२६ औँ संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जर्जियन क्लब भारतलाई हराउँदै आयोजक धरान फुटबल क्लब विजयी भएको छ । धरान वडा नं. १६ स्थित रंगशालामा बिहीबार भएको खेलमा ट्राइबेकरमा ४-२ गोल अन्तरले जर्जियन क्लब भारतलाई हराउँदै आयोजक क्लब विजयी भएर क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको छ ।
निर्धारित समयको खेलमा दुवै टीमले एक गोल गरि खेल बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा परिणत भएको हो । ट्राईबेकरमा आयोजक धरान फुटबल क्लबका बिबेक राई, राज लिम्बू, प्रज्वल थापा र नगेन राईले गोल गरे । जर्जियन क्लब भारतका तर्फबाट शरद मुण्डा र साइजाले प्रहार गरेको बल मात्र गोलमा परिणत हुन पुग्यो ।
निर्धारित समयको खेलमा जर्जियन क्लब भारतका हेमराज भुजेलले पहिलो हाफको आठ पहिलो गोल गरे । उनले गोल गरेको १० मिनेटपछि आयोजक धरानका तपन कार्कीले गोल गरि खेलमा बराबरीमा पुर्याए ।
खेलको म्यान अफ दि म्याच आयोजकका बिपुल मगर भए । उनले नगर १० हजार सहित प्रमाणपत्र प्राप्त गरे ।
ट्राइबेकरमा धरान फुटबल क्लबका खेलाडीहरूले उत्कृष्ट संयम र सटिक प्रहार गर्दै लगातार चार गोल गरे भने जर्जियन क्लब कुनै पनि गोल गर्न असफल रह्यो ।
घरेलु दर्शकको उत्साहपूर्ण समर्थन पाएको धरान फुटबल क्लबले खेलभरि आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि दबाब कायम राखेको थियो । गोलरक्षक र डिफेन्डरको मजबुत प्रदर्शनले पनि धरानको जित सुनिश्चित गर्न सफल भयो । जितसँगै आयोजक धरान फुटबल क्लब प्रतियोगिताको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ ।
शुक्रबारको खेल रोयल थिम्पु क्लब भुटान र प्लानिङ् ब्वाइज क्लब काठमाडौंबिच हुनेछ ।
प्रतियोगितामा साविक विजेता एनआरटि, उपविजेता चर्च ब्वाइजसहित सातदोबाटो युथग क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एशोसिएशन, झापा ११, प्लानिङ् ब्वाइज क्लब काठमाडौं, जर्जियन क्लब भारत, रोयल थिम्पु भुटान र आयोजक धरान फुटबल क्लब गरि १० वटा टिम सहभागी रहनेछ । प्रतियोगिताको विजेता टिमले उपाधि ट्रफीसहित नगद १० लाख र उपविजेताले पाँच लाख पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको उदघाटन धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले गरे । २६ वर्ष अघि २०५५ देखि सुरु भएको बुढासुब्बा गोल्ड कप फुटबल काठमाडौँ उपत्यका बाहिर पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता समेत हो ।
प्रकाशित: २२ माघ २०८२ २०:३५ बिहीबार





