२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

निजी क्षेत्रको मनोबल बढाउन गर्भनरलाई महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल बढाउन नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा।विश्वनाथ पौडेललाई आग्रह गरेको छ। निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था महासंघको प्रतिनिधिमण्डलले बुधबार गर्भनर पौडेललाई भेटेर यस्तो आग्रह गरेको हो ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए। उनले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नु पर्ने बताए । चालु आवमा कर्जाको ब्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैर मौद्रिक उपाय अवलम्बन गर्नुपर्ने सुझाव दिए । नीतिगत अस्थिरता लगानीको मुख्य बाधक रहेको स्मरण गराउँदै लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थिर नीतिको माग गरेको ढकालले बताए ।

राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानुमानयोग्य हुने बताउँदै निजी क्षेत्र अर्थतन्त्रको संवाहक भएको बताए । ‘अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ,’ ढकालले भने, ‘ निर्णयहरु पूर्वानुमानयोग्य हुनु पर्दछ ।’ बैकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरुसंग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिने उनले बताए । ढकालले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनु पर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनु पर्ने सुझाव दिए । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पुजी कर्जा सम्बन्धी मार्ग दर्शन रहेको हुँदा यसलाई क्षेत्र हेरि सहज बनाउनु पर्ने बताए ।

महासंघले विगत वर्षहरूमा उच्च ब्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आ.व.मा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गर्भनरलाई दिएको छ ।

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदा पनि देशको समग्र अथतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरि केन्द्रीय बैंकले भूमिका खेल्नुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नु पर्ने सुझाव दिए ।

सो अवसरमा महासंघका उपाध्यक्षहरू हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यष भरतराज आचार्यले केन्द्रीय बैंकले अवलम्बन गर्ने मौद्रिक उपकरणहरु बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाव दिएका थिए । महासंघको प्रतिनिधीमण्डलले गभर्नर पौडेललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुर्नकर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।

प्रकाशित: ७ जेष्ठ २०८२ १९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App