मनसुन भित्रिएसँगै खेत जोत्ने कामबाट फुर्सद नपाउने बारबर्दियाका किसान रामबहादुर चौधरीको अनुहारमा खुसी छचल्किरहेको थियो। असारको चर्को घाममा खेत जोत्न भ्याईनभ्याई हुने बारबर्दियाका किसान प्राविधिक शिक्षालय परिसरमा उभिए पनि फुर्सदिला अनुहारमा छुट्टै किसिमको रौनक देखिरहेको थियो। किसान उभिएको छेउमा राखिएका कृषि यन्त्र (हाथे ट्याक्टर, पावर टिलर र मोटर) ले प्राविधिक शिक्षालय परिसर रङ्गीचङ्गी देखिएको थियो भने ५० प्रतिशत लगानीले ल्याउँदै गरेको खुसीलाई किसानले पर्खिरहेका थिए।
बारबर्दिया नगरपालिकाले उपलब्ध गराएको अनुदानको कृषि यन्त्रको सहयोगले बेलैमा खेत जोत्ने काम सकिनेमा विश्वास बढेको चौधरीले सुनाए। ‘थारु समुदायमा पहिला जस्तो संयुक्त परिवार हुँदैन, एकल रूपमा बस्न धेरै परिवारले रुचाउन थालेका छन्,’ उनले भने, ‘त्यसैले खेत जोताइको समयमा विभिन्न अड्चन र खर्च बढ्थ्यो, अब अनुदानमा पाएको ट्याक्टरले गाउँ र टोलमा खुसी भित्र्याउने छ।’
अनुदानमा किसानलाई दिएको ट्याक्टर आवश्यक परेमा नातागोतादेखि समाजमा समेत भरपुर प्रयोग गर्न सम्झौतामा उल्लेख गरिएकाले सिँचाइ र जोताइको समस्याको अन्त्य भएको उनको भनाइ छ। 'किसानसँग मेयर' कार्यक्रमबाट समयमै समस्याको समाधान देखेका उनी जस्तै किसानले हतारोको पर्वाह गरिरहेका थिएनन्।
यसै बिचमा मन्चमा उक्लेका नगर प्रमुख छबिलाल थारु, उपप्रमुख रत्नाकुमारी पान्डे, प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई र वडाका जनप्रतिनिधि तर्फ भने किसानको ध्यान सोझिरहेको थियो। मन्चबाट इन्डिकेटरमा पूरा गरेका किसान कृषि यन्त्र (हाथे ट्याक्टर, पावर टिलर र मोटर) वितरण गर्न राखिएको सुनेपछि दंग भए। केही समयको अन्तरालमा दुई सय किसानले कृषि यन्त्र लिएर घर फर्के।
वितरणमुखी बजेटको आलोचना भइरहेको बेला मेयरसँग किसान कार्यक्रमले लक्षित समूह लाभान्वित भइरहेका छन्। यस कार्यक्रमबाट बारबर्दियाका प्रत्यक्ष रूपमा चार सय किसान लाभान्वित भइसकेका छन्। कृषिलाई प्राथमिकतामा राखिएको बारबर्दियामा मेयरसँग किसान कार्यक्रम उदाहरणीय बन्न सफल भएको छ।
लोकप्रियताको लागि मात्र नभई नगदे बालीमा आश्रित किसानले प्रत्यक्ष रूपमा लाभान्वित गर्न मेयरसँग किसान कार्यक्रमलाई स्थानीय सरकारले अख्तियार गरेको नगर प्रमुख थारुले बताए। ‘किसान माथी दिर्घकालीन सोच बनाएर नगरपालिकाले लगानी गरेको छ,’ नगर प्रमुख थारुले भने, ‘किसान समृद्ध भएपछि छोरा वा छोरी शिक्षा र रोजगारीमा उन्मुख हुन्छन्।’
किसानसँग मेयर कार्यक्रमबाट उदाहरणीय नगर बन्न सफल हुनेमा जनप्रतिनिधि विश्वस्त रहेको उपप्रमुख पान्डेले बताइन्। उनका अनुसार यसअघि पनि पकेट क्षेत्रका किसानलाई स्थानीय सरकारले लाभान्वित गर्ने योजना अनुरुप अनुदानको कार्यक्रम अघि सारिसकेको छ। ईबिडिङ मार्फत बोलपत्र खोलेकाले सस्तो मूल्यमा राम्रो कृषि यन्त्र उपलब्ध भएको प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईले बताए।
‘बजारमा किनेको भन्दा केही प्रतिशत किसानले सस्तो पाएका छन्, पचास प्रतिशतले अनुदानले किसानको घाउँमा मल्हम लागेको छ,’ उनले भने, ‘जनप्रतिनिधिले अख्तियार गरेको नीतिलाई अख्तियार गर्न पाउँदा म पनि खुसी छु।’
प्रकाशित: ७ असार २०८२ १८:०८ शनिबार





