७ वैशाख २०८१ शुक्रबार
अर्थ

राष्ट्रिय गौरवका आयोजना : ६ महिनामा २५ प्रतिशतमात्र खर्च

काठमाडौं - देश विकासको मेरुदण्ड मानिएका राष्ट्रिय गौरवका आयोजनाको चालु आर्थिक वर्षको ६ महिनाको प्रगति सन्तोषजनक नरहेको पाइएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजना भनेर घोषणा गरेका २९ वटा आयोजनाको ६ महिनाको कुल खर्च २५ प्रतिशतमात्र देखिएको छ।   

मंगलबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार १९ वटा गौरवका आयोजनाको कुल खर्च २४.९४ प्रतिशतमात्र छ । केही आयोजनाले राम्रो खर्च गरे पनि अधिकांशको प्रगति सन्तोषजनक छैन । अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले केही आयोजनामा समस्या देखिएको बताए । सरकारले २२ वटा आयोजनालाई राष्ट्रिय गौरवका भनेर छुट्ट्याए पनि प्रतिवेदनमा १९ वटाको मात्र विवरण उल्लेख छ ।  

चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाका लागि ८८ अर्ब ५५ करोड ५७ लाख बजेट छुट्ट्याएको थियो । ती आयोजनाले ६ महिनाको अवधिमा २२ अर्ब आठ करोड ७१ लाख रुपैयाँ खर्च गरेका छन् । यो कुल बजेटको २४.९४ प्रतिशत हो । एक दर्जन परियोजनाले यस वर्षको कुल बजेटको २९ प्रतिशतभन्दा कम खर्च गरेका छन् । यसमध्ये पाँचवटा आयोजनाको खर्च १० प्रतिशतभन्दा कम छ ।

अत्यन्तै न्यून खर्च गर्ने आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले १.५ प्रतिशत मात्र खर्च गरेको छ । यस वर्ष उक्त विमानस्थल निर्माण कार्यको लागि ६ अर्ब ८० करोड बजेट विनियोजन भएकोमा ६ महिनाको अवधिमा १० करोड मात्र खर्च भएको छ । त्यस्तै, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले कुल विनियोजित बजेटको ४.४ प्रतिशतमात्र खर्च गरेको छ । चालु आवमा यसको लागि एक अर्ब ६९ करोड ९७ लाख बजेट छुट्ट्याइएकोमा यस अवधिमा सात करोड ४२ लाख खर्च भएको छ । मेलम्ची खानेपानी आयोजनाले ६.७ प्रतिशत खर्च गरेको छ । यस वर्षको लागि उक्त आयोजनालाई सात अर्ब ६ करोढ ५९ लाख बजेट विनियोजन गरिएकोमा उसले ४७ करोड ५७ लाख मात्र खर्च गरेको छ । 

कम खर्च गर्ने अन्य आयोजनामा रानीजमरा कुलरिया सिँचाइ आयोजना (९.७ प्रतिशत), काठमाडौं–तराई मधेस फास्ट ट्र्याक (१० प्रतिशत), रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना (१३.५ प्रतिशत) छन् । त्यसैगरी, बबई सिँचाइ आयोजनाले १९.९ प्रतिशत, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढले २१ प्रतिशत, बूढीगण्डकी जलविद्युत् आयोजनाले २२ प्रतिशत, पशुपति क्षेत्र विकास कोषले २५.७ प्रतिशत र सिक्टा सिँचाइ आयोजनाले २९ प्रतिशत बजेट खर्च गरेका छन् ।  

६ महिनाको अवधिमा आधा दर्जन आयोजनाले राम्रो प्रगति गरेका छन् । सबैभन्दा अगाडि देखिएको आयोजनामा पुष्पलाल लोकमार्ग छ । चालु आर्थिक वर्षका लागि पाँच अर्ब ५५ करोड दुई लाख बजेट पाएको यस आयोजनाले ६ महिनामा तीन अर्ब ९८ करोड खर्च गरेको छ । मध्यपहाडी लोकमार्गका रुपमा परिचित पाँचथरको चियाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको एक हजार आठ सय ७९ किलोमिटर लामो यस मार्गले २५ जिल्लालाई जोडेको छ । 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने दीर्घकालीन उद्देश्य लिएको लुम्बिनी क्षेत्र विकास कोषले ६५.९ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षमा ५७ करोड ७१ लाख बजेट पाएकोमा समीक्षा अवधिमा ३८ करोड दुई लाख खर्च गरेको छ । 

कालीगण्डकी करिडोरको रुपमा रहेको उत्तर–दक्षिण लोकमार्गले यस वर्षको कुल बजेटको ५३.७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षमा एक अर्ब ३३ करोड ६१ लाख बजेट विनियोजन भएकोमा ७६ करोड ४२ लाख खर्च भइसकेको छ । नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोरलासम्म कालीगण्डकी करिडोरको लम्बाइ चार सय ३५ किलोमिटर छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हेरिरहेको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाले यस वर्ष छुट्ट्याएको कुल बजेटमा झण्डै आधा ६ महिनाभित्रै खर्च गरेको छ । यसले पाएको ६ अर्ब ८३ करोड रुपैयाँमध्ये ४९.५ प्रतिशत (तीन अर्ब ३८ करोड रुपैयाँ) खर्च भएको छ । 

त्यस्तै, धेरै प्रगति गर्नेमा अर्को अयोजना हुलाकी राजमार्ग छ । चालु आवको पहिलो ६ महिनामा यस राजमार्गले ४७.८ प्रतिशत बजेट खर्च गरेको छ । यस वर्ष उक्त आयोजनालाई विनियोजन गरिएको पाँच अर्ब ५० करोड बजेटमध्ये दुई अर्ब ६२ करोड ७८ लाख रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । तराई क्षेत्रमा रहेको हुलाकीलाई पूर्व–पश्चिम जोड्ने वैकल्पिक राजमार्गको रुपमा हेरिएको छ । 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले यस वर्ष छुट्ट्याएको कुल बजेटको ३९.३ प्रतिशत खर्च गरेको छ । यस वर्षको लागि एक अर्ब पाँच करोड ७२ लाख विनियोजन गरिएकोमा ४१ करोड ५८ लाख खर्च गरेको छ । उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापार विविधीकरणलाई सहजीकरण गर्न यो मार्गले भूमिका खेल्ने विश्वास लिइएको छ । 

धेरै खर्च गर्ने आयोजनामा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पनि रहेको छ । यस आयोजनाको हालसम्म करिब ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसले चालु वर्षका लागि पाएको ५० करोड बजेटमध्ये ६ महिनामा १६ करोड ६७ लाख (३३ प्रतिशत) खर्च गरेको छ ।  

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App