८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

यस्तो छ जुम्ला ‘बदल्ने’ शान्तिलालको ‘ब्लुप्रिन्ट’

जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार शान्तिलाल महतले आफ्नो उम्मेदवारीलाई पलायनविरुद्धको अभियानका रूपमा व्याख्या गरेका छन्।

बिहीबार सदरमुकाम खलङ्गामा पत्रकार सम्मेलन गर्दै महतले जुम्लाको मुहार फेर्ने योजनासहितको ‘बाचा पत्र’ सार्वजनिक गरेका हुन्।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सार्वजनिक गरिएको बाचा पत्रमा उनले सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिनुका साथै, ‘डिजिटल जुम्ला’ र ‘मेक इन जुम्ला’ जस्ता आधुनिक अवधारणाहरु समेत अघि सारेका छन्।

जुम्लेली जनताको मुख्य सास्तीका रूपमा रहेको सडक सञ्जाललाई महतले आफ्नो प्राथमिकताको शीर्ष स्थानमा राखेका छन्।

‘१२ महिना खुला सडक, १२ महिना विकास’ भन्ने नारा अघि सार्दै उनले कर्णाली राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए।

उनले जुम्लालाई उत्तरमा चीनसँग जोड्ने र पूर्वतर्फ जुम्ला-डोल्पा-मुस्ताङ हुँदै काठमाडौं जोड्ने पर्यटकीय मार्ग निर्माणलाई विकासको मेरुदण्ड मानेका छन्।

सडकलाई केवल यातायातको साधन मात्र नभई शिक्षा, स्वास्थ्य र बजारको आधारशीलाका रूपमा व्याख्या गर्दै उनले जुम्लालाई राष्ट्रिय सडक सञ्जालको केन्द्रमा राख्ने योजना प्रस्तुत गरे।

महतले बाचापत्रमा विद्यालय तहदेखि नै सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स शिक्षाको वकालत गरेका छन्।

डिजिटल जुम्ला, निःशुल्क इन्टरनेट र कर्णाली प्राविधिक शिक्षालयलाई कृषि तथा पर्वतीय विश्वविद्यालयमा रूपान्तरण गर्ने उनको योजनाले जुम्लालाई आधुनिक युगसँग जोड्ने लक्ष्य राखेको छ। उनले डिग्रीमुखी भन्दा पनि सीपमुखी शिक्षामा जोड दिएका छन्।

रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई सम्बोधन गर्न महतले ‘पलायन होइन, उत्पादन’ को नारा अघि सारेका छन्। स्थानीय जलस्रोत, जडीबुटी, स्याउ, ओखर र पर्यटनलाई जोडेर ‘मेक इन जुम्ला’ नीति लागू गर्ने उनको योजना छ।

एक गाउँपालिका-एक चिस्यान केन्द्र र जलविद्युत् आयोजनामा स्थानीयलाई सेयर दिलाउने प्रतिबद्धता समेत उनले एजेन्डा बनाएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई विस्तार गर्दै सिँजामा स्याटेलाइट अस्पताल र टेलिमेडिसिन सेवा पुर्याउने उनको योजना छ।

त्यस्तै, सिँजा सभ्यता, चन्दननाथ मन्दिर र रारा–फोक्सुण्डो मार्गलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

आफूलाई जुम्लाको ‘न्यायोचित विकासको पहरेदार’ बताउने महतले मातृभूमि र जनतालाई शिरमा राखेर राजनीति गर्ने कसम खाएका छन्।

प्रकाशित: २२ माघ २०८२ २०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App