१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुधार नभए कालिमाटी बजार नै हटाउने कृषिमन्त्रीको चेतावनी

काठमाडौं– कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन्। आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारे। 

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने, ‘भदौसम्म पनि कुनै सुधार भएन भने हामी आवश्यक परे कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं, सुधारको लागि हदैसम्मको समय दिइएको छ, त्यति गर्दापनि कुनै सुधार भएन भने बजार हटाइन्छ।’

उनले कालिमाटी फलफूल तथा तरकारी बजार स्थलमा रहेका स्टलहरु समितिले निर्धारण गरेको मुल्यभन्दा दशौं गुणा बढी लिइएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको सुनाए। ‘समितिसँग दश हजारमा स्टलहरु लिएर ती व्यक्तिहरुले उक्त स्टलहरु आफूले नचलाइकन दशौं गुणा बढी पैसा लिएर अरुलाई चलाउन दिइएको भेटियो, १० हजार पर्ने स्टल एक लाखसम्म लिएको भेटियो, यो हदैसम्मको लापरवाही हो, समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ, यसको लागि मैले कडाभन्दा कडा निर्देशन दिएको छु’, उनले भने। कतिपय स्टलहरुमा उपभोग नै गर्न नमिल्ने कुहिएका र सडेगलेका माछामासु लगायतका वस्तुहरु समेत राखिएको उनको गुनासो छ। 

मन्त्री खनालले किसानहरुले आफूले उत्पादन गरेका वस्तुहरु सिधै उपभोक्ताहरुसमक्ष पुर्याउने वातावरण बनाउने पनि विश्वास दिलाए। 
खनालले दुध र पानीमा कोलिफार्म र सोडा भेटिएको उल्लेख गर्दै भने, ‘काठमाडौंमा हामीले विभिन्न ४२ वटा दुधका नमूना संकलन गरेर परिक्षण गर्दा झण्डै ४० वटा नमूनामा कुनै न कुैन मात्रामा सोडा पाइएको छ, तर धेरैजस्तो दुधमा दुध नफाटोस भनेरमात्रै सोडा प्रयोग गरेको पाइयो, अब त्यसो पनि गर्नुभएन, उपभोक्ताले स्वच्छ दुध पिउन पाउनुपर्छ।’ त्यस्तै जार र मिनरल वाटर लगायतका पिउने पानीमा समेत कोलिफार्म भेटिएको र छानविन भइरहेको उनले जनाए।

उनले पानीमा देखिएको खराबीमा आफूहरुले दिएको निश्चित् समयसिमाभित्र पनि सुधार नगरे बाध्य भएर पानी उद्योगमा तालाबन्दी गर्ने पनि चेतावनी दिए। 

प्रकाशित: १९ असार २०७५ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App