आर्थिक रूपमा विपन्न ताप्लेजुङको थुम्बेदिनका श्रीकृष्ण कार्कीले ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ) मार्फत प्राप्त ५० हजार घुम्ती कोषबाट १० लाख २५ हजार रुपैयाँ आम्दानी गरे। उनले यो रकम बाख्रापालन र तरकारी खेतीमा लगानी गरे। घुम्ती कोषको रकम फिर्ता गर्न लामो समय कुर्नुपरेन। चार वर्षमा फिर्ता गर्नुपर्ने रकम उनले समयअघि नै फिर्ता गरे। बाख्राको मल तरकारी खेतीमा प्रयोग गरे। अर्गानिक तरकारीमा जोड दिएका उनको उत्पादनले स्थानीय बजारमा राम्रो मूल्य पायो।
फुङलिङ बाँझोगराका हस्तबहादुर तामाङ घुम्ती कोषबाट राम्रो आम्दानी गरी छोराछोरीको पढाइ सहज बनाउने अर्का व्यक्ति हुन्। ५० हजार रकमबाट गाई र बाख्रा किनेपछि उनले राम्रो आम्दानी गरे। सुरुमा कोठा भाडामा बसेर छोराछोरी पढाउने उनी अब थपथाप गरी आफ्नै घर बनाउने योजनामा छन्।
पढ्दै–कमाउँदै स्वरूपको एचपिएफको लघु उद्यमशीलता कार्यक्रमले विपन्न विद्यार्थीका अभिभावकलाई आर्थिक आयआर्जनमा बलियो सहयोग पुर्याएको छ। कार्यक्रम संयोजक नरेन्द्रप्रसाद कटुवाल सानो देखिने घुम्ती कोषको सही उपयोगले विपन्न परिवारको आम्दानीले आश्चर्यजनक नतिजा दिएको बताउँछन्। उनका अनुसार, घुम्ती कोष लिएर उद्यमशीलता कार्यक्रममा लगानी गर्ने अभिभावकले अधिकतम १८ सय प्रतिशतसम्म आम्दानी गरेका छन्। थुम्बेदिनका कार्की त्यसका एक उदाहरण हुन्। उनकी छोरी देविका सारदा मावि थुम्बेदिनकी छात्रा हुन्।
विपन्नताका कारण पढाइमा पहुँच नभएका वा पढाइलाई निरन्तरता दिन नसकेका बालबालिकाको समस्या समाधान गर्न एचपिएफले विद्यार्थीका अभिभावकलाई घुम्ती कोषमार्फत उद्यमी बनाउने प्रयास गरेको छ। जिल्ला कार्यक्रम निर्देशक अमित श्रेष्ठ घुम्ती कोषको सही उपयोग भएमा सानो रकमबाट पनि अभिभावकले ठूलो आर्थिक आयआर्जन गरी सन्तानको पढाइ सहज बनाउन सक्ने बताउँछन्। ‘यो कार्यक्रम विद्यालयको आर्थिक अभावले पहुँचमा नपुगेका र पढाइलाई निरन्तरता दिन नसकेकाहरूका लागि वरदान सावित हुँदै गएको छ,’ उनले भने।
एचपिएफले आफ्नो कार्यक्रम क्षेत्रका विद्यालयले छनोट गरेका विद्यार्थीका अभिभावकलाई घुम्ती कोष वितरण गर्छ। सुरुमा चार वर्षमा फिर्ता गर्नुपर्ने कोष अहिले तीन वर्षमा फिर्ता गर्नुपर्ने नियम छ। विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई आयआर्जन र स्थानीय रोजगारी सिर्जनाका लागि एचपिएफले प्रति अभिभावक ५० हजार रुपैयाँसम्म बिनाब्याज लगानी गर्छ। घुम्ती कोष मास्न पाइँदैन, तर बिनाब्याज चलाएर सम्बन्धित विद्यालयको कोषमा जम्मा गर्नुपर्छ। विद्यालयले कोषमा रकम आएपछि विपन्नताको स्तर निर्धारण गरी घुम्ती कोष परिचालनको निर्णय गर्छ। लगानीको उपयोगिताबारे एचपिएफले नियमित अनुगमन गर्छ।
श्रेष्ठका अनुसार, ताप्लेजुङमा हालसम्म २३१ विद्यार्थीका अभिभावक घुम्ती कोष कार्यक्रममा सहभागी भएका छन्। तीमध्ये २९ जनाले कोषको रकम फिर्ता गरिसकेका छन्। कार्यक्रमको प्रभावकारिता देखेपछि पूर्वाधारलगायत अन्य कार्यक्रममा ताप्लेजुङबाट हात झिकी पाँचथर, तेह्रथुम र धनकुटा केन्द्रित हुने भए पनि ताप्लेजुङमा घुम्ती कोषमार्फत उद्यमशीलता कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
कार्यक्रम संयोजक कटुवालका अनुसार, ताप्लेजुङमा थप १३६ अभिभावकलाई उद्यमशीलता कार्यक्रममार्फत घुम्ती कोष सहयोग गरिनेछ। धनकुटामा १०००, पाँचथरमा १३७ र तेह्रथुममा ६० अभिभावकलाई घुम्ती कोषमार्फत सहयोग गर्ने तयारी छ। ताप्लेजुङमा २३१ जनालाई १ करोड १५ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ। घुम्ती कोष लिने अभिभावकले ६२ लाख ८६ हजार ३२६ रुपैयाँ स्वलगानी गरेका छन्। कुल लगानीका आधारमा उनीहरूले ३ करोड ५६ लाख २६ हजार ७७२ रुपैयाँ आम्दानी गरेको एचपिएफको तथ्यांक छ।
प्रकाशित: १४ जेष्ठ २०८२ १३:५० बुधबार





