२० माघ २०८२ मंगलबार
image/svg+xml
अर्थ

बिक्रीका लागि तयार तीन लाख किम्बुका बेर्ना

व्यावसायिक किट विकास फर्मले तीन लाखभन्दा बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ। फर्मले १.५ हेक्टर क्षेत्रमा यी बेर्ना उत्पादन गरेको हो।

फर्मका प्रमुख सुरुची त्रिपाठीका अनुसार तीन लाखभन्दा बढी बेर्ना नर्सरीमा बिक्रीका लागि तयार छन्। यसमध्ये २० हजार बेर्नाका लागि किसानले आवेदन दिइसकेका छन्। गत वर्ष फर्मले तीन लाख ५० हजार बेर्ना उत्पादन गरी दुई लाख ५० हजार बिक्री गरेको थियो। किम्बुका बेर्ना सार्न उपयुक्त समय भएकाले किसानको माग बढ्दै गएको त्रिपाठीले बताए। फर्मले प्रतिबेर्ना ५ रुपैयाँमा बिक्री गर्दै आएको छ।

रेशमखेती गर्ने किसान विस्थापित भएपछि यहाँका बेर्ना डाले घाँसका रूपमा बिक्री भइरहेका छन्। त्रिपाठीले भने, ‘रेशमखेती गर्ने किसान विस्थापित भएपछि अहिले घाँसेबालीका रूपमा यसलाई बिक्री गरिरहेका छौँ।’ बेर्ना बिक्रीका लागि स्थानीय पालिकासँग समन्वय गरिएको उनले बताए।

पहिला मधेश प्रदेशका किसान बेर्ना लिन आउने गरे पनि अहिले उनीहरू आउन छाडेका छन्। त्यहाँ स्थानीय नर्सरीहरूले बेर्ना उत्पादन गर्न थालेको र किसानले आफैँ कलमीबाट बेर्ना तयार गर्न थालेका कारण माग घटेको त्रिपाठीले बताए। 

फर्ममा कान्भा दुई जातका किम्बुका बेर्ना बिक्रीका लागि तयार छन्। फर्मले नमूना बगैंचामा ३८ जातका किम्बुका बेर्ना संरक्षण गरिरहेको छ। मातृ संरक्षणअन्तर्गत विभिन्न जातका बेर्ना लगाएर संरक्षण भइरहेको छ।

यहाँ उत्पादित किम्बुका बेर्ना चितवन, मकवानपुर, सिन्धुली, गोरखा, काठमाडौँ, नवलपरासी, बागलुङ, तनहुँ, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा बिक्री हुने गरेको छ। हाल चितवनमा रेशमखेती गर्ने किसान छैनन्।

प्रकाशित: २६ जेष्ठ २०८२ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App