भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०८२/८३ को लागि रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकमा नगरपालिकाकी उपप्रमुख रजनी जोशीले आइतबार उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।
नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरी विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ५२ करोड ५३ लाख ११ हजार रुपैया अर्थात् ६१.६७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख रुपैयाँ अर्थात् ३२.५४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख अर्थात् ५.७८ प्रतिशत विनियोजन गरेको छ ।
बजेट वक्तव्यमा नगरवासी जनताहरुको भावनाबमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि रु.५४ करोड ४ लाख ६३ हजार रुपैयाँ अर्थात कुल बजेटको २१.८५ प्रतिशत बजेट विनियोजन गरेको छ । यो कुल बजेटको सवैभन्दा वढी प्रतिशत हो । शिक्षापछि नगरपालिकाले स्वास्थ्यमा बढी बजेट विनियोजन गरेको छ । स्वस्थ्यतर्फ नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउन र अस्पतालको स्तरीकरण समेतका लागि रु.५ करोड बजेटको व्यवस्था गरेको छ ।
खँचापुखु स्वास्थ्य चौकी निर्माण कार्य आगामी आ.व.मा सम्पन्न गर्ने गरी रु.७५ लाख बजेट विनियोजन गरेको छ ।
स्वास्थ्य क्षेत्रका लागि भक्तपुर नपाले आगामी आ।व।मा रु.१० करोड ३७ लाख ५० हजार विनियोजन गरेको छ । भक्तपुरमा रहेको मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणलाई निरन्तरता दिंदै ऐतिहासिक र धार्मिक महत्व बोकेका विभिन्न स्थानका घाटहरु सुधारका लागि गुरुयोजना बनाई अगाडि बढाउन रु.३७ लाख ५० हजार विनियोजन गरेको छ भने थन्थु दरबार पुनःनिर्माणको लागि रु.३ करोड र लायकु पाहाँ छेँको लागि रु.८५ लाख र भनपा ४ स्थित इखालाछी मठ पुनःनिर्मँणलाई रु.१ करोड ६० लाख बजेट विनियोजन गरेको छ ।
साथै इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य आगामी आ.व. सम्ममा सम्पन्न गर्ने गरी रु.३० लाख बजेट विनियोजन गरेको छ । सिद्धपोखरी पेटी पुनःनिर्माणको लागि रु.१ करोड, दही विनायक द्योछेँ पुनःनिर्माणको लागि रु.५० लाख र इशानेश्वर मन्दिर निर्माणको लागि रु.३० लाख, रात्रीकालिन बत्ती व्यवस्थाको लागि रु.१ करोड बजेट विनियोजन गरेको छ । सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणमा आगामी आ.व.का लागि रु.१२ करोड ६८ लाख ५० हजार विनियोजन गरेको छ ।
कृषि क्षेत्रअन्तर्गत नगरको उपयुक्त स्थानमा आधुनिक पशु वधशाला निर्माणको लागि रु.२५ लाख, शीत भण्डार गृह निर्माण सञ्चालनको लागि रु.१ करोड र तरकारी बजार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन रु.३० लाख बजेट विनियोजन गरेको छ ।
नगरभरका नागरिकहरुलाई पानी घर घरमा पुर्याई खानेपानीको समस्या समाधान गर्न रु.५० लाख बजेट विनियोजन गरेको छ भने वातावरण तथा सरसफाइका लागि रु.२० करोड २२ लाख ९८ (१८ प्रतिशत), पर्यटन प्रवर्द्धनमा रु.४ करोड ९० लाख (१.९८ प्रतिशत) विनियोजन गरेको छ ।
अरनिको सभा भवन निर्माण निरन्तरताको लागि रु.१४ करोड ९० लाख, देको मिवा इतापाके जग्गा एकीकरणको लागि रु.४ करोड, भार्वाचोमा बहुउद्देशीय भवन निर्माणको लागि रु.१ करोड २५ लाख, पार्किङ स्थलको व्यवस्थातर्फ रु.६० लाख बजेट विनियोजन गरेको छ ।
खेलकुद अन्तर्गत खेलकुदको नियमित प्रशिक्षणको लागि रु.१ करोड, पौडी प्रशिक्षण केन्द्रको लागि रु.५० लाख, शहिद स्मृति खेलमैदान निर्माणको लागि रु.१ करोड, माहेश्वरी खेलमैदानलाई रु.२ करोड बजेट विनियोजन गरेको छ ।
सीपमूलक तालिमको लागि रु.२५ लाख बजेट विनियोजन गरेको छ भने क्यान्सर, मुटुरोग, मस्तिष्कघाट, स्पाइनल कर्ड इन्जुरी जस्ता दीर्घ रोग लागेका विरामीहरुलाई नगरपालिकाबाट दिंदै आएको रु.१५ हजार आर्थिक सहयोगलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरेको छ । विविध योजना तथा कार्यक्रमतर्फ ९ करोड १४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले 'भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८२', 'भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८२' सभासमक्ष प्रस्तुत गरेकी थिइन् । नगरसभाको अर्को बैठक असार १० गते दिनको १ बजे बस्ने गरी स्थगित भयो ।
प्रकाशित: ८ असार २०८२ १९:४८ आइतबार