काठमाडौंको पश्चिमी भागमा अवस्थित शान्त र आध्यात्मिक स्थल ‘ह्वाइट गुम्बा’ (ड्रुक अमिताभ पर्वत) अस्थायी रूपमा बन्द हुने घोषणा गरेको छ। भीड नियन्त्रण गर्न नसकिएको र गलत सूचना फैलिएको कारण अस्थायी रूपमा बन्द हुने घोषणा गरिएको हो।
'शनिबारको दिन बिदाको कारण गुम्बामा अत्यधिक संख्यामा मानिसहरूको भीड लागेको थियो। चर्को गर्मीका बीच धेरै मानिसहरू बिरामी परे, कोही बेहोस भए र भगदौड हुने अवस्था समेत देखिएको थियो। बालबालिका हराउनुका साथै व्यवस्थापन पक्ष पनि पूर्ण रूपमा असहज बनेको थियो,' गुम्बाद्वारा जारी सार्वजनिक सूचनाीमा भनिएको छ।
यस्तो निर्णय गर्नुपरेकोमा गुम्बाले दुःख व्यक्त गरेको छ। 'यो निर्णय सजिलो थिएन,' सूचनामा भनिएको छ, 'तर तपाईंहरूको सुरक्षा र स्वास्थ्य हाम्रो प्राथमिकता हो।'
गुम्बाले स्पष्ट रूपमा जानकारी दिएको छ कि हाल सार्वजनिकका लागि खुला छैन। अहिले विशेष ध्यान साधना कार्यक्रम सञ्चालन भइरहेको छ, जसमा पहिचानपत्र भएका साधकहरू मात्र प्रवेश गर्न पाउँछन्।
साथै, गुम्बा प्रशासनले 'टिकटक' लगायत सामाजिक सञ्जालमा गलत सूचना फैलाउने व्यक्तिहरूप्रति चिन्ता व्यक्त गर्दै आम जनतालाई केवल आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेको छ। 'धेरैले आफ्ना पोस्ट भाइरल बनाउन या ध्यान खिच्न यस्ता सूचना हाल्छन्, तर त्यसको गम्भीर परिणामबारे बुझ्ने चेतना हुँदैन,' गुम्बा प्रशासनले खेद जनाएको छ।
गुम्बाले अहिलेसम्म साथ र समझदारीको लागि जनसमुदायलाई धन्यवाद दिएको छ र अवस्था सामान्य भएपछि चाँडै फेरि स्वागत गर्न सकिने आशा व्यक्त गरेको छ।
प्रकाशित: ११ जेष्ठ २०८२ ०७:०७ आइतबार





