११ वैशाख २०८२ बिहीबार
image/svg+xml १२:१२ अपराह्न
अर्थ

ऐतिहासिक बौद्ध तेमाल जात्रा तयारी पूरा

काठमाडौं– बौद्ध तेमाल जात्राको सम्पूर्ण तयारी पूरा भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जात्राको तयारी पूरा भएको जानाकारी गराएको हो। बौद्धमा वैशाख ५ गते र स्वयम्भूमा ६ गते तेमाल जात्रा निकालिने छ। बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो।

चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको समापन गरिन्छ। यस जात्रालाई बौद्ध जात्रा समेत भनिन्छ।

ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्वलाई चैत पूर्णिमाको अघिल्लो दिन वैशाख ५ गते बौद्धमा भव्य र सभ्य रुपमा मनाइने समितिले जनाएको छ। राष्ट्रिय पर्वका रुपमा मनाउन बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा विभिन्न संघसंस्था, गुठी, क्लब, र स्थानीय समाजसेवी बुद्धिजीवीको सहभागितामा ‘राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति’ गठन गरिएको छ।

यस जात्राको सांस्कृतिक गरिमालाई व्यापक रुपमा प्रचारप्रसार र संरक्षणमा सबै जुट्नुपर्ने समितिका प्रमुख कार्यकारी निर्देशक बसन्त लामाले बताए।

यो जात्रामा विशेषगरी तामाङ समुदायले दिवंगत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमिबत्ती बाल्दै लामा गुरुहरुद्वारा विशेष पूजापाठ (ङोवा/मोन्लम) गर्छन्। जात्रा सुरु हुँदाताक तेमाल क्षेत्रका तामाङ मात्र सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको भनाइ छ। अहिले यस जात्रामा सहभागी हुन काभ्रेको तेमाललगायत दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, सर्लाही काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायका मानिस आउँछन्।

सरकारले बौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ। जात्रामा निः शुल्क स्वास्थ्य शिविर, रक्तदानलगायत कार्यक्रम पनि गरिने छ। बत्ती बाल्न र पूजा गर्न लामको व्यवस्था गरिएको छ।

बौद्ध स्तूपले धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको छ। यसलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदासूचीमा सूचीकृत गरेको थियो।

बौद्ध किम्बदन्ती अनुसार सत्य युगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागार्जुन डाँडामा साधना गरेका थिए । उनैले ऋषि शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेका थिए। सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन छ। यसरी विपश्वी बुद्धले कमलको बिज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ।

१८९१ असोज २ मा तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको भनाइ पनि छ। अर्को भनाइअनुसार बौद्ध स्तूपको जीर्णोद्धारा सम्पन्न भएको खुसीमा तेमाल राजा बलले तेमाल जात्रा चलाएका हुन्। बौद्ध मार्गीले यस स्तुपलाई झ्यारुङ खस्योर छयोर्तेन भन्छन्। यस स्तूपको गर्भमा काश्यप बुद्धको अस्तुधातु राखिएको छ। अष्ट मण्डलकारको यो स्तूप नेपाली वास्तुकलाको अनुपम उदाहरण हो। यस स्तूपलाई चिन्तामणिका प्रतिक पनि मानिन्छ।

प्रकाशित: ३० चैत्र २०७५ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App