पश्चिम तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा पुगेका छन्। कालानमक, जुही बासमती, जिडई फुल बिरन्ज गौरिया, आपसुक्ते, झिनुवा, रातोअनादी, थापाचिनी र स्यामजिरा लगायतका स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेका हुन्।
किसानहरूले बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेपछि रैथाने जातका धानहरू हराउँदै जान थालेका हुन्। रैथाने जातका धानको बजार भाउ अन्य धानको तुलनामा धेरै छ। तर उत्पादन कम हुने भएकाले कपिलवस्तु, बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका किसानले स्थानीय जातका धानको खेती गर्न छाडेका कृषकहरू बताउँछन्।
यिको साटो कृषकहरू बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेका छन्। मसिनो, बास्नादार र स्वादिलो भएका कारण झिनुवा, रातोअनदी, थापाचिनी, स्यामजिरा, कालानमक र मसिनो बासमती जस्ता स्थानीय जातको चामल उपभोक्ताबीच लोकप्रिय छ। कपिलवस्तुमा अझै पनि रैथाने जातका बासमती लगायतका धान र चामलको चर्चा चल्ने गर्छ। पछिल्लो समय नेपालको तराई भेगमा ७४, मध्य पहाडी क्षेत्रमा ३० र उच्च पहाडी क्षेत्रमा १० प्रतिशत उन्नत जातका धानको खेती हुँदै आएको छ।
बर्सेनि नयाँ र उन्नत जातका धानखेती गर्ने क्रम बढ्दै गएका कारण धानका रैथाने जातहरू संकटमा पर्ने खतरा बढेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले जनाएको छ। हाल जिन बैंकले ११ हजार बढी रैथाने बीउ बैंकमा राखेको छ। २० औं शताब्दी सम्ममा नेपालबाट आधाभन्दा बढी रैथाने बीउहरू लोप हुने अवस्थामा पुगेका छन्।
पछिल्ला दिनहरूमा किसानका खेतमा कालो रंगका स्यामजिरा, कालानमक र मसिनो बासमती धानका बालाहरू झुलेको देखिन छाडेका छन्। जनसंख्या वृद्धिलाई मुख्य समस्या बनाएर अहिले किसानले उन्नत र हाइब्रिड जातका धानखेती गर्दै आएको किसान बताउँछन्। ‘नयाँ पुस्ताले रैथाने बिउको प्रयोग गर्नै चाहँदैनन्,’ बिउ बिजन संघका जिल्ला अध्यक्ष रामचन्द्र मुराउले भने, ’रोग प्रतिरोधात्मक धानको बिउ अहिले लोप भयो, व्यापार व्यसायतर्फ नयाँ पीढी लाग्दा दोस्रो पुस्ताले हाम्रा बाउबाजेले यो धानखेती गर्थेर भनेर चकित पर्ने दिन आउन सक्छ।'
मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता धानका लागि अन्य जातका धानको भन्दा धेरै पानी चाहिन्छ। उत्पादन पनि उन्नत र हाइब्रिड जातका धानको तुलनामा कम हुन्छ। संघका अध्यक्ष मुराउले रैथाने जातको धानको बीउ प्रवर्द्धनका लागि स्थानीय पालिका र प्रदेश सरकारले समेत कुनै चासो नदिएको बताउँछन्।
पश्चिम तराईका अधिकांश जिल्लामा प्रयाप्त सिँचाइको सुविधा नभएका कारण किसानले पानी बढी चाहिने बासमती र स्यामजिरा जस्ता स्थानीय जातका धानहरू खेती गर्न छाडेर सुख्खा सहन सक्ने राधा ४, सावा, सुख्खा १ देखि सुख्खा ६ सम्मका उन्नत जातका विभिन्न हाइब्रिड धानखेती गर्न थालेका छन्। रैथाने जातका धानहरू प्रतिहेक्टर ३ मेट्रिक टनसम्म उत्पादन हुन्छ भने उन्नत र हाइब्रिड जातका धानहरू प्रतिहेक्टर ५ मेट्रिक टनसम्म उत्पादन हुन्छ।
नेपालका रैथाने जातका धानका गुण भएको, उत्पादन धेरै हुने, कम पानी लाग्ने र छिटो पाक्ने धानका नयाँ जात विकसित गर्नका लागि सरोकारवालासँग निरन्तर प्रयास गरिरहेको कृषि ज्ञान केन्दका कपिलवस्तु भास्कर पौडेलले बताए।
प्रकाशित: ७ असार २०८२ १८:३९ शनिबार





