा धानखेती हुने गरेको छ। प्रतिहेक्टर ५० केजीका दरले बर्सेनि साढे सात सय मेट्रिक टन उन्नत धानको बीउ आवश्यक हुने गरेको छ। ‘अझै पनि काभ्रेमा धानको बीउ प्रतिस्थापन दर (सिड रिप्लेसमेन्ट रेट) वार्षिक १५ देखि १६ प्रतिशतको बीचमा रहेको छ। यो दरलाई २५ प्रतिशतसम्म पु¥याउन सकेमा धानको उत्पादन बढ्नेमात्रै नभई गुणस्तरको हिसाबले पनि बीउ राम्रो हुँदै जानेथियो,’ कृषि मन्त्रालयका कृषि प्रसार अधिकृत कृष्ण धितालले भने।

कृषकलाई सघन धानखेती प्रणाली (एसआरआई) प्रविधिमा आकर्षित गर्न सकेमा मात्रै धानको बीउ तीन गुणा कम भए पुग्ने उनको भनाइ छ। ‘हाल प्रतिहेक्टर ५० किलो आवश्यक रहेकामा एसआरआई हुँदा १० देखि १५ किलो मात्रै भए पुग्छ। यसो हुँदा धेरै जमिनमा उन्नत धानको बीउ पुग्ने र बीउमा आत्मनिर्भरसमेत हुन सकिन्छ,’ एसआरआईको प्रवद्र्धकसमेत रहेका धितालले भने।

नेपालमा खाद्य सुरक्षाका हिसाबले धानबालीको महत्वपूर्ण भूमिका रहँदै आएको छ। धानकै उत्पादनको हिसाबले बर्सेनि कृषि क्षेत्रको योगदानको मूल्यांकन समेत हुने गरेको छ। ‘धानखेतीका लागि हिजो के गर्नुपथ्र्यो र अब के गर्ने भन्नेबारे कमैमात्र सोचिएको पाइन्छ। बढी पानी चाहिने र समथर भूभागमा खेती हुने धान क्षेत्र दिनहुँ घट्दो छ,’ हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक गोविन्द शर्माले भने।

विकास र सहरीकरणको पहिलो आक्रमण धानखेतीयोग्य जमिनमा हुँदै आएकाले जमिनमुनिको जलभण्डार घटेको उनको भनाइ छ। ‘धान क्षेत्र कम हुँदा वर्षाद्को पानी जम्ने सम्भावना नै हुँदैन। यसबाट जमिनमा पानी छिर्ने र सोसिने क्षेत्र समेत घटेकाले जमिनको जलभण्डार घटेको छ, खोलामा बाढी बढेको छ,’ उनले थपे।

उता, सरकारी अनुसन्धान केन्द्र नार्कले नयाँ र जनचाहना अनुसारका जातको धानको विकास गर्न नसकेको लामो समय हुँदा चीन र भारतबाट आयातित धानमा भर पर्नुपरेको उनको भनाइ छ। ‘नेपालमा भातसँग पुलाउ संस्कृति भित्रिएको छ। १५–२० वर्ष अघिसम्म पुलाउ थिएन। नार्कले पुलाउ पकाउने धान त दिन सकेको छैन,’ उनले भने।

चालु वर्षमा धानखेती हुने क्षेत्रफल १४ लाख ९१ हजार हेक्टर कायम हुँदा ५६ लाख १० हजार मेट्रिक टन उत्पादन हुन पुगेको कृषि विभागको तथ्यांक छ। धानको उत्पादन एवं उत्पादकत्वमा हासिल भएको उपलब्धी एवं व्यवसायीकरणका लागि गरिएका प्रयासका बावजुद नेपालीलाई आवश्यक पर्ने धानको परिमाणमा देश आत्मनिर्भर हुन नसकिरहेको विभागले जनाएको छ। ‘०७५÷७६ मा नेपालमा करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्नेमा करिब ३४ लाख टन आपूर्ति भई ६ लाख टन अपुग हुने देखिन्छ। हरेक वर्ष उत्पादन वृद्धि भए पनि आवश्यक चामलका निम्ति वार्षिक करिब २५ अर्बभन्दा बढी रुपैयाँ विदेशिन पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपालको सबैभन्दा होचो स्थान झापाको केच्नाकलन (समुद्र सतहबाट ६० मिटर अग्लो) देखि जुम्लाको छुम्चौर (तीन हजार ५० मिटर अग्लो) भू–भागसम्म धानखेती हुने गरेको छ। मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा धानखेती हुने गरेको विभागले जनाएको छ।

बास्नादार र मसिनो धानमा जोड दिँदै पनौती
कृषि तथा पशुपक्षी शाखा नगरपालिकामातहत आएको दोस्रो वर्षमा पहिलोपटक राष्ट्रिय धान दिवस मनाइएको हो। सो अवसरमा  पनौती नगरपालिकाले आव ०७६/७७ मा धानबाली केन्द्रित विशेष बीउबिजन कार्यक्रम ल्याउने जानकारी दिइएको छ। नगरपालिका क्षेत्रमा मोटा तथा मध्यम मसिना जातको धानको उत्पादन हुँदै आएको छ।

‘पछिल्ला वर्ष राम्रा र रंगीचंगी बोरामा भारतबाट मसिना र बास्नादार चामल आउन थाल्यो। हाम्रै हावापानीमा फलेको धान मोटा हुँदैमा नमिठो हुनेमा भ्रम हुन थाल्यो। हाम्रै धान पनि मीठो हुन्छ भन्ने कुरा बुझाउन पनि धान दिवस मनाउन थालेका हौं,’ नगर प्रमुख भीम न्यौपानेले भने।

नगरपालिकाले मंसिरको धान्य पूर्णिमा (योमरी पुन्ही) ताका पारेर धानलगायत खाद्यान्न र अन्य बालीका बीउ प्रदर्शनी (बीउ जात्रा) आयोजना गर्ने र सो अवसरमा संकलित रैथानेलगायत स्थानीय बीउ संरक्षण र प्रवद्र्धनका लागि सामुदायिक बीउ बैंक (सिड बैंक) सुरु गर्ने भएको छ। ‘विगतमा हामीहरुले खेती गर्दै आएका रैथाने एवं उन्नत जातका नेपाली धानको संग्रहमा विशेष पहल गर्दैछौं। त्यसरी संकलित बीउलाई अनुसन्धान संस्थासँग मिलेर बढाउँछौ र धानको बीउमा नगरलाई आत्मनिर्भर बनाउने योजनामा छौं,’  उनले थपे।

प्रकाशित: १६ असार २०७६ ०८:२२ सोमबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App