१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुन्तला खेती प्रवर्द्धन गर्न किसानलाई बिरुवा वितरण

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण गरिएको छ। वडा कार्यालयले यहाँ सुन्तला खेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो। केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताए।  

कृषि पकेट कार्यक्रमअन्तर्गत वडाले रु दुई लाख विनियोजन गरेर किसानलाई बिरुवा वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिए। वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उनको भनाइ छ।  

‘किसानको आय वृद्धि र उत्पादन बढाउने उद्देश्यले व्यवस्थित योजनासहित अघि बढिरहेका छौं,’ वडाध्यक्ष राईले भने, ‘हामीले व्यावसायिक कृषिमा लाग्ने किसानलाई लक्षित गरेर कृषि पकेट क्षेत्र निर्धारण गरेका छौं। सोही आधारमा बर्सेनि कृषिमा लगानी गरिरहेका छौं।’  

वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारीमा बिरुवा खरिद गरिएको हो। मागको आधारमा पहिलो चरणमा यहाँका ३६ जना किसानलाई एक हजार छ सय वटा सुन्तलाको बिरुवा वितरण गरिएको छ। पकेट क्षेत्रका करिब डेढ सय किसान सुन्तला खेतीमा आबद्ध छन्। वडाले व्यावसायिक कृषि विस्तारका लागि विभिन्न उपाय अवलम्बन गर्दै आएको जनाएको छ।  

विगत दुई वर्षमा मझौले, चोलन्ती, खावा भञ्ज्याङ र रमिते क्षेत्रमा किबी खेती प्रवर्द्धन गर्न करिब दुई हजार किबीका बिरुवा वितरण भइसकेको छ। सुन्तला र किबी खेतीलाई निरन्तरता दिँदै वडाले रोग नियन्त्रण औजार, औषधि, तालिम, जडीबुटी (जस्तै चिराइतो, सुतवा) तथा बीउ वितरण कार्यक्रमलाई समेत अघि सारेको जनाएको छ। रासस

प्रकाशित: २३ असार २०८२ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App