कृषि विकास कार्यालय जुम्लाले किसानलाई अनुदानमा जैविक मल बाड्न थालेको छ। लुकीछिपी हुने रासायनिक विषादी मलको प्रयोगलाई रोक्न तथा रैथाने उत्पादनलाई जोड दिन जैविक प्रांगारिक मल बाड्न थालेको कृषि कार्यालयले जनाएको छ ।
अर्गानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक मल वितरण गर्न थालिएको बताउँदै कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले अनुदानमा मल लिन प्रक्रियामा आउन सात दिने सूचना जारी गरिएको जानकारी दिए । निर्धारित समयभित्र दर्ता हुन आएका किसानलाई मल दिइने उनको भनाइ छ।
सबै कागजात पूरा गरी प्रक्रियामा आएका किसान, कृषि फर्म, कृर्षक समूह तथा कृषि सहकारीकालाई ५० प्रतिशत अनुदानमा जैविक मल वितरण गर्ने तयारी कृषि कार्यालयको छ । कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्ष २०८१-८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई जैविक प्राङ्गारीक मल वितरण गर्न थालिएको हो ।
वितरणका लागि जुम्लामा ३ सय ९६ बोरा जैविक मल आईपुगेको र प्रति किसानलाई ५० किलोदेखि ५ क्विन्टलसम्म मल दिने योजना रहेको प्रमुख अधिकारीले बताए । प्रतिबोरा २५ सय रुपैयाँ मूल्य परेपनि किसानले १ हजार २ सय ५० मै मल पाउने छन् । बाँकी ५० प्रतिशत रकम कार्यालयले व्यहोर्नेछ । जैविक मल वितरण कार्यक्रमका लागि चालु आवमा आर्थिक वर्षमा ६ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ ।
अनुदानमा पाएको सय किलो मल बुझेपछि खुशी हुँदै चन्दननाथ नगरपालिका (६ छिना गाउँका किसान गणेश रावलले मल तरकारी,धानलगायतमा प्रयोग गर्ने बताए । रावलसहित अहिलेसम्म ३५ जना बढीले अनुदानको मल लिइसकेको कार्यालयको भनाइ छ ।
जुम्लालाई २०६४ सालमा १४ औँ जिल्ला परिषद् बाट अर्गानिक जिल्ला घोषणा गरिएको छ ।
प्रकाशित: २० जेष्ठ २०८२ १८:१८ मंगलबार





