२० जेष्ठ २०८३ बुधबार
image/svg+xml
अर्थ

खेती गर्दै युवा नेता गगन थापा

काठमाडौं, भदौ २७ (नागरिक) - गगन थापाको अहिलेको चिनारी हो सभासद। उनी यतिखेर आफ्नो पहिचान राजनीतिमै सीमित नगर्ने अभियानमा छन्। उनी हरेक साता दक्षिणकालीमा रहेको कुरिलो फार्ममा पुग्छन्। महिनाको एकपटक नुवाकोटको सुनखानीमा खोलिएको बाख्राफार्ममा पनि जान समय मिलाउँछन्।

  'इमान्दार र स्वच्छ राजनीति गर्ने हो भने कुनै न कुनै व्यवसायमा स्थापित हुनै पर्छ,' उनको मान्यता छ। अभाव, दवाव र प्रभाव रहेसम्म राजनीति स्वच्छ नहुने र त्यस्तो हुन नदिन राजनीतिमा लाग्नेहरु आर्थिक रुपमा आफ्नो खुट्टामा आफै उभिन सक्ने वातावरण हुनुपर्ने उनको बुझाइ हो।

कांग्रेसलाई महाधिवेशन मज्जाले लागेको छ। उनी पनि केन्द्रीय सदस्यका उम्मेदवार हुन्। भोट माग्न उनीकहाँ आउनेको पनि भीड छ। उनलाई पनि भोट माग्न जान भ्याइनभ्याई छ। जस्तोसुकै व्यस्तताबीच पनि उनी दक्षिणकाली र सुनखानीका फार्मसँग अपडेट भइरहन्छन्।

'ए सविन, कस्तो भइरहेको छ अहिले कुरिलो? म आउनुपर्ने अवस्था त छैन नि?' उनी हरेक दिन दक्षिणकालीमा रहेको कुरिलो फार्ममा फोन गर्छन्। उनको दिनचर्या दक्षिणकालीको कुरिलो फार्म र नुवाकोटको सुनखानीको बाख्रा फार्ममा फोन गरेपछि सुरु हुन्छ।


धेरै नेताहरुलाई भ्रष्टाचारको आरोप किन लाग्छ भनेर गगनले धेरै विश्लेषण गरे। त्यसको कारण उनले एउटै मात्र पत्ता लगाए,-'नेतासँग हुने आर्थिक अभाव र त्यससँगै जाग्ने लोभ।' भविष्यमा राजनीति गर्न पनि एकपटक पदमा पुगेपछि टन्न कमाउनुपर्छ भन्ने सोचाइले नेतालाई धेरै भ्रष्ट बनाउँछ। यही तथ्यलाई बुझेर आफूलाई कसैले अभाव, दबाब र प्रभावमा नपारोस् भनेर उनले खेतीमा हात हालेका हुन्। 'परम्परागत र निर्वाहमुखी खेतीबाट भने आर्थिक अभाव टार्न सकिँदैन, त्यसको लागि व्यावसायिक सोच भने हुनुपर्छ,' खेतीमा लागेको तीन वर्षमा उनले भोगाइबाट सिकेका कुरा हो यो।

आम्दानीको स्रोत नभएकै कारणले विद्यार्थी नेताहरुलाई कलेजमा लेबी उठाएर खान्छन् भन्ने आरोप लाग्छ। सांसद भएपछि जिल्ला भ्रमणमा गएको भन्दै किर्ते बिल पेस गरेर लिन्छन् भन्ने आरोप आम्दानीको स्रोत नभएकैले गर्दा हो। राजनीतिसँगै व्यवसाय हुने हो भने त्यस्ता नेतामा सितिमिति लोभ नजाग्ने र देशलाई हानी हुने निर्णय उनीहरुबाट हुन नसक्ने विश्लेषण गगनले विदेशका नेताहरुका जीवनी अध्ययनबाट गरे।

आफूले आर्थिक अभाव भोग्नु नपरोस् र सार्वजनिक पदमा नहुँदा पनि दैनिकीलाई व्यस्त राख्न सकियोस् भनेर उनले उनीजस्तै उत्साही युवाहरुको सहभागितामा कुरिलो खेती, बाख्रापालन थालेका हुन्। 'आज पदमा भइन्छ, भोलि ठेगान हुँदैन, आर्थिक रुपमा आफूलाई कसैप्रति आत्मनिर्भर बनाउन मैले खेतीलाई माध्यम बनाएको हुँ,' उनी भन्छन्। युवावर्गलाई खेतीमा आकर्षित गर्न नसकेसम्म देशको आर्थिक अवस्था सुधार नहुने देखिएकाले आफ्नो तर्फबाट सानो भए पनि योगदान गर्न खेती गर्न थालेको उनको भनाइ छ।

सुरुमा उनले काठमाडौंकै इचंगुमा तीन रोपनी जग्गा भाडामा लिएर गोलभेंडा खेती गरेका थिए। उनीसँगै केही उत्साही युवालाई साथ लिएर सुरु गरेको गोलभेंडा खेतीले उनलाई खेतीलाई व्यावसायिक रुप दिन सकियो भने दह्रो आर्थिक स्रोत हुने रहेछ भन्ने अनुभव दिलायो।

त्यसपछि काठमाडौंका होटलमा ठूलो माग रहेको कुरिलो खेती गर्ने निर्णयमा उनीहरु पुगे। '६ वर्षको लागि २० रोपनी जग्गा भाडामा लिएर सुरु गरेको कुरिलो खेतीले हाम्रो टिमलाई ठूलो आत्मसन्तुष्टि दिएको छ,' गगन भन्छन्। कुरिलो खेती सुरु गरेको एक वर्षमात्र भयो। भर्खरै उत्पादन दिन थालेको छ। कुरिलो किन्न ग्राहक फार्ममै पुग्छन्।

उनलाई आफू पेसा गर्र्दैछु, खेती गर्दैछु, कृषिको व्यावसायिक गर्ने मामिलामा राष्ट्रलाई सानो भए पनि योगदान पुर्‍याएको छु भनेर ठूलो आत्मसन्तुष्टि मिलेको छ। राजनीति पेसा होइन समाज सेवाको माध्यम हो। यसबाट जीवनको गुजारा चल्दैन। जीवन चलाउन उनले खेतीमै लाग्ने संकल्प लिएका छन्।

बाख्रापालनमा कसरी हात हाल्न पुगे त उनी? विद्यार्थी राजनीतिकै सिलसिलामा नुवाकोट सुनखानीका राधाकृष्ण गुणीसँग उनको भेटघाट बाक्लो भयो। केही नयाँ काम गर्नुपर्छ भनेर सल्लाह भयो। 'के काम गर्ने नयाँ? कुनै आइडिया थिएन,' उनले विगत सम्झदै भने। राधाकृष्णको गाउँ घुम्न जाने क्रममा एक पटक बाँझो जग्गा देखेछन् उनले। त्यो जग्गामा ठूलो कृषि फार्म चलाउने सोच उनलाई तत्कालै फुरेछ।

वृहद कृषि फार्म सुरु गर्ने सिलसिलामा सुरुमा बाख्रा पाल्ने योजना बन्यो। 'बाख्रा पाल्ने त भनियो, तर राम्रो खालका माऊ बाख्रा खोज्नै हामीले यति हन्डर भोगेनौं,' उनले भने।
लमजुङ, तनहुँसम्म पुगेर ३० वटा बाख्रा खोजेर पाल्न सुरु गरेकामा अहिले डेढ सय पुगेका छन्। बाख्राको खोर बनाउन मात्र चार लाख रुपैयाँ खर्च भएको छ। एक सय रोपनी जग्गालाई वार्षिक भाडा तिर्न पनि ठूलै रकम खर्च हुन्छ।

'मासुको लागि वर्षेनी धेरै खसीबोका भारतबाट ल्याउनुपरेको छ, यस्तो अवस्थामा हाम्रो कामले सानो भए पनि देशलाई योगदान पनि होला कि भन्ने हाम्रो आशा छ,' उनले भने। बाख्रापालनसँगै अब त्यही फार्ममा डेरी उद्योग, कुखुरापालन, तरकारी खेती गर्ने योजना पनि छ। सुनखानी भेगमा उत्पादन भएको दूध त्यत्तिकै खेर गइरहेकाले त्यसलाई सानो खालको डेरी त्यही बनाएर सञ्चालन गर्न सकियो भने स्थानीय अर्थतन्त्रमा ठूलो योगदान हुने उनी लगायत टिमको सोच छ। त्यसको निम्ति सुनखानी एकीकृत कृषि केन्द्र प्रालिको नाममा कम्पनी दर्ता भइसकेको छ।

उनी संविधान सभाको प्राकृतिक स्रोत साधन समितिमा छन्। खेतीमा लागेकैले समितिमा हुने अधिकांश छलफलमा आफ्ना कुराहरु राख्न, बुझ्न निकै सजिलो मात्र होइन अरुलाई बुझाउन सकेका छन्।

खेती किन हेपियो? गगनले बल्ल बुझन् थालेका छन्। 'यसमा लाग्नेलाई सरकारी निकायको सामान्य पनि छैन, फिल्डमै प्राविधिक सहयोग त ठूलो कुरा भयो,' उनले भने। कृषि मन्त्रालयदेखि लिएर गाउँमा रहेका उपकेन्द्रहरु 'कर्मकान्ड' पूरा गर्ने माध्यममात्र भएका छन्। किसानले वास्तविक सहयोग कहिंबाट पाइरहेको अवस्था छैन। राज्यको सामान्य सहयोगले मात्रले पनि कृषिमा आमूल परिवर्तन हुने सम्भावना उनले देखेका छन्।

प्राकृतिक स्रोत साधन समितिले रासायनिक मलमा नेपाल आत्मनिर्भर हुन के गर्नुपर्छ भनेर अध्ययन सुरु गरेको छ। 'अहिले मैले खेतीबाट आम्दानी लिइसकेको त छैन, तर यसबाट प्राप्त भएको ज्ञानले मलाई संसददेखि आम किसानमाझ गएर बोल्न मलाई ठूलो अनुभव दिएको छ,' उनले भने।

सभासद भएको पहुँचलाई उनले आफ्नो व्यवसायमा देखाएका छैनन्। 'नुवाकोटको कृषि विकास, पशु सेवा कार्यालयलाई मैले फार्म चलाएको भनेर जानकारीसमेत छैन, मैले कुनै फाइदा लिने त कुरा छाड्नुस्,' उनले भने।

जमिन भाडामा लिएर व्यावसायिक रुपमै कुरिलो खेती सुरु गरेको सुनेर अहिले उनीसँग सल्लाह गर्न आउने बढेका छन्। 'दाइ, मेरो यति जग्गा छ, के खेती गर्ने होला भन्दै मसँग सल्लाह गर्न आउने देखेर म आफैं छक्क परेको छु,' उनी भन्छन्।

'खेतीमा पनि नाफा छ' भन्ने मान्यतालाई उनी देखाउन चाहन्छन्। यो पुष्टि गराउन सकियो भने ८/१० हजार रुपैयाँको लागि कोही पनि खाडी मुलुक नजाने दिन आउने उनको ठहर छ।

 


प्रकाशित: २७ भाद्र २०६७ ००:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App