२२ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

पर्वतमा पहिलो पटक जापानी कटुस खेती

जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती छोडेर वर्षौंदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित ‘मेकाडेमिया नट’ खेती विस्तार गरिएको छ। पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित पुवाडाँडामा रहेको १४० रोपनी क्षेत्रमा मेकाडेमिया नट खेती सुरु गरिएको हो।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, प्रादेशिक आयोजना कार्यान्वयन एकाइ पोखराको सहयोगमा पर्वतमा पहिलो पटक मेकाडेमिया नट खेती सुरु गरिएको छ। उन्नत कृषि कृषक समूहका अध्यक्ष टीकराम उपाध्यायका अनुसार समूहमा आबद्ध २५ भन्दा बढी सदस्यको बाँझो जग्गा उपयोग गरेर खेती विस्तार गरिएको छ। यो वर्ष मेकाडेमिया नटका एक हजार बिरुवा रोप्ने योजना छ।

आयोजनाको ५० प्रतिशत अनुदानसहित झण्डै रु ४६ लाख लगानी गरेर खेती विस्तार गरिएको हो। यसका लागि पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले रु २३ लाख सहयोग गर्नेछ। झाडी फडानी, सिँचाइ पोखरी निर्माण, मल तथा बिरुवा खरिद, बिरुवा रोपणलगायत कार्य गर्न उक्त रकम खर्च भएको छ।

यो वर्ष लगाइएको मेकाडेमिया नटले चार वर्षदेखि फल दिन सुरु गर्नेछ। दुई वर्षमै सामान्य रूपमा फल लाग्न सुरु हुने भए पनि चार वर्षदेखि पूर्ण मात्रामा आम्दानी लिन सकिने गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिए। उनका अनुसार थोरै ठाउँबाट बढी आम्दानी, रोग तथा जङ्गली जनावरबाट कम नोक्सानी हुने फलफूलको खोजीमा रहेका किसानका लागि मेकाडेमिया नट उपयोगी छ।

समुद्री सतहदेखि एक हजार ६०० मिटरसम्मको सुक्खा क्षेत्रमा यसको उत्पादन राम्रो हुने भएकाले ठुलीपोखरीमा विस्तार गरिएको खेतीबाट प्रशस्त फाइदा लिन सकिने सचिव रेग्मीले बताए। मेकाडेमिया नटलाई बदामजस्तै काँचै फुटाएर खान सकिन्छ र यसबाट खानेतेल, चकलेट, बिस्कुट, आइसक्रिमलगायतमा प्रयोग गर्न सकिन्छ। यसको बिरुवा जेठ र असारमा रोप्दा राम्रो हुने उनले बताए।

मेकाडेमिया नटको एउटा बोटमा प्रतिवर्ष ५० देखि ७० किलोसम्म फल लाग्छ। बाँदरले खान नसक्ने भएकाले बाँदर लाग्ने ठाउँमा यसको खेती गर्नुपर्ने उनको भनाइ छ। बढ्दो बाँदर आतङ्कले खेतबारी बाँझै रहने क्रम बढेका बेला फलफूल खेती विस्तार गरे किसानको आम्दानी बढाउन सकिने सचिव रेग्मीले बताए।

पर्वतमा पहिलो पटक विस्तार गरिएको मेकाडेमिया नट खेतीको गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले शनिबार वृक्षरोपण गरेर शुभारम्भ गरे। सो अवसरमा मन्त्री श्रेष्ठले बाँझो जमिन सदुपयोग गरेर प्रशस्त आम्दानी लिन सकिने भएकाले यसको खेती विस्तारका लागि आयोजना सञ्चालन गरिएको बताए। बढ्दो युवा पलायन, बाँदर आतङ्क, जनशक्तिको अभाव भएकाले एक पटक मेहनत र लगानी गरेर वर्षौंसम्म फाइदा हुने खेतीबाली लगाउन किसानलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेशसभा सदस्य भक्त कुँवरलगायतले जिल्लाका अन्य क्षेत्रमा पनि मेकाडेमिया नट खेतीसँगै भौगोलिक आधारमा उत्पादनको सम्भावना भएका फलफूल विस्तारमा जोड दिने बताए। यसअघि गत वर्षदेखि महाशिला गाउँपालिकाले पनि सात सय बिरुवा मेकाडेमिया नटका बिरुवा लगाएर व्यावसायिक रूपमा खेती सुरु गरेको थियो। रासस

प्रकाशित: ८ असार २०८२ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App